पोखरामा कृषि यान्त्रिकीकरण प्रदर्शनी तयारी

आदर्श समाज सम्वाददाता
पौष १८, २०८०
Agri Mech Photo

पोखरा । पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८० तयारी गरिएको छ । पुस २० देखि २२ सम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने प्रदर्शनी तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय–मालेपाटन, पोखरा महानगरपालिका, नेपाल सरकार, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा १० भन्दा बढी मुलुकका १ हजारभन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहने नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए । उनका अनुसार ४० जिल्लाका करिब ३० हजारले प्रदर्शनी अवलोकन गर्ने छन् ।

एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाबारे जानकारी गराउन यो प्रदर्शनी फलदायी हुुने कृषि निर्देशक वासु रेग्मीले बताए । प्रदर्शनीले नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारीसँगै कृषि यान्त्रिकीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्‍याउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कृषि यान्त्रिकीकरण व्यवसायी र किसानबीच कार्यगत समन्वय गरी लगानीको अवसर सिर्जना गर्न प्रदर्शनी फलदायी हुने पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले बताए । कृषिका नयाँ प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञसँगै किसानबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रदर्शनीमा ४५ लाख बराबरको खर्च लाग्ने नेपाल कृषि मेसिनरी व्यवसायी संघ अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । अनुमानित कारोबार ५ करोडभन्दा माथि हुने अपेक्षा आयोजकले राखेको सो प्रदर्शनीमा मेड इन नेपाल स्टलसँगै कृषि यान्त्रिकीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी/सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविक विविधता संरक्षणसम्बन्धी छलफल/अन्तक्र्रिया हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width