घरआँगनको फिल्म ‘बगान’

विजय नेपाल
असार २४, २०८०
film bagan 2080

पोखरा। नेपाली समाज पितृसतात्मक समाज हो । यहाँ नारी सधैँ दमित छ । छोरी, श्रीमती, बुहारी, आमा लगायत विभिन्न भूमिका निर्वाह गर्नुपर्ने उनै नारीमाथि २१ औं शताब्दीमा समेत पुरुषको चिथोमिचो पाइन्छ । पुरुषको तुलनामा महिला समाजको मूलधारमा आउन नसक्नु शिक्षा र सचेतनाको कमी हो । एकल महिलाका दुख त कति छन् कति ।

‘बगान’ मार्फत निर्देशनमा डेब्यु गरेका सदाबहार हिरो सरोज खनालले फिल्ममा यी र यस्तै कथाबस्तु बुनेका छन् । आफ्नै स्क्रिप्ट रहेको ‘बगान’ हरेक घरघरको कथा हो भन्छन् उनी । करिब ४० वर्ष लामो समय नेपाली फिल्ममा योगदान दिएका उनी निर्देशकीय भूमिकामा आइसक्दा पनि आफूलाई कलाकारकै रुपमा चिनाउन चाहन्छन् । ‘मैले ३१ फिल्म खेलिसक्दा एकताका १९ फिल्मले सय दिन मनाएका थिए,’ पोखरामा आइतबार पत्रकार सम्मेलनमा उनले भने, ‘जीवन यसैमा बित्यो । आफ्नो लामो अनुभव भएकोले बगानलाई उत्कृष्ट बनाउने कोशिस गरेको छु । दर्शकले अवश्य रुचाइदिनु हुनेछ ।’ समाजमा अझै पनि कुरीति, कुसंस्कारले जरा गाडेर बसेको हुँदा त्यसलाई फिल्मको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको उनको भनाइ छ । केही फिल्मको उदाहरण दिँदै नेपाली फिल्म विगतको तुलनामा अचेल फरकधारमा बन्दै गएकोमा उनले खुसीसमेत व्यक्त गरे ।

अभिनेत्री करिष्मा मानन्धरले महिला शिक्षित हुनु जरुरी रहेको कुरा पोखरामा पनि दोहोर्‍याइन् । कक्षा ८ पढ्दापढ्दै बीचमै पढाइ रोकिएकोमा अन्ततः  अघिल्लो वर्ष उच्च शिक्षाको ढोका उघारेकी थिइन् । फिल्मको मुख्य पात्र करिष्मा भन्छिन्, ‘मलाई लाग्छ, पुरुषभन्दा अझ महिला शिक्षित हुनु जरुरी छ । तब समाज परिवर्तन सम्भव छ ।’ फिल्ममा एकल महिलाको कथा छ । उनका अनुसार ‘बगान’ मा अर्गानिक कथा छ । त्यसैले आफूलाई निकै उत्साहित बनाएको उनले बताइन् ।

म्युजिक भिडियो खेल्दै आएकी टेलिभिजनकर्मी प्रमिला कार्कीको यो डेब्यु फिल्म हो । सरोज खनालसँग एउटा म्युजिक भिडियो खेल्ने क्रममा राम्रो फिल्म गरौं भन्ने योजनाबमोजिम ‘बगान’ मा जोडिएको उनले खुलाइन् । त्यसो त उनका श्रीमान् सुरेश वाग्लेले लगानीको भार बोकेका छन् । त्यसैले उनलाई फिल्ममा आउन सजिलो भएको अनुमान गर्न सकिन्छ । तर पश्चिम पाल्पाकी यी नवनायिका यो कुरा मान्न तयार छैनन् । ‘म अभिनय सिकेरै यो फिल्डमा आएकी हुँ । पोखराकै अनुप बराल सरले सिकाउनु भएको हो,’ उनले भनिन्, ‘धेरै वटा म्युजिक भिडियो गरें । टेलिभिजनकर्मी पनि हुँ । केही न केही सिकेरै आएकी हुँ । अझै सिक्न चाहन्छु । पहिलो फिल्म भएकोले माया गरिदिनुहुन सम्पूर्ण दर्शकलाई अनुरोध गर्दछु ।’

फिल्मको टिजर र गीतले कतिपय दर्शकलाई २९ असारको प्रतीक्षालाई व्यग्र बनाएको छ । निर्माता सुरेश वाग्लेले एउटा नेपाली फिल्ममा हुने औषत लगानी रहेको बताए पनि रकम खुलाउन चाहेनन् । उनले ठट्यौरी पारामा भने, ‘अझै पनि लगानी भइरहेको छ । हेरौं शुक्रबारसम्म कति हुन्छ ।’ त्यसो उनीसहित सरोज र करिष्मा आफैँको पनि यसमा लगानी छ ।

फिल्ममा आकाश श्रेष्ठ, प्रमिला कार्कीबाहेक अधिकांश पाका कलाकार छन् । लामो समय योगदान दिएका धेरै कलाकार यो फिल्ममा भएकै कारण आफू निर्देशक हुँ भन्ने पनि भुलेको अभिनेता एवं निर्देशक सरोज खनालले बताए । उनले सबैको टिम वर्कमा बनेको फिल्मलाई बर्खामासै पनि जबर्जस्त हल छिराएको बताए ।

गत कात्तिकमा रिलिज ‘उडी छुनु त आकाश’ गीतमा एकल महिलाको संवदेना र छटपटी देखाइएको थियो । जसमा करिष्मा आमा र प्रमिला छोरीको भूमिकामा छन् । फिल्ममा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायत कलाकारको अभिनय छ ।

प्रमोसनका लागि देशदौडाडमा रहेको फिल्म युनिट यसअघि नारायणगढ, बुटवल हुँदै पोखरा आएको हो । यहाँ चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रभु अधिकारी र सचिव सन्तोष बस्यालले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width