सर्वेश्वरका व्यवसायी व्यापार प्रवद्र्धन अभियानमा

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
byapari

पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका व्यवसायीहरूको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको अगुवाईमा त्यहाँका व्यवसायीहरू व्यापार प्रवद्र्धन गर्न छिमेकी जिल्लाहरूको भ्रमणमा निस्कन लागेका हुन् ।

सातामा सातै दिन व्यवसाय खोल्न थालेका व्यवसायीहरू व्यापार प्रवद्र्धनका लागि कास्कीको उत्तरी क्षेत्र पर्वतको कुश्मा, म्याग्दीको बेनी, बागलुङ, गलकोट, हटिया हुँदै पूर्वी रुकुमका विभिन्न क्षेत्र पुग्ने समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) ले जानकारी दिए । उनका अनुसार व्यवसाय प्रवद्र्धनका लागि समितिले नयाँ वर्षको अवसर पारेर क्यालेन्डर प्रकाशन गरेको छ । ‘सोही क्यालेन्डर लिएर हामी छिमेकी जिल्लाहरू जान्छौं । व्यवसायीहरूले आ–आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने पर्चा, पम्प्लेट, ब्रुसरलगायत पनि लिएर जान सक्छन्,’ अध्यक्ष थापाले भने ।

व्यापार प्रवद्र्धनका लागि इच्छुक व्यवसायीहरूको नाम संकलन गर्ने कार्य भइरहेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार प्रवद्र्धनका लागि जान चाहने व्यवसायीहरूलाई नाम टिपाउन खुला आह्वान गरिएको छ । ‘इच्छुकहरूलाई समेटेर हामी व्यापार प्रवद्र्धनमा जान्छौं,’ उनले भने । भ्रमणपछि सर्वेश्वर मार्गमा सामान खरिद गर्न आउने त्यस क्षेत्रका व्यवसायी तथा ग्राहकहरूको संख्या बढ्ने समितिको विश्वास रहेको उनले बताए ।

समितिले व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले समितिका वरिष्ठ उपाध्यक्ष छविलाल गौतमको संयोजकत्वमा क्यालेन्डर प्रकाशन गरेको थियो । सो क्यालेन्डर यसअघि नै विमोचन गरिसकिएको छ ।

सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाइल्यान्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्ने गरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाइने समितिका महाचिव विशाल अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width