कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…   

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
goat photo

फाइल तस्बिर

कास्की ।  मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् ।

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।

सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो । “सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए”, बरालले भन्नुभयो, “तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।”

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गर्नुभयो ।

बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिनुभयो । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।

“सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उहाँले भन्नुभयो ।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • माझठानाका कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता चैत्र २१, २०८०
    पोखरा । पोखरा २८, माझठानामा एकीकृत शत्रुजीव (आइपिएम) तालिम भएको छ । कृषि ज्ञान केन्द्र, कास्कीको आर्थिक सहयोगमा गत २…
  • फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    स्याङ्जा । फेदीखोला गाउँपालिका १ सर्केटारीमा २ दिनेसम्म चलेको प्रथम फेदीखोला आलु प्रदर्शनी सकिएको छ । आलु पकेट विस्तारसँगै प्रवद्र्धनमा…
  • रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र   

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    ढोरपाटन ।  आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको…
  • विदेश पलायन रोक्न वालिङ नगरपालिकाले दियो दूधमा अनुदान   

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    गल्याङ ।  किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर रु १० अनुदान दिने भएको छ । आर्थिक…
  • जलवायु परिवर्तनले कृषिमा असर

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    पोखरा । माछापुच्छ्रे गाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सीमान्तकृत वर्गको सवाल र सम्बोधनका उपायमाथि छलफल भएको छ । युएसएआइडी…

hero news full width