‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
Egg Photo 1

पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल नेपाल आयोजनामा पोखरामा सोमबार अन्तक्र्रियामा केज प्रणाली उपयुक्त नरहको उनीहरुको भनाइ थियो ।

केज प्रणाली र सोत्तर प्रणाली (परम्परागत) बाट उत्पादित अण्डाको महत्व उपभोक्तालाई बुझाउन नसक्दा कुखुरा कल्याण अभियान प्रभावकारी हुन नसकेको एनिमल नेपालका पोखरा प्रतिनिधि देव उपाध्यायले बताए । यसका लागि सचेतना जगाउन आवश्यक रहेको उनले बताए । केज प्रणालीबाट उत्पादित अण्डाको गुणस्तर र जनस्वास्थ्यको लागि समेत उपयुक्त नहुने उनको दाबी छ ।

एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले केजमा उत्पादित अण्डामा आवश्यक प्रोटिन नहुने बताइन् । केजमा पीडा दिएर उत्पादित अण्डामा गुणस्तर कम हुने उनले बताइन् । अण्डा उत्पादन भएको २ देखि ३ हप्तासम्म प्रयोग गर्न उपयुक्त हुने उनको भनाइ छ । फ्रिजमा राखे १ महिनासम्म प्रयोग गर्न सकिने उनले बताइन् । एनिमल नेपालका अनुसार भाले लागेको अण्डा २ हप्ता र भाले नलागेको अण्डा ३ हप्ताभित्रमा प्रयोग गर्दा राम्रो हुनेछ ।

नेपालमा केही अण्डा फार्मले उत्पादन मिति र म्याद सकिने मिति नतोकी बिक्री गर्दा समस्या हुने गरेको प्रमुख राणाले बताइन् ।

पशु कल्याणका लागि सन् २००९ मा स्थापित एनिमल नेपालले विभिन्न ५ विषयलाई सुनिश्चित हुनुपर्नेमा जोड दिने गरेको छ । जसमा पशुपंक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्ने, राम्रो वातावरणमा बस्न पाउनुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्र्ने, जनावरहरूको व्यवहारअनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्ने, र मानसिक तनाव दिन नहुने छन् ।
अभियानकै सिलसिलामा संस्थाले सचेतना जगाउन विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएको अवस्थामा कास्कीमा पनि अभियान सुरु गर्न लागेको छ । मान्छेजस्तै पशुपंक्षी पनि जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालको माग छ ।

Related News

सम्बन्धित समाचार

hero news full width