पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम

धनबहादुर गुरुङ
जेठ ५, २०८१
Sitaram Dahal Photo 2

पोखरा ।  बिहानको मिर्मिरे उज्यालो अनि साँझको गोधूलि । पोखरा राष्ट्र बैंक चोकदेखि मुस्ताङचोक खण्डमा दिनहुँ भेटिन्छन्, सीताराम दाहाल । उनको एक हातमा डस्टबिन अनि अर्कोमा कुटो कहिल्यै टुट्दैन । बिहान ५ बजेदेखि साढे ८ तथा बेलुका साढे ५ देखि रात नपरुञ्जेल उनी बिरुवा संरक्षणका लागि गोलमेलमै व्यस्त हुन्छन् ।

पेसाले गाडी चालक उनको श्रमदान, समाजसेवा, वातावरण संरक्षण जे भने पनि यही नै हो । वातावरण र बिरुवाप्रति उनको औधी मोह छ । पोखराको हरियाली जोगाउन उनी हमेसा तत्पर छन् । राष्ट्र बैंक चोक नजिकै बस्ने उनी नजिकै खाली जग्गा भएकाले सो क्षेत्रको हरियालीमा खटिएका हुन् । उनले सो क्षेत्रमा आफैँले बिरुवा लगाएर गोडमेल र मलजल गरिरहेका छन् ।

वातावरण जोगाउन लागेका एक्ला सिपाही, सीतारामको जन्म ओखलढुंगामा भएको हो । २७ वर्षअघि पोखरा झरेका उनी उमेरले ४८ वर्ष पुगे । जिल्ला विकास समितिमा सवारीचालक बन्न यता आएका उनी अहिले पनि स्टेरिङ घुमाउँछन् । गाडी चलाउनबाहेकको समय बिरुवासँगै रमाउँछन् ।

सहरी विकास कार्यालय (भवन) मा सवारीचालकको रुपमा कार्यरत् उनी बिरुवाको कामलाई नित्यकर्म ठान्छन् । बिरुवा हुर्काए पुण्य मिल्ने उनको मान्यता छ । ‘अरु मर्निङवाक निस्कन्छन् तर मेरो निम्ति मर्निङवाक भनेको श्रमदान, वातावरण संरक्षण जे भने पनि यही हो,’ उनले भने ।

आफूले हर्रो, बर्रो, श्रीखण्ड, कपुर, शिव फूल, रक्तचन्दन, सीताअशोक, लप्सी, गुल्मोहर, बेलपत्र, पलास, सतीसाल, रामफल, वरपिपल, स्वामी, सिप्लीकान लगायत विभिन्न जातका फूल, जडीबुटी वनस्पती लगाएको उनले बताए । ‘मैले यहाँ जडीबुटीजन्य बिरुवा गलाएको छु । के–के लगाएको छु भनेर त औंला भाँचेरै गन्नुपर्छ,’ उनले भने, ‘रोपेर छोडेर मात्र भएन भनी गोडमेल र मलजल गरिरहेको छु ।’

श्रमदानको मुख्य उद्देश्य भनेकै वातावरण संरक्षण भएको उनी सुनाउँछन् । ‘जलवायु परिवर्तनले पारेको असरमा केही भए पनि राहत दिनु मुख्य उद्देश्य हो,’ उनले भने, ‘धार्मिक बिरुवा रोपेपछि धर्म संरक्षणतिर गयो । फल दिने बिरुवा रोपेपछि पृथ्वीमा भएका हरेक प्राणीले खान पाउने भए । जडीबुटीले स्वास्थ्यमा राम्रो हुने ।’

अहिलेसम्म उनले राष्ट्रबैंक चोक, मुस्ताङचोक, सहिदचोक, ड्यामसाइड क्षेत्रमा विभिन्न प्रजातिका २ सयभन्दा बढी बिरुवा रोपिसकेको बताए । ‘मैले बिरुवामात्र नभइ फूल तथा दुबो पनि लगाएको छु । पोखराका विभिन्न ठाउँमा गरी २ सयभन्दा बढी बिरुवा लगाइसकेको छु,’ उनले भने, ‘कुनै–कुनै बोटबिरुवा १६/१७ वर्षअघि पनि रोपेको छु । अहिले ती रुखमुनि मानिसले शीतल लिँदा आफैलाई शीतलता महसुस हुन्छ । मैले रामघाटमा चाँप र गुलमोहर रोपेको थिएँ, अहिले फुलेर ढकमक्क छ । कहिलेकाहीँ हेर्न जान्छु । आनन्द आउँछ ।’

अहिलेसम्म उनले राष्ट्रबैंक चोक, मुस्ताङचोक, सहिदचोक, ड्यामसाइड क्षेत्रमा विभिन्न प्रजातिका २ सयभन्दा बढी बिरुवा रोपिसकेका छन्

२०५८ सालदेखि छुटफुट बिरुवा रोप्दै आएका उनले गएको वर्षदेखि भने निरन्तर यो अभियानमा छन् । अभियानमा केही बिरुवा आफैँले किनेको र केही सामाजिक अभियन्ताबाट सहयोग पाएको उनले सुनाए । कुनै बिरुवा आफैँले उमार्ने गरेको उनको भनाइ थियो । ‘बिरुवाहरु कुनै भूसंरक्षणबाट लिएर आउँछु, केही किनेँ । केही साथीहरुले पठाइदिनुहुन्छ,’ उनले भने, ‘कोइरालो, गुलमोहरको बिरुवा आफैँ उमारेको हुँ । धेरैजसो मागेर नै ल्याउने गरेको छु ।’

यो कार्यबाट पोखराको पर्यटनसँगै जलवायु परिवर्तनमा परिरहेको नकारात्मक असर केही कम गर्न सहयोग पुगेको उनको विश्वास छ । सार्वजनिक ठाउँका बिरुवा स्याहारले पोखराको प्राकृतिक सौन्दर्य कायम राख्न, हरियाली, सफा, सुन्दर पोखरा बनाउन यो अभियान सहयोगी हुने उनले बताए ।

उनको परिवारमा ९० वर्षीया आमा पवित्रादेवीसहित श्रीमती पार्वता र २ सन्तान छन् । आफ्नो अभियानमा परिवारले पनि साथ दिएको उनी बताउँछन् । त्यसैले यो अभियानलाई ‘पारिवारिक श्रमदान’ भन्न रुचाउँछन् । ‘यो मेरो पारिवारिक श्रमदान हो किनभने मेरो छोराछोरी अनि श्रीमतीले पनि यसमा खुब सहयोग गर्छन्,’ उनले भने, ‘आमाले पनि पानी हाल्ने, गोडमेलमा सघाउनुहुन्छ ।’

आफ्नो अभियानमा धेरैले साथ दिए पनि केहीले मन दुखाउने काम गरेको उनको गुनासो छ । ‘अस्ति सूर्यमुखी फुलेको थियो, कस्ले काटेर लगिदिएछ । त्यस्तो गर्दा दुख लाग्छ,’ उनले भने, ‘पाती पनि रोपेको थिएँ, त्यो पनि फेदैमा मुठारेर लगे ।’ धेरैले आफ्नो अभियानको महत्व नबुझेको उनी बताउँछन् । तैपनि ज्यानले भ्याएसम्म अभियानमा लागिरहने उनको प्रतिबद्धता छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width