जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
rupa lake file photo

फाइल तस्बिर

पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् । स्थानीयको जग्गा रोक्का राखेर पीडित बनाइएको उनीहरुको गुनासो छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालय र परियोजनामा पीडितहरुले जानकारी गराएका थिए । तर सुनुवाई नभएपछि काम नै रोकिएको संघर्ष समिति संयोजक हरि अधिकारीले बताए । ‘हामी घरबासै उठ्ने अवस्थामा पुगेका छौं । जनताहरु आक्रोशित छन् । छलफल गर्न आउनुस् भनेर पनि बोलायौं,’ उनले भने, ‘परियोजनाका मान्छे आउँदै आएनन् । कुनै उपाय नभएपछि काम रोक्न बाध्य भएका हौं ।’ उनीहरुले शनिबार पनि बैठक डाकेका थिए । परियोजनाका कर्मचारीहरु आउन नमानेपछि आइतबारदेखि निर्माणको काम रोकिएको अधिकारीले सुनाए ।

‘न बैंकमा धितो राख्न पाइयो । न बिरामी हुँदा उपचार गर्न पैसा छ । अब चुप लाग्न हुँदैन भनेर आन्दोलन थालेका हौं,’ अधिकारी भन्छन्, ‘हाम्रो समस्या सम्बोधन नभएसम्म अब काम अघि बढ्दैन ।’ उनीहरुले सोमबार पुनः बैठक बोलाएका छन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले योजनाको विषयमा गुनासो आएको बताए । उनले समाधानका लागि प्रशासन गम्भिर रहेको बताएका छन् । यसअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र सहित प्रदर्शन गरेका थिए । तर त्यसको सुनुवाई अहिलेसम्म भएको छैन । परियोजनाले अनावश्यक नभन्दासम्म जग्गा फुकुवा गर्न नमिल्ने उनको भनाइ छ ।

त्यसमध्ये ९ सय ९५ रोपनीको मुआब्जा दिनुपर्ने र अरु सरकारी तथा सार्वजनिक जग्गा रहेको परियोजनाले जनाएको छ । परियोजना प्रमुख कालिबहादुर शाही फुकुवाको प्रक्रियामा रहेको बताउँछन् । ‘प्रक्रियामा छ । फाइल प्रमुख जिल्ला अधिकारीको टेबुलमा छ । उहाँले निर्णय गर्ने हो । नापी गरेर विवरण दिइसकेका छौं,’ उनले भने, ‘केही दिन पर्खनु भन्दा पनि उहाँहरु मान्नुभएन । मुआब्जा पाउनुपर्ने र नचाहिने जग्गा फुकुवा हुने माग ठीक हो । तर बन्द गरेर त समस्या समाधान हुँदैन नि ।’ तत्कालका लागि ९ सय ९५ रोपनी जग्गा अधिग्रहण गरिनेछ । ८ सय रोपनीको मुआब्जा वितरण भैसकेको परियोजनाले जनाएको छ । ‘९० करोड गइसकेको छ । अब ३० करोड बाँकी छ । बाँकी भएको मुआब्जाका लागि केन्द्रमा पत्राचार भैसकेको छ,’ उनले थपे ‘तत्काल आयोजनालाई आवश्यक नपर्ने जग्गा फुकुवा गर्ने भनेर नापीले तयार गरेको छ । केही जग्गा हाम्रो आयोजनाभन्दा पहिले पनि रोक्का भएको रहेछ । अहिले सबै फुकुवा हुन्छ । २ हप्तासम्म समस्या समाधान हुन्छ ।’ अहिले काम गर्ने समय भएकोले नरोकिदिन उनले जग्गाधनीहरुलाई आग्रह गरेका छन् ।

समस्या सम्बोधन नभएसम्म काम अघि बढ्न नदिने स्थानीयको चेतावनी

सरकारले रुपाताल संरक्षणका लागि ठूलो परियोजना सञ्चालन गरिरहेको छ । यसैका लागि ५ सय ७२ मिटर लामो बाँध बनाउन थालिएको छ । सिस्टेनीघाट देखि सुवेदीटुँडासम्म बाँध निर्माण हुने परियोजनाले जनाएको छ । परियोजना पूरा गर्न ४ अर्ब ५२ करोड लाग्नेछ । संरक्षणको काम पूरा भएपछि हाल १ सय ७ हेक्टरमा रहेको रुपाताल १ सय ८३ हेक्टर क्षेत्रफलमा विस्तार हुनेछ । २०६४ सालमा केन्द्रीय नापी टोलीले अध्ययन गर्दा रुपातालको ८ सय रोपनी जमिन अतिक्रमणमा परेको छ ।
२०७४ सालमा रोक्का भई अधिग्रहण परे बाहेकको जग्गा हालसम्म पनि फुकुवा भएको छैन । जिल्ला प्रशासन कार्यालय कास्कीले साविकको रुपाकोट ५ र ९, भिरचोक ४, ७ र ९, बेगनास १, २ र ४, सिसुवा ६ र ७ स्याक्लुङ–४ हाल रुपा गाउँपालिका ६ र पोखरा महानगरपालिका ३१ आसपासका जग्गा बाँधको लागि अधिग्रहण गरेको छ । डुबान क्षेत्र अन्तर्गत पर्ने १ हजार ४ सय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने विवरण छ ।

परियोजनाको पेरिफेरिमा ८ किलोमिटर लामो पक्की सडक निर्माण हुनेछ । २ साताभित्रै सडक पीच हुने शाहीले जानकारी दिए । यसबाहेक ड्याम निर्माणको काम पनि चलिरहेको छ । ताल विस्तारको लागि माटो निकाल्न थालिएको छ । ‘आइल्यान्ड बनाएर मन्दिर बनाउने योजना छ । ड्याम बनेपछि ४ मिटर पानीको लेभल उठ्छ । मन्दिरसम्म जान शिशाको पुल बनाउने भनेका छौं,’ अघि भने, ‘फरक किसिमको पर्यटकीय गन्तब्य बनाउन लागेका छौं । तर अवरोधहरु छिचोल्न समस्या भयो ।’ हालसम्म मुआब्जा र अन्य निर्माणको काममा सवा अर्ब खर्च भइसकेको शाहीले बताए । तालको आकार बढाउन ९ लाख घनमिटर माटो निकाल्ने योजना छ । माटो निकाल्नका लागि ३ वर्षको ठेक्का सम्झौता भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width