हिमालपारी चिकित्सक अभाव

रासस
जेठ २५, २०७९

मनाङ । मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् । अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेकोे गुनासो स्थानीयवासीले गरेका छन् । उपचारका लागि अस्पताल पुगेका स्थानीयवासी लक्ष्मण गुरुङले उपचार हुनेभन्दा झन् बढी पीडा थपिने गरेको गरेको गुनासो गरेका छन् ।
‘अस्पतालमा चिकित्सकको दरबन्दी भए पनि उपलब्ध हुँदैनन् । यहाँ सामान्य उपचार पनि नपाउँदा लामो दूरी पार गरेर छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । अब त झन बर्खा लाग्यो । मौसमको समेत भर हुँदैन उपचार गर्न कसरी पुग्न सकिन्छ खै ?,’ उनले भने ।
केही समयअघि मात्र जिल्लामा हबल्दार अकस्मात लड्दा उपचारको अभावमा उनको मृत्यु भएको थियो भने अर्का सशस्त्र प्रहरीका जवानको पनि भिरबाट लडेर तत्काल उपचार नपाउँदा मृत्यु भएको थियो । बिरामीलाई अस्पताल लग्यो चिकित्सक छैन । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सर्वसाधारणको दुखद घटना बढेको छ ।
मनाङवासीले भौगोलिक विकटता, मौसमको प्रतिकूलताका साथै जिल्लाको एक मात्र अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभावले अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालमा समयमै पु¥याइए पनि चिकित्सकको अभावले बिरामी बचाउन नसकिएको स्थानीयवासीले बताए ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार जनताका हरेक समस्याहरु आफूसम्म आइपुगे पनि प्रदेश तथा संघीय सरकारबाट उचित पहल नहुँदा उनीहरुको जीवनमाथि नै खेलबाड भइरहेको महसुस भएको बताउँछन् ।
‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको र अस्पतालमा ३ चिकित्सकको दरबन्दी छ भन्ने सुनिएको हो तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा १ जना पनि चिकित्सक उपलब्ध नहुनु विकटका जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार रहेको प्रस्ट देखिएको छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले अस्पतालमा कोभिड दरबन्दीमा चिकित्सकको पद रिक्त रहेको र हाल १ मात्र चिकित्सक जिल्लामा रहेको हुनाले नागरिकले खोजेको बेलामा चिकित्सक उपलब्ध नभएको स्वीकार्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width