को होला उत्कृष्ट प्रशिक्षक ?

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
nsjf gandaki sports award top 3 Coach News

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गर्ने अवार्ड समारोहमा ७ विधामध्ये प्रशिक्षकतर्फ मनोनयनमा परेका ३ मध्ये १ जनालाई ३५ हजारसहित अवार्ड दिइनेछ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका हुन् ।

नीरज थापा (टेनिस)
दशरथ रंगशालाको टेनिस कोर्टमा २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए, नीरज थापा । लगातार बल टिप्ने र कोर्ट मर्मत गर्न जाने उनी अरुले खेलेको निकै रुचीपूर्वक हेर्थे । २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आए । त्यसपछि बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । एक दशकअघि नेपालको शीर्ष वरियतामा रहेका कुमार अधिकारीले नीरजसँगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । अनि बिस्तारै बल टिप्नबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौं एकवर्षे कोचिङ टेनिङ लिए । त्यसपछि भने निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील बने । २०५९ सालमा रत्नश्री जिम हल, पोखरामा उनले टेनिस सिकाउँदा यहाँका मात्र १० जनाले टेनिस खेल्थे । अहिले भने एक सयभन्दा बढी टेनिस खेल्ने उनी बताउँछन् । उनी बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउँन् । उनका सयौं चेला छन् । तीमध्ये नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का एक हुन् । पोखरालाई टेनिस सरह रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । उनले फिस्टेल एकेडेमीमा समेत लन टेनिस सिकाउने गर्दछन् ।

रमेश केसी (भलिबल)
चैतमा चितवनमा भएको अन्तरप्रदेश भलिबलमा सबै प्रदेशलाई पाखा लगाउँदै गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन, विभागीयलाई समेत पछारेर उपाधि जितेको धेरै उदाहरण छन् । गण्डकीलाई भलिबलमा उत्कृष्ट बनाउन भूमिका खेलिरहेका ती प्रशिक्षक हुन्, रमेश केसी । एक दशकभन्दा बढी पश्चिमाञ्चलबाट योगदान दिएका केसी अहिले गण्डकीको मुख्य प्रशिक्षक हुन् । प्रदेशले साथ नदिएको बेला होस् या भलिबल संघको सहयोग नगरेको बेला, जुनसुकै बेला पनि उनले व्यक्तिगत खर्च गरेर उनले टिमलाई खेल्न लगेका हुन्छन् । गण्डकीले २०८० मा १९ वटा प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्न सफल भयो । केही वर्षअघिदेखि प्रशिक्षक केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टर समेत सञ्चालन गरेका छन् । उनले प्रदेशका खेलाडीहरूलाई समेत उक्त सेन्टरमा नै प्रशिक्षण गराउँदै आएका छन् । प्रतियोगिताबाहेकको समय अरू नयाँ खेलाडीहरूसमेत प्रशिक्षण गर्ने गरेको उनको भनाइ छ । सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । उनले अहिले पनि भलिबलमा उत्तिकै योगदान दिइरहेका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान् खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् ।

रिजन प्रजु (क्रिकेट)
खेलाडीको भूमिकामा रहँदै प्रशिक्षक बनेको रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले केही समयदेखि गण्डकीको क्रिकेटलाई सम्हाल्दै आएका छन् । उनले कोचिङ गरेर सहभागिता भएको पहिलो प्रतियोगिताको उपाधि जिताएका थिए । सुदूरपश्चिममा भएको यु–१९ महिला प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ जना टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
सन् २००७ सालमा खेलेका उनी यु–१७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ सालबाट भने उनी कोचिङतिर लागेका थिए । लेभल–१ कोचिङ ट्रेनिङ लिएका उनले २०१६ पछि भने जागिर छोडेर फुल समय क्रिकेटलाई दिन थालेका हुन् ।
अहिले आइसिसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनीसहित नेपालमा लेभल २ को टेनिङ लिएका ८ जना छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रियस्तरमा उपाधि जितेको छ । गत चैतमा अन्तरप्रदेश क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको हो ।
हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहीन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width