प्रादेशिक ललितकला प्रदर्शनी तयारी

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
Lalitkala finalf

पोखरा । पानी रङको पाठशालाका रुपमा परिचित पोखरामा शनिबारबाट प्रथम प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा प्रदर्शनी गर्न लागिएको हो । ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनी फागुन २३ गतेसम्म चल्नेछ ।

पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य सचिव श्रेष्ठले खुलाए । ‘कलाको वृत्ति विकास, प्रवद्र्धन र सवद्र्धनको लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपालको इतिहासमा पहिलोपटक यो प्रदर्शनी गर्न लागिएको हो,’ उनले भने ।

अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । प्रदर्शनीको औपचारिक उद्घाटन शनिबार दिउँसो ३ बजे र समापन फागुन २३ गते दिउँसो ३ बजे गर्ने तय भएको आयोजकको भनाइ छ ।

देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम सम्पन्न हुने भएकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ हुनेछ । प्रदर्शनी मार्फत् छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । यो ऐतिहासिक कार्यक्रमको अवलोकन गरेर कलाकार र आयोजकलाई हौसला प्रदान गरिदिनका लागि सबै कलाप्रेमीलाई आयोजकले अनुरोध समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width