साहित्यले राजनीतिलाई तिखार्छ–सांसद बराल

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
hemja sathya progrem photo (1)

हेमजा, ८ साउन। गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बरालले साहित्यले राजनीतिलाई तिखार्ने बताएका छन् ।

पोखरा–२५, हेमजा स्थित हेमजा साहित्य प्रतिष्ठानको बुधवार सम्पन्न २१ औं स्थापना दिवस, २० औं साधारणसभा सम्मान तथा एक सय ९५ औं शुभप्रभात काव्यमालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद बरालले सो कुरामा जोड दिएका हुन्।

उनले साहित्य बहुआयमिक क्षेत्र भएको चर्चा गर्दै राजनीतिलाई मुल धारमा हिडाउने काममा साहित्यको योगदान महत्वपूर्ण रहेको औँल्याए ।सांसद बरालले प्रगतिशील साहित्यमा जोड पनि दिए ।उनले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक निष्कर्षमा पु¥याउन सबै नेपाली चनाखो बन्न सुझाव पनि दिए ।सांसद बरालले साहित्य अझै व्यवस्थित र सिर्जनशील बन्न सकोस् भन्ने सुवेच्छा पनि प्रकट गरेका थिए ।

प्राज्ञ सूर्य खड्का बिखर्चीले पढेर मात्रै कवि नबनिने दावी गर्दै कवि बन्न गहिरो साधना चाहिने उल्लेख गरे।साहित्यको विकास नभई देशको विकास नहुने उनको ठोकुवा थियो ।हेमजा साहित्य प्रतिष्ठानलाई आफूले सधै माया मान्ने उनले धारणा राखेका थिए ।

कार्यक्रमका बीच समाजसेवी सम्मानबाट दानबहादुर थापा, पूर्णलाल भण्डारी, कुलचन्द्र बास्तोला, विष्णुकुमारी अधिकारी पौडेल र पद्मलाल अधिकारी साथै शुभप्रभात काव्यमाला सम्मानबाट ढुण्डीराज ज्ञवाली, भगवती पौडेल र जगन्नाथ बास्तोलालाई सम्मान गरिएको थियो ।सम्मानितको तर्पmबाट दानबहादुर थापाले भनाई राख्दै सम्मानले आफुहरुलाई थप हौसला थपेको जनाएका थिए ।

त्यस अवसरमा भरतचन्द्र गौतम, ढुण्डीराज ज्ञवाली, सूर्य गिरीले रचना वाचन गरेका थिए भने पोषराज पौडेलले नृत्य प्रस्तुत गरेका थिए ।प्रतिष्ठानका आजीवन सदस्य ईश्वरीप्रसाद बास्तोलाले सम्मानित विष्णुकुमारी अधिकारी पौडेल र कुलचन्द्र बास्तोला तथा प्रतिष्ठानका सदस्य परशुराम अधिकारीले सम्मानित दानबहादुर थापा, पद्मलाल अधिकारी र पूर्णलाल भण्डारीको व्यक्तित्व माथि प्रकाश पारेको उक्त कार्यक्रममा प्रतिष्ठानका सहसचिव बलराम पौडेलले मूल्याङकनका आधारहरु पेश गरेका थिए ।

उक्त अवसरमा सचिव बसन्त बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुनिल गायकद्वारा प्रस्तुत वार्षिक आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा संचालन सचिव बसन्त बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width