पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै   

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
baglung water

गलकोट ।  पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छभने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो ।

पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण पानीका मुहान सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो । तीन वर्षअघि मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो ।

मुहान भासिएर तल जाने समस्या भएपछि मुहान संरक्षण आवश्यक रहेको प्राविधिकहरुको भनाइ छ । कार्यालयले मुहान सुक्दै जान थालेपछि संरक्षणका लागि सिगानाबाट अभियान सुरु गरिएको थियो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरबाटोका कारण भासिन थालेपछि रु चार लाख बजेटमा संरक्षण गरिएको थियो । मुहान चुहावट नहुने प्रविधिका साथ पक्की रुपमा नै संरक्षण गरिएको थियो ।

यस्तै, काठेखोला गाउँपालिका–४ तङ्ग्रामका खानेपानीका मूल सुक्न थालेपछि तङ्ग्राम गाउँको धुरीमा रहेको खोरताललाई संरक्षण गरी ‘रिचार्ज’ पोखरीका रुपमा विकास गर्न गत वर्षदेखि काम थालिएको छ । गण्डकी प्रदेश सरकारको रु ३० लाख बजेटमा उक्त पोखरीको संरक्षण गर्न थालिएको जनाउँदै पोखरीमा पानी जम्मा भएमा पोखरीमुनिका मुहान बिस्तारै रसाउँदै जाने स्थानीयको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थालेको मुहान संरक्षण अभियानलाई बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षबाट साथ दिएको छ । बागलुङ–३ स्थित रुम्टामा रहेको खानेपानीको मुहान संरक्षण गरी सङ्कलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो । अहिले वडा कार्यालयअन्तर्गत रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यवस्थापन र हनुमानपौवामा आउने पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा ल्याइएको वडाध्यक्ष सनी केसीले जानकारी दिनुभयो । उहाँले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी संरक्षण, मुहान संरक्षण तथा पुरानो धारा संरक्षणको कामलाई अभियानका रुपमा लिइएको बताउनुभयो ।

“चौतारी मासिए, वरपीपल मासिए मुहान सुक्दै गए, बागलुङ बजारवासीले नियमित रुपमा खानेपानी लैजाँदै आएका खानेपानीका मुहान संरक्षण गर्न थालिएको हो, रुम्टाका स्थानीयको सक्रियतामा मुहानलाई नचुहिने बनाएर पानी सङ्कलन गरिएको छ”, अध्यक्ष केसीले भन्नुभयो, “हामीले सडक, भवन मात्रै विकास देखिरहेको सन्दर्भमा रु एक लाखभित्रै ठूलो काम गर्न सकिने योजनामा समेत हाम्रो ध्यान छ, चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा मुहान, रुम्टा मुहान र गहते धारा संरक्षणमा जम्मा रु ८० हजार खर्च भएको छ तर हजाराँै बागलुङवासीको तिर्खा मेटाउन सहज भएको छ ।”

‘एक घर, एक धारा’ अभियान आए पनि रुम्टामा खानेपानीका लागि कुवामा दिनभर गाग्री भर्नुपर्ने बाध्यतालाई वडा कार्यालय र स्थानीय जनश्रमदानबाट मुहान संरक्षण गरी पानी सङ्कलन गर्ने व्यवस्था मिलाइएको रुम्टा गदौरेखोला मुहान संरक्षणमा सक्रिय स्थानीय सरेश विकले बताउनुभयो । उहाँले वडा कार्यालयको रु ४० हजार र स्थानीयको जनश्रमदान र रु १३ हजार सहयोग सङ्कलन गरी मुहान संरक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले पहराबाट निस्किएको मुहान सडक छेउमै भएका कारण भासिन थालेपछि संरक्षण गरिएको जनाउँदै सडमा हिँड्ने पैदल यात्रुलाई सहज भएको बताउनुभयो । संरक्षण गरिएको मुहानको पानी निकै मीठो भएकाले बागलुङ बजारबाट पानी भर्न आउने गरेका छन् । मोटरबाटोका कारण मुहान भासिँदै गएका कारण सम्भावित खानेपानीको अभाव सिर्जना हुन सक्ने भन्दै मुहना संरक्षण गर्न थालिएको हो ।

बागलुङमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा र भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेका छन् । खानेपानीका मुहान सुक्न थालेर खानेपानीको आपूर्ति असहज भएपछि बागलुङ नगर खानेपानीले समेत लिफ्टमार्फत खानेपानी वितरण गरिरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केबी रानाले जानकारी दिनुभयो । रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width