पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

आदर्श समाज सम्वाददाता
जेठ ७, २०८१
idea mart

पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।

लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा ३ दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । आचार्यले युवाले कार्यक्रममा प्रस्तुत गर्ने हरेक आइडिया समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताए । पोखरा पर्यटनको राजधानी घोषणा भैसकेका अवस्थामा विभिन्न परियोजना आउने क्रम सुरु भएको उनको भनाइ छ ।

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले मार्टमा प्राप्त सबै आइडियालाई छलफल गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा त्यसले समाजमा विशिष्ट योगदान गर्न सक्ने बताए ।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले मार्टमा सहभागिताका लागि आवेदन माग गरिएकोमा विभिन्न आइडियासहित ३५ समूहले आवेदन दिएकोमा १९ समूह छनोट गरिएको बताए । तीमध्ये १७ समूह मार्टमा सहभागी बनेको उनको भनाइ छ । तीमध्ये उत्कृष्ट १० छनोट गरिने छ । उत्कृष्ट १० लाई पुनः सरोकारवालाबीच राखेर छलफल गर्दै तीमध्येबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थलाई क्रमशः ५०, ४०, ३० र २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने छ । व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले महानगरपालिकाले अघिल्लो वर्ष पनि मार्ट सञ्चालन गरेको बताउँदै सो क्रममा महानगरको आइडिया बैंकमा ३७ वटा आइडिया संकलन भएको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष नीरज केसी, मुख्य प्रशिक्षक नीरज खनाल लगायतले मार्टमा प्राप्त आइडिया कार्यान्वयनको तहमा लैजानुपर्ने आवश्यकता औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width