फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
fadindra

पोखरा । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फडिन्द्र देवकोटाले मन्त्री पद अस्वीकार गरेका छन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारीले २ जना मन्त्री थपेका हुन् । आफ्ना विश्वासपात्र बेदबहादुर गुरुङ र सीता सुन्दास मन्त्री बन्दा माओवादीबाट मन्त्री थपिएनन् ।

माओवादी नेता हरिबहादुर चुमानले देवकोटालाई मन्त्री बन्न आग्रह गरेका थिए । उनको प्रस्ताव देवकोटाले अस्वीकार गरेका हुन् । ‘मन्त्री बन्नुस् भन्नुभएको थियो । मैले अहिले जान्नँ भनेँ,’ देवकोटा भन्छन्, ‘यदि मन्त्री बनेँ भने नेपाल समाजवादी पार्टीबाट बन्छु । माओवादीको कोटाबाट बन्दिनँ ।’

उनले नेसपाको केन्द्रीय बैठकपछि निर्णयमा पुग्ने बताए । ‘बैठक २८ र २९ गते छ । त्यसपछि मात्रै अघि बढ्छु । मन्त्री बन्दा पनि नेसपाबाट बन्छु । अर्काको कोटामा जान्नँ,’ उनले भने, ‘क्लियर कुरा छ । पार्टीको बैठक पछि मात्रै जान्छु भनेको हो ।’

माओवादी दलका नेता हरिबहादुर चुमानले आन्तरिक विषय मिलाउनुपर्ने भएकोले मन्त्री सिफारिस नगरिएको बताए । ‘तत्काल काम गर्न अप्ठ्यारो छैन । गण्डकीमा लिडिङ पार्टी एमाले र माओवादी नै हो । मिलाएर जानुपर्छ,’ उनले भने, ‘हामी सल्लाह गरिरहेका छौँ । हामीले यति उति भनेर मागेका पनि छैनौँ । मन्त्री परिषद् विस्तारको लागि केही समय लाग्ला ।’ माओवादीले ३ मन्त्रालयमा दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width