गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
pancharam

फाइल तस्बिर

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने संकेत गरेको छ । अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चले सोमबार खारेज गरिदिएसँगै गण्डकीमा राप्रपा अधिकारी सरकारको समर्थनमा लचक देखिएको हो ।

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले अधिकारी सरकारलाई समर्थन दिनका लागि अब कुनै समस्या नरहेको बताएका छन् । केन्द्रको सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टीको निर्णय कायमै रहे पनि प्रदेशका हकमा भने उक्त निर्णय लागु नहुने उनको जिकीर थियो ।

सर्वोच्च अदालतले नै अधिकारी सरकारलाई वैधता दिएर विश्वासको मतका लागि मार्गप्रसस्त गरिदिएपछि समर्थनका लागि राप्रपालाई बाटो खुलेको गुरुङको भनाइ छ । सरकारमा सामेल हुने बारे भने टुंगो नलागेको उनले बताए । यसका लागि केन्द्रसँग छलफल गरेर निधोमा पुगिने नेता गुरुङले उल्लेख गरे । उनी यसअघि पनि अधिकारी सरकारमा सामाजिक विकास मन्त्री भएका थिए ।

अधिकारी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले २७ गते सर्वोच्चमा रिट हालेका थिए । सभामुखलाई समेत गनेर बहुमत संख्या ३१ देखाउनु नै असंवैधानिक रहेको दाबी कांग्रेसको थियो । तर संसदबाट बहुमत सिद्ध गर्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै अदालतबाट विवाद निरुपण हुन नसक्ने भन्दै सर्वोच्चले रिट खारेज थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width