भूगोलविद् डा. हर्कको सालिक अनावरण

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Dr harka gurung

लमजुङ । लमजुङका भूगोलविद् डा. हर्क गुरुङको अमरत्वका लागि उनको जन्मस्थलमा पार्क निर्माण गरी सालिक अनावरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका ७, ताङ्लीचोक स्थित समाधिस्थलसँगै डा. हर्क गुरुङ प्रतिष्ठानले उनको स्मृतिमा निर्मित पार्कमा अर्धकदको सालिक स्थापना गरेको हो ।

गण्डकीका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभाका सांसद पृथ्वीसुब्बा गुरुङले सालिक अनावरण गर्दै डा. हर्क र उनको योगदान अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा संविधान सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, संविधान सभा सदस्य लालबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दीपकप्रसाद पण्डितलगायतले बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्रदेव माविका प्रधानाध्यापक सोमबहादुर भण्डारीले स्वागत तथा प्रतिष्ठनका सचिव शेरबहादुर थापाले सञ्चालन गरेका थिए ।

पार्क निर्माणका लागि प्रतिष्ठानले हालसम्म करिब ६० लाख रुपैयाँ खर्च गरेको छ ।

कूल ६ करोड ३१ लाख ९९ हजार ७ सय ६९ रुपैयाँ २२ पैसाको ‘स्व. डा. हर्क गुरुङ स्मृति पार्क’ को विस्तृत योजना निर्माण गरेको र यसका लागि ३० रोपनी जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले बताए । उनका अनुसार प्रतिष्ठानले हालसम्म प्राप्त ५ रोपनी १२ आना ३ पैसा २ दामको जग्गामा विभिन्न संरचनाहरू निर्माण गरेको छ ।

डा. हर्क गुरुङको २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गएको थियो ।

प्रतिष्ठानमा तिलबहादुर
भूगोलविद् डा. हर्क गुरुङ प्रतिष्ठानको अध्यक्षमा पुनः तिलबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । मस्र्याङ्दी गाउँपालिका ७ ताङ्लीचोकमा आयोजित प्रतिष्ठानको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गुरुङ मस्र्याङ्दी गाउँपालिका– ७ का अध्यक्ष हुन् । उनी डा. हर्क गुरुङका भतिजसमेत हुन् ।

प्रतिष्ठानकोे उपाध्यक्ष शेरबहादुर थापा, सचिव सोमबहादुर भण्डारी, सहसचिव कमला गुरुङ र कोषाध्यक्ष झुमाया गुरुङ चयन भए । सदस्यहरू श्यामकृष्ण घले, बेलबहादुर गुरुङ, घिउकुमारी घले गुरुङ, छिरिङ घ्याम्चो गुरुङ, सरोज गुरुङ, पूर्णकाशी गुरुङ, छोटे गुरुङ र भीमबहादुर गुरुङ छन् । प्रतिष्ठान २०७६ फागुन २८ गते स्थापना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width