मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
sashanka

चितवन ।  संघीय सांसद एवं नेपाल कांग्रेसका नेता प्राडा शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । शनिबार गैंडाकोटमा जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौं साधारणसभा, तेस्रो अधिवेशन एवं स्वागत सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए ।

‘मैले निर्वाचनताका यस जिल्लाका लागि केही प्रतिबद्धताहरु गरेको थिएँ,’ उनले भने, ‘जुन अहिले सुरु हुने तयारीमा छन् र म ती प्रतिबद्धता पूरा गर्नेछु ।’ नारायणी नदी तटबन्धसहितको हरित सडक, बिपी अन्तर्राष्ट्रिय रंगशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको नेता कोइरालाले बताए । समृद्धितर्फ हामी कसरी जाने भनेर ठोस योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा धेरै सम्भावना रहेको भन्दै सबैभन्दा बढी सम्भावना कृषि क्षेत्रमा रहेको नेता कोइरालाको भनाइ छ । ‘समृद्ध नेपाल बन्ने सम्भावना रहेको क्षेत्र कृषि भए पनि कृषिमा बजेट घट्दै गएको छ,’ उनले भने, ‘पहिले कुल बजेटको २० प्रतिशत कृषिमा छुट्याइने गरेको भए पनि अहिले ५ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।’ कृषि क्षेत्रबाट परिवर्तन ल्याउनका लागि सोच परिवर्तन गरेर नयाँ विचार लिनुपर्ने उनको भनाइ थियो ।

जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाँचौं साधारणसभा, तथा तेस्रो अधिवेशन

गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउने गरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताए । नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको प्रसंग उल्लेख गर्दै उनले अहिले त्यो योजना अलपत्र अवस्थामा पुगेको बताए । यस जिल्ला सम्भावनाले भरिएको जिल्ला भएको भन्दै पूर्व मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गर्नेगरी सरकारले योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा उद्योगी व्यवसायीले युवा विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोकाहरु खुल्न नसकेका बताएका छन् । नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढ्दो भएको भन्दै उनीहरुले युवा विदेशीने क्रम रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिए । सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) अध्यक्ष एवं प्रदेश उद्योग वाणिज्य संघ गण्डकी अध्यक्ष अमृत भट्टचनले देशकै केन्द्रभागमा रहेको गैंडाकोट प्रशस्त सम्भावना बोकेको ठाउँ भएको बताए । जग्गामा उच्च मूल्यवृद्धि हुँदा सरकारी जग्गालाई सहुलियत दरमा भाडामा लिने व्यवस्था सरकारले कार्यान्वयन गरेमा स्वदेशी र विदेशी लगानी बढ्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । लामो समय र ठूलो धनराशि खर्च गरेर सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेकोतर्फ भट्टचनले सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसी, गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकाल, लमजुङ उद्योग वाणिज्य संघ अध्यक्ष भरत श्रेष्ठ, एमाले जिल्ला सहसचिव एवं गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने, कांग्रेस गैंडाकोट नगर सभापति बद्री सापकोटा, चितवन चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुवेन रामुदामु, हिसान नवलपुरका अध्यक्ष खेमराज सापकोटा, व्यवसायी दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्र्ने महासचिव छवि कँडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width