इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Indra Malla 2

पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपालि मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान अर्पण गरिनेछ । मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानीलाई सम्मान गरिसकेको छ ।

कहिल्यै नथाक्ने इन्द्रा
एथ्लेटिक्सकी इन्द्राकुमारी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित छिन् । हुन पनि ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गरेकी इन्द्रा अहिले पनि त्यसैका लागि अहोरात्र खटिन्छिन् ।

इन्द्राको बुबा टीकाबहादुर मल्ल भारतीय पल्टनमा काम गर्थे । उनी बक्सिङका नामुद खेलाडी थिए । इन्द्राका बुबामात्र होइन मामा यामबहादुर शाही पनि बक्सिङका खेलाडी थिए । तीनै बुबा र मामाको प्रेरणामा ईन्द्राले क्याम्पस जीवनमा पनि खेलकुदलाई निरन्तरता दिइन् । उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिसलगायत खेल खेल्थिन् । तर विशेष रुचि भने एथ्लेटिक्समै थियो । खास गरेर उनी १ सय मिटर, २ सय मिटर, ४ सय मिटर दौडमा सधैं प्रथम हुन्थिन् । पछि १ हजार ५ सय मिटर, ३ हजार मिटर, ५ हजार मिटर र १० हजार मिटरको धाविका बनिन् ।

जीवन नै खेलकुदका लागि समर्पित गरेकी इन्द्राले धेरैपटक खेलकुदका लागि त्याग गरेकी छन् । उनले खेलकुदकै लागि कहिले पढाइ त्यागिन् त कहिले स्थायी जागिर । २०५६ सालतिर इन्द्रा एमएड अध्ययन गरिरहेकी थिइन् । त्यहिबेला उनलाई भारतमा नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (एनआइएस) मा डिप्लोमा गर्ने अवसर आयो । पढाइ र खेलमध्ये एक रोज्नुपर्ने बेलामा उनले किञ्चित नसोची खेलकुद रोजिन् ।

त्यतिमात्र होईन उनले शिक्षिकाको स्थायी जागिर छाडेर खेलकुद राजेको इतिहास छ । २०४० सालदेखि अस्थायी र २०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनले २०५० सालमा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दिन आयो । तर यसमापनि उनले दोधार नभई खेलकुद नै रोजिन् ।
आफ्नो समयकी उम्दा खेलाडी इन्द्राले कयौं दर्जनौं पदक जितेकी छन् भने राष्ट्रिय रेकर्ड पनि कायम गरेकी छन् । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण पदक जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पियनसिपमा पनि प्रथम स्थान हासिल गरिन् । ३० औं राष्ट्रिय च्याम्पियनसिपमा हाल्फ म्याराथनमा रजन पदक, १० किलोमिटर वाल्किङमा स्वर्ण जितेकी उनले दोस्रो र तेस्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पियनिसपमा गोल्ड मेडल जितेकी छन् । २६ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा चौथो स्थान हासिल गरेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले २७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको १० किलोमिटर वाल्किङमा स्वर्ण, २८ औं राष्ट्रिय खेलकुदको १० किलोमिटर वाल्किङमा स्वर्ण र १० किलोमिटर दौडमा रजत पदक जितेकी छन् ।

त्यसबाहेक उनले भारतमा भएको आठौं एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको १० किलोमिटर वाल्किङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पियनसिपको ५ किलोमिटर वाल्किङमा चौथो, क्यानडामा भएको सेकेन्ड वल्र्ड जुनियर ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाल्किङमा २३ औं स्थान र सिंगापुरमै भएको दोस्रो एयिसन जुनियर ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको ५ किलोमिटर वाल्किङमा चौथो स्थान हासिल गरेकी छन् । त्यस्तै उनले सन १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलन प्रतियोगितामा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी इन्द्राले द हिमालयन माउन्टेन बाइक च्याम्पियनसिपमा पनि पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराइन् । त्यतिमात्र होइन, उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडी पनि हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width