मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
Pokhara mugling road

बन्दीपुर गाउँपालिका–१ नालामा सडक कालोपत्रको तयारी गरिँदै । तस्बिर : कृष्ण न्यौपाने/रासस

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा १ सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उनले बताए । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

सडक आयोजनाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखी पठाएको थियो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

इन्जिनियर पाण्डेका अनुसार यो खण्डमा हालसम्मको प्रगति ६० प्रतिशत छ । आँबुखैरेनीबाट जामुनेसम्म २२ दशमलव ५ किलोमिटर ४ लेन र ७ दशमलव ५ किलोमिटर २ लेनमा कालोपत्र सकिएको छ ।

पश्चिम खण्डको म्याद भने विसं २०८१ भदौ १२ गतेसम्म छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

हालसम्म पश्चिम खण्डमा २३ प्रतिशत प्रगति हासिल भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी र पोखराका केही भागमा एकतर्फी कालोपत्रको काम भइरहेको छ । पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकास्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ । ४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

Related News

सम्बन्धित समाचार

  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…
  • डा. एलियामालाई गण्डकी नारी सम्मान

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी शिक्षाविद् डा.एलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’…
  • पोखरा १२ का बासिन्दालाई मणिपाल हस्पिटलमा छुट

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र…
  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…

hero news full width