अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
438271605_411774548341921_1880821525894348268_n

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ आइटीएफ तेक्वान्दोकी सुस्मिता वर्ष खेलाडी घोषित भएकी हुन् ।

पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो ।

वर्ष खेलाडी महिला विधामा अनुश्का शेरचन (आर्चरी) र अरुणा शाही (भलिबल) समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) थिए ।

उदीयमान खेलाडीतर्फ ब्याडमिन्टनकी दिलासा राना उत्कृष्ट बनिन् । सो विधामा ज्योत्सनिका मरासिनी (क्रिकेट) र बादल कार्की (एथलेटिक्स) समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजूलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक भलिबलका रमेश केसी बने । उत्कृष्ट क्लब सहारा क्लब पोखरा र पत्रकारतर्फ रोहितराज पराजुलीले अवार्ड थापे । उनीहरुलाई ३५ हजारसहित अवार्ड प्रदान गरियो । ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसका अभिषेक बास्तोलालाई स्पेशल अवार्ड दिइयो ।

मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई सम्मान गरेको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगर प्रमुख धनराज आचार्य लगायतले अवार्ड हस्तान्तरण गरेका थिए । पोखरा सभागृहमा करिब ३ घण्टा चलेको समारोहमा लोकप्रिय गायक प्रकाश सपूतले चर्चित गीतमा दर्शक नचाए ।

Related News

सम्बन्धित समाचार

hero news full width