पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
prime-sahakari-pokhara

पोखरा । सूर्यदर्शन, इमेज, शिव शिखर, मित्रमिलन लगायत सहकारी समस्याग्रस्त छन् । छानबिन र अनुसन्धान समेत सकिएर ती सहकारीका पदाधिकारी र आरोपितहरु कारबाही प्रक्रियामा छन् । तर अधिकांश प्रतिवादी फरार छन् । अर्बौं रकम हिनामिना भएको अनुसन्धानले देखाएको छ । अहिले अर्को सहकारी पनि थपिएको छ । प्राइम सहकारी क्रोनिक भएको रिपोर्ट निकालिएको हो । प्राइम सहकारीमा पनि ठूलो रकम हिनामिना भएको भेटिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको प्रारम्भिक छानबिन सकेर रिपोर्ट प्रहरीमा पठाइएको छ । १ अर्ब ५७ करोडभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अध्यक्ष र कार्यकारी प्रमुखसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ

सहकारीका २ हजार ३ सय बचतकर्ताको रकम हिनामिना भएको हो । छानविनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् । तीमध्ये ८ जना पक्राउ परिसकेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘विशेष सूचनाका आधारमा पक्राउ गरेको छ । विशेष सुराकी मार्फत हिनामिनाको थाहा पाएपछि पक्राउ परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘अरु पनि निगरानीमा छन् ।’ स्रोतका अनुसार यो सहकारीको रकम अपचलनमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकी र सहकारी विभागका पूर्व कर्मचारीहरु पनि मुछिएका छन् । सहकारीमा समस्या देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले निक्षेपकर्तालाई उजुरी दिन सूचना जारी गरेको छ ।

‘बचत फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएकोले अनुसन्धानका लागि सहकारी रजिष्ट्रारको कार्यालयबाट पत्रसाथ कागजातहरु प्राप्त भको छ,’ प्रहरीले भनेको छ, ‘उक्त पत्र दर्ता भई अनुसन्धानका क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही बचत तथा सेयर रकम फिर्ता नपाउनुभएका पीडित व्यक्तिहरुले प्रमाणसहित सम्पर्क राख्नुहुन अनुरोध छ ।’

प्रमाण खुल्ने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायत प्रमाण पेस गर्न प्रहरीले आग्रह गरेको छ । जेठ २० दिनभित्र उजुरी दिन आग्रह गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिए । ‘उजुरी निवेदन मागेका छौं । समयभित्र कति जनाले उजुरी दिन्छन्, त्यसकै आधारमा थप अनुसन्धान हुन्छ,’ उनले भने । रकम हिनामिना आरोपमा सहकारी अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्व अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, व्यवस्थापक नीरु थापा, कर्जा विभाग प्रमुख सुनिल थापा, मनबहादुर गुरुङ र कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराल पक्राउ परेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width