पोखरा देशभरकै प्रदूषित सहर

धनबहादुर गुरुङ
वैशाख २३, २०८१
Pollution Photo 1

पोखरा । पोखराबाट हिमाल नदेखिएको २ हप्ताभन्दा बढी भयो । डाँडा उक्लनहरूले थुम्काबाट न हिमाल देख्न न राम्रोसँग पोखरा । तुवाँलोले डम्म ढाकिएपछि शुक्रबार र शनिबार त पोखराबाट घाम देख्नै धौधौ भयो ।

आकाश नखुलेको पीडामा रहेका पोखरेली स्वास्थ्य समस्या बोकेर हिँडिहरेका छन् । पोखराका स्थानीयसँगै घुम्न आएका पर्यटकहरू बाहिर हिँड्दा आँखा पोल्ने, श्वासप्रश्वासलगायत अन्य समस्याले पिरोलिएका छन् । केही दिनयता यहाँको हवाई उडान पनि प्रभावित भएका छन् । पोखरा तुवाँलोमा रुमलिएको छ ।

वायु गुणस्तर सूचकांक (एक्युआई) ले पोखराको हावालाई प्रदूषित देखाएको छ । सोमबार दिउँसो ३ बजेसम्म सूचकांकले पोखराको वायु गुणस्तर इन्डेक्स १ सय ९२ अंकमा देखाएको थियो । यो अंक नेपालका सहरहरूमध्ये सबैभन्दा बढी हो । काभ्रेको पनौतीमा १ सय ७३ हुँदा काठमाडौंको १ सय ७१ अंक छ ।

यो अंक मानव स्वास्थ्यका लागि हानिकारक हो । ५० भन्दा बढी एक्युआई लेबल मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्रदास अनुसार इन्डेक्सअनुसार शून्यदेखि ५० लाई राम्रो, ५० देखि १ सयलाई नराम्रो, १ सयदेखि २ सयसम्म अस्वस्थकर, २ सयदेखि ३ सयसम्म अति अस्वस्थकर र ३ सयदेखि माथि खतरनाक हो ।

सोमबार दिउँसो पोखराको वायु गुणस्तर इन्डेक्स १ सय ९२ अंकमा देखाएको थियो । यो नेपालका सहरहरूमध्ये सबैभन्दा बढी हो

डा. दासले पछिल्लो समय पोखराको वायु प्रदूषणको दर निकै खतराजनक ढंगबाट अघि बढेको बताए । ‘वायु गुणस्तर सूचकांकले देखाउने दिनभरको तथ्यांकमा कुनै एक समयमा पोखराले काठमाडौंलाई पनि पछि पारेको देखिन्छ,’ उनले भने, ‘पोखरामा पहिलेजस्तो सफा र प्रदूषणमुक्त छैन । जति पनि तुवाँलोको लहरले भिजिविलिटी नै घटाइदिएको छ ।’

आन्तरिक स्रोतको खपत, डढेलोलगायत अन्य कारणले वायु प्रदूषण बढेर तुँवालो लागेको डा. दासले बताए । अंग्रेजी महिना फेब्रुअरीदेखि जुनसम्म प्रदूषणको जोखिम समय रहेका उनले सुनाए । ‘काठमाडौं, पोखरा, विराटनगर जस्ता सहरहरू नेपालका मेघा सिटी हो । यहाँ जनसंख्या बढेअनुसार सवारी पनि थपिएका छन् । घरसँगै सडक पनि निर्माण भइरहेका छन् । पछिल्लो समयमा मानव क्रियाकलाप बढिरहेका छ,’ उनले भने, ‘फेब्रुअरीदेखि जुन भनेको आगलागी हुने क्रिटीकल समय हो । वायु प्रदूषणको मुख्य कारण भनेको कृषि अवशेष जलाउने अनि डढेलो लाग्ने यो पिक समय हो ।

पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको डा. दासले बताए । ‘वायु प्रदूषण कम हुनका लागि वर्षाको ठूलो रोल हुन्छ । यो पटक पोखरा पानी परेन यसले गर्दा पनि प्रदूषण झनै बढेको छ,’ उनले भने, ‘अर्को कारण काठमाडौंमा जस्तै विकासका काम भइरहेका छन् । यसले पनि प्रदूषणमा बढिरहेको छ ।’ उद्योग, निर्माणस्थल, फोहोर तथा कृषिउपजहरू जलाउनु साथै वरिपरिका डाँडाका वन जंगलमा डढेलो लग्नाले पनि पोखराको वायु प्रदूषण वृद्धि भएको उनले बताए ।

