पुतलीबजारको लाम्पाटामा स्वास्थ्य शिविर, २५३ लाभान्वित

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
health camp

पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोग र स्मृति युवा क्लबको स्थानीय सहयोगमा स्याङ्जाको लाम्पाटामा निशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर भएको छ । कार्यक्रम रोटरी क्लब अफ नक्साल शक्तिले गरेको हो । पुतलीबजार १३, लाम्पाटास्थित सक्षम आमा समूह भवनमा भएको शिविरमा २ सय ५३ जनाको दाँत र सामान्य परीक्षण गरिएको छ ।

रोटरी नक्साल शक्तिकी संस्थापक अध्यक्ष. डा. लुना शर्मा अर्यालको अध्यक्षतामा भएको कार्यक्रम पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले उद्घाटन गरे । उनले स्वास्थ्य परीक्षण गरी समुदायमा स्वास्थ्य योगदान पु¥याउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे । उपमेयर देवी अर्याल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठ, वडाध्यक्ष जुद्धबहादुर राना लगायतको उपस्थितिमा आयोजित शिविरमा विभिन्न संघ संस्था, क्लबका प्रतिनिधि तथा समाजका सदस्य सहभागी थिए ।

डा. शर्माले रोटरी क्लब अफ नक्साल शक्तिद्वारा प्रदान गरिएको सामुदायिक सेवा बारेमा जानकारी गराइन् । उनले दाँतको र सम्पूर्ण स्वास्थ्यको महत्व र कसरी स्वस्थ रहँदा मानिसहरूलाई थप उत्पादनशील बनाउन सकिन्छ भनेर सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिन् । गण्डकी मेडिकल कलेज र स्थानीय समुदायबीचको सहकार्य, स्याङ्जा जिल्लाका जनताका लागि कलेजले पु¥याएको योगदानमा जोड दिइन् । रोटरी क्लब अफ नक्साल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक ड. नुवादत्त सुवेदीले दाँत तथा समग्र स्वास्थ्यको महत्वका साथै स्याङ्जा जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्दै लैजानुपर्ने बताए ।

गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले गण्डकी मेडिकल कलेज नगरपालिका र स्वास्थ्य महाशाखासँग सहकार्य गर्न सधैं तत्पर रहेको बताए । कलेजले प्रदान गर्ने सेवाका बारेमा पनि प्रकाश पार्दै डेन्टल कलेजमा विभिन्न विशेष विभागहरु रहेको जानकारी दिए । । शिविरमा सबै उपचार गर्न नसकिने भएकाले शिविरबाट रिफर हुने बिरामीलाई कलेजले विशेष छुट दिने पनि उनले प्रतिबद्धता जनाए ।

उपमेयर देवी अर्यालले शिविर आयोजना गरेकोमा रोटरी क्लब अफ नक्साल शक्तिलाई पनि धन्यवाद दिइन् । क्लबका सर्भिस प्रोजेक्ट चेयर डा. उज्ज्वल कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य शिविरको स्थानीय व्यवस्थापन स्मृति युवा क्लबले गरेको थियो । पुतलीबजार नगरपालिका, सातुपसल स्वास्थ्य चौकी, सक्षम आमा समूह, लाम्पाटा बजार समिति लगायतले स्थानीय सहयोग गरेका थिए ।

शिविरको व्यवस्थापन रोटरी क्लब अफ नक्साल शक्तिका कोषाध्यक्ष रोटेरियन कृष्ण पौडेलले गरेका थिए । कार्यक्रम सञ्चालन स्मृति युवा क्लब लाम्पाटाका सचिव मीनप्रसाद अर्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width