‘सरकारमाथी प्रश्न गर्दा मन्त्री छोडूँजस्तो लाग्छ’

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७७
p

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकारले प्रयास धेरै गरे पनि प्रतिफल प्राप्त हुन नसकेको बताइन् । सरकार आयात प्रतिस्थापनमा नियमित लागे पनि त्यसमा उल्लेख्य प्रगति हासिल हुन नसकेको उनको तर्क छ । ‘जति हुनुपर्ने थियो त्यो पुगेको छैन । तर केही नगरेको होइन । सरकारले केही पनि गरेको छैन भन्दा कहिलेकाहीँ मन्त्रिको पद पनि छोडूँ छोडूँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘पार्टी, संगठन, संस्था चलाएजस्तो होइन । सरकार चलाउन धेरै कुरालाई विचार गर्नुपर्छ । आफूले टेक्ने ठाउँमा उचित छ कि छैन विचार गर्नुपर्छ । मेरो हस्ताक्षर राष्ट्र र जनताको पक्षमा छ कि छैन भनेर विचार गर्नुपर्छ । तर बाहिर बसेर बोल्दाजस्तो सजिलो छैन ।’

उनले बेरोजगारी अन्त्य नगरेसम्म देशको गरिबी नघट्ने बताइन् । त्यसका लागि सरकारले जीवनोपयोगी तालिमहरु सञ्चालन गरिरहेको उनको भनाइ छ । ‘धेरैलाई तालिम दिएको छ । तर नितान्त गरिब नागरिकसम्म हाम्रो तालिम पुगेको छैन । त्यो पहिचान गर्ने जिम्मा स्थानीय तहको हो । तालिमलाई प्रतिफलमूलक बनाउन धेरै मेहिनत गरें, सकिरहेको छैन,’ उनी भन्छिन्, ‘हाम्रो हरेक ठाउँमा आयात प्रतिस्थापन गर्नु जरुरी छ । जनशक्तिको आयात पनि रोक्नुपर्छ । तालिम भनेपछि भत्ता कति पाइन्छ भनेर सोध्छन् । भनेजस्तो काम गर्न सकिएको छैन ।’

सडक बालबालिकामुक्त बनाउन उनीहरुका अभिभावकलाई रोजगारी, सबै बालबच्चालाई निःशुल्क र गुणस्तरीय शिक्षा आवश्यक भएको भन्दै उनले त्यसका लागि सरकार योजनाबद्ध काम गरिरहेको बताइन् । मन्त्री पुनले सबैलाई शिक्षाको पहुँचमा पु¥याउन आवासीय विद्यालयको अवधारणा अघि सारेको बताइन् । बालबालिकालाई सडकमा आउन रोक्ने र आएकालाई रचनात्मक काम मार्फत समाजमा पुनस्र्थापनामा गैरसरकारी संस्थाहरुले सहयोग गरिदिन उनको आग्रह छ ।

गण्डकी प्रदेशसभाका विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मनोरन्जनका नाममा हुने विकृति रोक्न सबैले सहयोग गर्नु आवश्यक हुने बताए । ‘पेसा गर्ने छुट सबैलाई छ । तर विकृति कसैलाई छुट हुँदैन,’ उनले भने, ‘मनोरञ्जनका क्षेत्रमा काम गर्नेहरुको पीडा छ । उनीहरुलाई उचित सम्बोधन हुनुपर्छ । तर मनोरञ्जनका नाममा विकृति छर्न मिल्दैन ।’ रेग्मीले नीति निर्माणमा कुनै कमजोरी भए सुझाव दिन आग्रह गरे ।

शक्ति समूहले मनोरञ्जनका क्षेत्रमा हुन सक्ने शोषण न्यूनीकरण तथा यसका व्यवस्थापनविषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा वडा ५ का अध्यक्ष धनबहादुर नेपाली, वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, सरकारी वकिल कार्यालयका रुद्रप्रसाद सुवेदी, पत्रकार महासंघ गण्डकीकी उपाध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए ।

शक्ति समूहका व्यवस्थापन समिति सदस्य दिलीप कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शक्ति समूह कास्कीकी परियोजना संयोजक सरिता पौडेलले गरेकी थिइन् । इन्सेकका शिव खकुरेलले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width