गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
Baganaskali Healthcx

पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, असहाय र उपचारको लागि घरदेखि टाढा जानुपर्ने बाध्यता भएका मानिसलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर चलाएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा परिवार नियोजन, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल लगायतका स्वास्थ्य संस्थाका विशेषज्ञसहितको गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी खटिएका छन् ।

शुक्रबार वडा ३ लक्षित गरेर नायर स्वास्थ्य चौकीमा वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार शिविरमा महिला सम्बन्धी प्रसुती रोग सम्बन्धी परीक्षण, उपचार तथा परामर्श सेवा, नसर्ने तथा दीर्घ रोग सम्बन्धी जनरल फिसिजसियन सेवा दिएको थियो । योसँगै ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका लगायतले गाउँमै पुगेको शिविरबाट सेवा लिएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य, रुग्णता सेवा, पाठेघर खस्ने समस्या भोगिरहेका महिलालाई स्क्रिनिङ, रिंग पेशरी, भीआइए सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा संघीय सांसद ठाकुर गैरेले उच्च तहबाट नागरिकको स्वास्थ्यको सेवाका लागि संघ, प्रदेशबाट पहल आवश्यक रहेको औंल्याए ।

गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाबासीलाई सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।

गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले बगनासकाली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य चलिरहेको बताउँदै निकट भविष्यमै गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने बताए । उनले हाल गाउँपालिकाभित्र रहेका ९ वटा स्वास्थ्य चौकी र २ वटा स्वास्थ्य सेवा इकाइमा थप स्वास्थ्य उपकरण व्यवस्थापन गर्ने बताए ।

बगनासकाली गाउँपालिकाको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पा लगायत युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल लगायतमा कार्यरत डाक्टर तथा अनुभवी स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा चलेको शिविरमा हालसम्म २ हजार बढी नागरिकले लिएका छन् । शुक्राबरदेखि सुरु शिविर आइतबार वडा २ पोखराथोकमा पुगेर समापन हुने गाउँपालिकाको स्वास्थ्य शाखाले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width