यसले गर्दा पोखराबासीसँगै यहाँको पर्यटन क्षेत्रलाई असर गर्ने डा. दासले बताए । ‘वायु प्रदूषण बढ्नु भनेको स्वास्थ्यमा जोखिम बढ्नु हो,’ उनले भने, ‘पर्यटकहरू नेपाल आउनु अघि वायु प्रदूषणको मापन चेक गर्छन्, त्यो बेला प्रदूषण बढेको भेटेमा स्वास्थ्य जोखिममा राखेर को चाँहि पर्यटक आउला र ?’ प्रदूषण बढ्नेबित्तिकै मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने डा. दासले सुनाए । तत्काल रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जीलगायत समस्या देखापर्छ दीर्घकालमा मुटुसम्बन्धी रोग देखापर्ने हृदयघात, फोक्सो, श्वासप्रश्वासमा समस्या देखापर्छ ।

पोखरामा तुवाँलो लागेकै कारण पोखराबाट हवाई उडानमा समस्या परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एअर ट्राफिक कन्ट्रोल प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार शनिबार विमानस्थलको ग्राउन्ड भिजिविलिटी १ हजार ५ सय मिटरभन्दा कम रहेको थियो । उडानका लागि ३ हजार ७ सय ग्राउन्ड भिजिविलिटी आवश्यक पर्ने उनले बताए । ‘वैशाख १४ गतेदेखि उडाजमा समस्या देखिएको हो । २ दिन बन्द भएपछि १६ गते १ बजेदेखि खुलको थियो । अनि फेरि १७ र १८ गते बन्द भयो,’ उनले भने, ‘१९ गते आधा दिन खुल्यो । २० गते राम्रैसँग जहाज उडेको थियो । हिजो (शुक्रबार) ३ वटा जहाज काठमाडौंबाट आएर फर्किएको थियो । आज (शनिबार) पूरै बन्द भयो ।’
जहाज नचल्दा पर्यटकीय सहरको पर्यटन क्षेत्र प्रभावित बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘लामो समय भयो हिमाल खुलेको छैन् ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट केही उडेको छैन । बाटो खराब छ अनि जहाज नचल्दा पर्यटकहरू आउन सकेका छैनन्,’ उनले भने, ‘स्वास्थ्यमा समस्या त परेकै छ । व्यावसायमा पनि समस्या छ । पछिल्लो समय डढेलोका कारण तुवाँलो लागेको भन्ने छ । डढेलो नियन्त्रणका लागि सरकार समयमै चनाखो हुनुपर्छ ।’

वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास यो समयमा वन डढेलोकै कारण तुवाँलो बढिरहेको बताउँछन् । गण्डकी प्रदेशमा पछिल्लो समय धेरै डढेलोका घटना भएका छन् । वन निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार गत आइतबार दिउँसोसम्म गण्डकीको ४ सय ६७ स्थानमा डढेलो लागेको छ । जसबाट ८ हजार २ सय ७७ हेक्टर जंगलमा आगो लागेको तथ्यांक छ ।

गण्डकीको मुस्ताङबाहेक सबै जिल्लामा डढेलो लागेको तथ्यांक रहेको वन निर्देशनालय गण्डकीका वन निर्देशक रामकाजी श्रेष्ठले बताए । गण्डकीमा सबैभन्दा बढी नवलपुरमा आगोलागीका घटना छन् । जसअन्तर्गत गत आइतबारसम्म कास्कीमा ४५ घटनामा ७ सय ५० हेक्टर जंगलमा आगो लागेको तथ्यांक छ ।

गण्डकीमा लागेको अधिकांश डढेलोको घटनामा मानवीय कारण रहेको निर्देशक श्रेष्ठले बताए । उनका अनुसार वनमा प्राकृतिकरूपमा आगो लाग्ने घटना एकदमै कम हुन्छ । आगो लागेपछि भौगोलिक कारणले नियान्त्रण गर्न समस्या हुने उनले बताए ।

यो समयमा तुवाँलो बढ्नुको कारण डढेलो भएकाले नियन्त्रणका लागि निर्देशनालयबाट प्रयास भइरहेको उनले बताए । सचेतना फैलाउने, सामुदायिक वनहरूलाई सक्रिय बनाउने, अग्नि नियन्त्रणका सामग्री प्रदान गरिएको निर्देशक श्रेष्ठले बताए । ‘यो सिजनमा एकपटक जिल्लास्तरमा सब डिभिजनस्तरमा पनि सबैलाई बोलाएर सचेतना फैलाउने काम गरिएको छ,’ उनले भने, ‘अग्नि नियन्त्रण सामग्रीहरू उच्चस्तरीय खालको प्रविधि त हामीसँग छैन । तर, हामीसँग उपलब्ध सामान दिइरहेका छौं ।’ निर्देशनालयमा बजेट कम हुँदा पनि अग्नि नियन्त्रणमा समस्या भएको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width