ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sapath

पाेखरा । मुख्यमन्त्री खगराज अधिकारीले २ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएलगत्तै शपथ कार्यक्रमका लागि सूचना जारी भयो । मन्त्री, सांसदसहित सरकारी अधिकारीहरुलाई प्रदेश प्रमुखको कार्यालयले एसएमएसबाट सूचना पठयो । जसमा प्रदेश प्रमुखको निवासमा कार्यक्रम हुने बताइएको थियो । मौसममा खराबी आएपछि पोखरा सभागृहमा शपथको कार्यक्रम सारिएको सूचना प्रवाह भयो । निम्तालुहरु त्यसै अनुसार पुगे । पुग्दा सबैलाई अलमल भयो, किनभने सभागृहको मञ्चमा ट्राफिक सप्ताहको ठूलो ब्यानर टाँगिएको थियो । जसमा लेखिएको थियो, ‘नशा सेवन गरी सवारी नचलाऔं, दुर्घटनाबाट बचौं र बचाऔं ।’ अर्कोतिर थियो, ‘फलो ट्राफिक रुल, सेभ लाइफ’ । त्यहि ब्यानरको बीचमा शपथको सानो ब्यानर टाँगिएको थियो । त्यसैले कार्यक्रमस्थल भद्दा देखिएको थियो ।

यसबारेमा प्रदेशमा पूर्व अर्थमन्त्री एवं एमाले नेता किरण गुरुङले फेसबुकबाट प्रतिक्रिया नै दिएका छन् । उनले भनेका छन्, ‘प्रदेशको नवनियुक्त मन्त्रीहरूको सपथग्रहण कार्यक्रम ट्राफिक सप्ताह कार्यक्रमको बोर्ड सामुन्ने किन गरिएको हो ? के त्यो बोर्ड हटाउन नसकिने र नमिल्ने थियो ? सरकारी परम्परा, मूल्य, मान्यता र विधि÷विधानको ख्याल राख्नु पर्दैन ? यसरी प्रदेशका मन्त्रीहरूलाई जहाँ पायो त्यहीँ जुनसुकै ब्यानरको अगाडि सपथ खुवाउन मिल्छ ? के यो अशोभनीय व्यवहार मात्र हो ? के यो गल्ती होइन ? के यस्तो गल्ती क्षम्य हुन्छ ? गण्डकी प्रदेश प्रमुख र प्रदेश प्रमुखको कार्यालय लगायत सम्बन्धित सबैलाई सोध्न चाहन्छु ।’

रिडिङ पेपर फरक पर्दा प्रदेश प्रमुख अलमलिए

शपथका क्रममा देखिएको अर्को रमाइलो पक्ष थियो, प्रदेश प्रमुखले पढेको शपथ पत्र । प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथको पत्र पढ्न सुरु गरे जसमा लेखिएको थियो – म …… मुख्यमन्त्री …… । प्रदेश प्रमुखले त्यसै अनुसार पढेकाले मन्त्रीद्वय अलमलमा परे । त्यसपछि प्रदेश प्रमुखलाई गल्तीको अनुभूति भयो, सभामुखसँग कलम मागेर ‘मुख्य’ भन्ने शब्द काटेर फेरि पढ्न सुरु गरे । अनि मन्त्रीद्वयले शपथ लिए । प्रदेश प्रमुखको कार्यालयका सचिव मातृशोकमा रहेकाले कार्यक्रम सञ्चालन प्रवक्ता चण्डीराज अर्यालले गरेका थिए ।

सचिवहरु बेखबर
मुख्यमन्त्री अधिकारीले २ मन्त्री त नियुक्त गरे तर सामाजिक विकास, कृषि र ऊर्जा मन्त्रालयका सचिवहरु अलमलमा थिए, मन्त्रीहरुले कुन मन्त्रालयको जिम्मा पाउने हुन् भनेर । ऊर्जा सचिवले केही संकेत पाएर फूलमाला सहित गाडी लिएर सभागृह पुगेका थिए । कृषि सचिवले आफ्नो मन्त्रालयले मन्त्री पाउने आशामा गाडी तैनाथ गरेका थिए । जसमा खाला र फूलमाला पनि तयारी थियो । तर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले केही तयारी नै गरेको थिएन । कार्यक्रमस्थलमा यी ३ वटा मन्त्रालयका सचिवबीच खासखुस चल्यो । त्यसैबीचमा प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत पनि त्यहिँ आइपुगिन । उनीसँग सचिवहरुले सोध्दा पनि अब शपथकै बेला थाहा पाउनुहुन्छ भन्ने जवाफ फर्काइन् । पछि थाहा भयो ऊर्जा र सामाजिक विकास मन्त्रालयले मन्त्री पायो भनेर । कृषि मन्त्रालयबाट ल्याएको खादामाला सामाजिक विकास मन्त्रीका लागि प्रयोग गरियो र हतारमा मन्त्रालयबाट गाडी बोलाइयो । मुख्यमन्त्रीले अरुसँग सल्लाह गर्न नचाहने, अनि कार्यालयले पनि आवश्यकता अनुसार मन्त्रालयहरुमा सूचना जारी नगर्दा यो अवस्था आइपुगेको सचिवहरुको भनाइ थियो । सचिवहरुको अर्को पनि गुनासो थियो, ‘मन्त्रालयमा बजेट बनाउने हतारो छ, आज २ जना मन्त्रीको शपथ भयो, फेरि अर्को दिन बाँकी मन्त्रीको शपथका लागि कुद्नुपर्छ, बरु १÷२ दिन कुरेर एकैपटक शपथ गराएको भए पनि हुनेथियो ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width