अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
akshar yatra news photo

पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं शृंखला खास्टेताल किनारमा सम्पन्न भएको छ ।

अक्षरयात्राका परिकल्पनाकारमध्ये एक स्व. प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृंखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेठी वाराही मन्दिर परिसरमा सम्पन्न भएको हो ।

पोखरा २६ तथा खास्टेताल टोल विकास संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक मनहरूको उपस्थितिले तालको सुन्दरतामा अझै सुनमा सुगन्ध थपिएको महसुस गरेको बताए ।

वडाध्यक्ष थापाले साहित्य समाजको ऐना भएकाले त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षासमेत गरे । उनले स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै निकट भविष्यमा वडाको सक्रियता र गजल सन्ध्याको सहकार्यमा गजलसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएको कमल फूलको संरक्षण गर्दै जेठी वाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढाउन सकिने बताए ।

साहित्यकार गणेश पौडेलले स्रष्टाहरूले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवं विकासका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए ।

स्थानीय हरिप्रसाद अधिकारी, बुद्धिराज अधिकारी, ईश्वरराज भण्डारीलगायतले तालका साथै वाराही मन्दिरको महत्वमा जोड दिएका थिए ।

नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, कवि शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुइँकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, वसन्तमोहन भट्टराईलगायत २६ जना कवि कवयित्रीहरूले रचनावाचन गरेका थिए । कार्यक्रम सचिव उदीपराज ढुंगानाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width