असल बुहारीको सम्मान

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
buhari

लमजुङ । लमजुङमा ‘असल बुहारी’ को सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, सुन्दरबजार ८ ले ५ जना असल बुहारी/पत्नीलाई र १५ ज्येष्ठ नागरिकको सम्मान गरेको हो ।

समाजमा ज्येष्ठ नागरिक हेला बन्दै गएको, त्यो पनि बढी मात्रामा बुहारीका कारणले वृद्धवृद्धाप्रति दुव्र्यवहार हुने भएको पाइएकोले असल बुहारी/श्रीमतीलाई सम्मान गर्ने नीति लिएको समाजले जनाएको छ ।

सम्मानित हुने बुहारीमा पूर्णकुमारी अधिकारी, रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेल हुन् । असल श्रीमतीमा चन्द्री गुरुङ सम्मानित भएको समाजका अध्यक्ष नारायणबहादुर कँुवरले बताए । उनका अनुसार चन्द्रीले पक्षघातले थला परेका पतिको स्याहार गर्दैआएकोले उनको सम्मान गरिएको हो । उनले भने, ‘त्यसो त चन्द्रिका र उनका पति दुवै ज्येष्ठ नागरिक समेत हुन् ।’ उनीहरूलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा मेयर कृष्णप्रसाद कोइरालाले असल बुहारी सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताए । सो कार्यको अनुशरण सबै वडाले गर्नुपर्ने बताए ।

समारोहमा मेयर कोइरालाले १५ जना वृद्धवृद्धालाई सम्मान गरेका हुन् । समाजद्वारा ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका १५ जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यावनप्राशसहित सम्मान गरिएको हो । समाजले हरेक वर्ष समाजमा आवद्ध ज्येष्ठ नागरिकका साथै वृद्ध बाआमा, सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई सम्मानित गर्दै आएको समाजका उपाध्यक्ष वसन्तराज खनालले बताए ।

सम्मानित हुनेमध्ये सर्वाधिक उमेरका ज्येष्ठ नागरिकमा वडा ९ की ९० वर्षीय नानुमाया भुजेल हुन् ।

कार्यक्रममा समाजका सल्लाहकार धु्रववहादुर कुँवर, ज्येष्ठ नागरिक समाज राइनास नगरपालिकाका अध्यक्ष गोविन्द कडरियाले शुभकामना मन्तव्य व्यक्त गरे । सम्मानित हुने बुहारी रविकला अधिकारीले आफ्नो अनुभव सुनाएकी थिइन् ।

सो अवसरमा समाजका कोषाध्यक्ष चन्द्रकान्त अधिकारीले ४५ हजार ४ सय ९८ रुपैयाँ बराबरको आयव्यव विवरण प्रस्तुत गरेका थिए । समाजमा सुन्दरबजार ८ र ९ का ७३ जना ज्येष्ठ नागरिक आवद्ध रहेको समाजका सचिव शेरसिंह कार्कीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width