केरा खेतीमा रमाएका हुमबहादुर

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
hum-bdr-nepal-kera-khatai (1)

स्याङ्जा । वैदेशिक रोजगारीबाट नेपाल फर्किएका स्याङ्जाको चापाकोट नगरपालिका ९ का हुमबहादुर नेपालीले व्यावसायिक केरा खेती गरेका छन् । उनले चापाकोट नगरपालिका ९ मा करिब २४ रोपनी जग्गामा व्यावसायिक केरा खेती सुरु गरेका हुन् ।

रोजगारीको सिलसिलामा २०४९ मा कुवेत गएका नेपाली घर परिवारसँगै आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने लागेपछि २०५७ मा नेपाली नेपाल फर्किए । विदेशमा बनाएको योजनो नेपाल फर्किएपछि नहुने रहेछ भन्दै उनले भने, ‘मैले यहाँ धेरै संघर्ष गर्नुपर्यो र अहिले पनि गरिरहेको छु ।’

स्वास्थ्यमा समस्या

नेपाल फर्किएपछि २०५७ मा उनले कपडाको व्यवसाय थाले । पसल सुरु गरेको दुई वर्षपछि सिलाई बुनाईको काम पनि सञ्चालनमा ल्याए । त्यही समयमा उनलाई मृर्गौलामा समस्या देखाप¥यो ।

नियमित स्वास्थ्य चेक जाँच गर्नुपर्ने भएपछि चापाकोटभन्दा काठमाडौंको बसाइ बढी हुनथाल्यो । त्रिविव शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरे । उनी ५ वर्षपछि मृर्गौलाको प्रत्यारोपण गरेर निको त भए तर उनका योजनाहरु भताभुंग भए । उपचारमा मात्रै ४० लाख रुपैयाँभन्दा बढी खर्च भयो ।

रात्रिबस सञ्चालनमा घाटा

उपचारको लागि काठमाडौं बसेपनि केही गनुपर्छ भनेर उनले बस खरिद गरेर काठमाडौं पोखरा रात्री बस सञ्चालन गरे । ‘म बिरामी भएको हुँदा बसलाई समय दिन सकिनँ । बस साथीहरुलाई सञ्चालन गर्ने जिम्मा दिएँ । उहाँहरुले राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । त्यसमा अरुले भनेजस्तो र आफूले सोचेजस्ता व्यापार भएन । बसले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि बिक्री गरिदिएँ,’ उनले भने ।

वैदेशिक रोजगारीबाट फर्किएका हुमबहादुर कपडा दोकान, गाडी हुँदै अहिले केरा खेतीमा व्यस्त

एकतिर आफू बिरामी अर्कोतिर व्यापारमा घाटा । स्वास्थ्यमा सुधार भएपछि काठमाडौंको बसाईलाई अन्त्य गर्दै चापाकोटमा भएको कपडा पसललाई निरन्तरता दिए ।

वैदेशिक रोजगारबाट कमाएको पैसा उपचार र बसको व्यापारमा खर्च भएपछि उनले अन्य नयाँ व्यवसाय सञ्चालन गर्ने आँट पनि गर्न सकेनन् ।

व्यावसायिक कृषिमा आवद्धता

२०७९ मा घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जामा ऋषिकेश बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसायिक कृषि खेतीमा सक्रिय भए । उनले कृषि विकास बैंकबाट ९ लाख ऋण लिएर चापाकोट नगरपालिका ९ चोसीमा आफ्नै ४ रोपनी र यमबहादुर श्रेष्ठको २० रोपनी जग्गा ५ वर्षको लागि भाडामा लिएर उन्नत खालको जी नाइन र मालभोग केरा दुई चरणमा गरी २१ सय बोट लगाए ।

केराखेतीले पछिल्लो ५ महिनादेखि आम्दानी दिन थालेको भन्दै उनले भने, ‘यस अवधिमा करिब १ लाख ५० हजारको केरा बिक्री भयो । नगरपालिकाको कृषि शाखाका प्रमुख दिपक खड्कासँग नियमित सल्लाह लिएर अगाडि बढेको हुँदा अब नियमित आम्दानी बढ्दै जान्छ भन्ने विश्वास लिएको छु ।’

केरा खेती थालेका नेपालीलाई अहिलेसम्म बिक्रीको लागि चिन्ता छैन । अहिलेसम्म उत्पादन भएको केरा स्थानीय बजारमै बिक्री गरिरहेको उनले बताए । व्यावसायिक केरा खेती गरेका नेपालीलाई घरपरिवारबाट राम्रो सहयोग प्राप्त भएको छ । उनलाई अहिले श्रीमती, छोरा र छोरीले सहयोग गरिरहेका छन् । घरपरिवारबाट सहयोग, कामदार र बिक्रीको समस्या नभएको हुँदा उनले क्षेत्र विस्तार गर्ने योजना बनाइरहेका छन् ।

क्षेत्र विस्तार गर्ने योजना

‘पछिल्लो समय चापाकोटमा खेतबारी बाँझो रहने क्रम बढ्दो रहेकोले भाडा लिन जति पनि पाइने हुँदा क्षेत्र विस्तार गर्ने योजना बनाइरहेको छु,’ उनले भने ।

नहरभन्दा तल्लो भागमा सिचाइँको समस्या नभएको भन्दै व्यवसायिक कृषिमा आवद्ध भएको कृषकहरुलाई नगरपालिकाले विभिन्न किसिमका तालिमका अवसरहरु दिनुपर्नेमा उनले जोड दिए ।

अहिलेसम्म अनुदान र कृषिसम्बन्धी तालिमको अवसर नपाएको भन्दै नेपालीले व्यावसायिक खेती गर्ने किसानले त्यस्तो खालको अवसर पाए अझै राम्रो गर्न सकिने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width