कालीगढका ‘गड’ विश्वकर्मा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७३

प्राविधिक सीप र कलाका सृष्टिकर्ता भगवान विश्वकर्मा हुन् भन्ने कुरा हिन्दूधर्म ग्रन्थहरूमा प्रत्यक्ष उल्लेख भएको पाइन्छ। उनै विश्वकर्माले सृष्टि गरेको सीप, ज्ञान र कलालाई निरन्तरता दिँदै आएको हुँदा आजका विश्वकर्माहरूले आफ्ना नाउँका पछाडि जातका रुपमा विश्वकर्मा भनी लेख्दै आएका हुन्। आजभोलि विश्वकर्मा जातिले मात्र नभइ प्रत्येक कलकारखाना, उद्योगधन्दा मर्मतसम्भार र यातायात क्षेत्रमा पनि धुमधामसंग कालीगढका देवताको रुपमा प्रत्येक वर्ष आस्विन १ गते विश्वकर्मा बाबाको पूजाअर्चना गर्ने गरिएको छ।

भगवान् विश्वकर्माको वंश वृतान्त : हिन्दू संस्कृति अनुसार भगवान् ब्रम्हका पुत्र धर्म र धर्मका पुत्र वास्तुदेव (वास्तुशास्त्री) र अंगीरसीका पुत्र हुन् विश्वकर्मा। उनका पाँच भाइ छोरा थिए। जसमा (१) माया नाम गरेका पुत्रले काठको काम गरे, (२) मानुले फलामको को काम गरे, (३) धुमस्टा जो तामाको काम गर्थे, (४) देवसिल्पी मूर्तिकार थिए भने -५) विस्भजन्याले सुनचाँदी आभूषणको काम गरे। विश्वकर्माका दुर्इ छोरी थिए। विश्वकर्मालाई अन्य एक सय आठ नामबाट पनि पुकारिन्छ। (विश्वकर्मा पुराण २६-३०)

भगवान विश्वकर्मा र विश्वकर्मा जातिबीचको सम्बन्ध पौराणिक कालदेखि नै  रहेको देखिन्छ। विश्वकर्माहरूलाई सबै प्रकारको कलाको विउको रुपमा लिइन्थ्यो। उनीलाई भारत वर्षमा सिल्पीकार, आर्टिटेक्चर तथा कार्पेन्टरका रुपमा लिइन्थ्यो। मन्दिर तथा मूर्ति निर्माणकर्ताको रुपमा लिइन्थ्यो र अहिलेका विश्वकर्माहरू भगवान विश्वकर्माका पाँच भाइ छोराका सन्तान हुन्। समयक्रमसँगै कलाकौशलमा निपूर्ण भएका कारण यिनीहरूले विभिन्न निर्माण क्षेत्रमा कार्य गर्न थाले। जसबाट यस पृथ्वीमा मानव विकासका लागि आवश्यक पर्ने विभिन्न औजार, बस्ने घर, सिकार गर्न आवश्यक हातहतियार, कृषि पेसामा आवश्यक सामाग्री, भाडा वर्तन निर्माण कार्य यिनै विश्वकर्माका सन्तानले गर्दै आएका छन्। आदिम कालदेखि मानव जीवन धान्ने निर्माणकर्ता यिनै विश्वकर्माहहरू हुन् भन्ने कुरा विभिन्न धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ। आदिम कालदेखि आजको आधुनिक युगसम्म आइपुग्दा कृषि, उद्योग, यातायात, कलकारखानादेखि मानिसको दिनचर्या चलाउने सम्पूर्ण क्षेत्रमा संलग्न रही समाजको सेवा गर्दै आएका छन्। सँगै आफ्ना पुर्खा भगवान विश्वकर्मालाई इष्टदेवका रुपमा मानी पूजाआजा पनि गर्दै आएका छन्।

भगवान विश्वकर्मालाई देवताको प्राविधिक परमेश्वरका रुपमा मानिँदै आएको छ। आदिम कालदेखि विश्वकर्माको पूजा गर्ने र उहाँबाट सिर्जित निर्माण औजारहरूलाई उहाँकै सिर्जनाका रुपमा मानी नेपाल तथा भारतमा सबै धर्मवलम्वीले पूजा गर्दै आएका छन्। वर्तमान विश्वका ठूला आयोजना, गगनचुम्बी महल, मेसिनरी पार्टपुर्जा जुन दैनिक जीवनमा प्रयोग भइरहेका छन्, ती सबै हृयाम्मर चेसलका उत्पादन हुन्। जसले भगवान विश्वकर्माको प्रतिनिधित्व गर्दछन्। सोही कारण विश्वकर्मा पूजाका दिन सम्पूर्ण औजार तथा मेसिनरी सरसमानलाई भगवान विश्वकर्माकै स्वरुप मानी पूजा गरिँदै आएको छ। हरेक वर्ष असोज १ गतेका दिन उद्योग, धन्दा, कलकारखाना, यातायानका साधन, विद्युत् गृह आदि ठाउँमा विश्वकर्माको पूजा गरिन्छ। यसरी पूजा गर्नाले व्यवसाय फस्टाउँदै जाने र नयाँ सवारी साधन खरिद गर्नेहरूले भगवान विश्वकर्माको पूजा गरेमा दुर्घटनाबाट जोगिने विश्वास रहेको पाइन्छ। यसैलाई मनन गरी हरेक नयाँ यातायातका साधन खरिदकर्ताले विश्वकर्माको मन्दिर खोजीखोजी पूजा गर्ने प्रचलन छ।

सनातन धर्ममा आदिम कालदेखि नै भगवान विश्वकर्मालाई प्राविधिक स्रष्टाको रुपमा लिइन्छ। कैलाशकुट दरवारदेखि द्वापर युगमा भगवान कृष्णको दरबारसमेत विश्वकर्माले नै निर्माण गरेका हुन्। त्यसैगरी, रामायणमा रावणको बधपछि अयोध्या र्फकने वायुयान पनि उनै विश्वकर्माद्वारा रचिएको धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ। उनै भगवानद्वारा सृष्टि भएका औजार निर्माणलाई निरन्तर दिँदै आएका सन्ततिलाई हाम्रो देशका केही अबुझ धर्मधारीको पछि लागी आफूलाई उच्च जातका भन्नेहरूले छुवाछुत जस्तो अमानवीय व्यवहार गर्दै आएका छन्। वास्तवमा यहाँका विश्वकर्माले कृषि क्षेत्रमा प्रयोगमा आउने हँसिया, कोदालो, बन्चरो, हलो आदि निर्माण नगरेका भए आजको कृषि क्रान्ति असम्भव थियो।

वर्तमान नेपालको संरचना अुसार ७५ वटै जल्लामा छरिएर रहेका छन् विश्वकर्माहरू। तथ्याङ्कले ४.८% भने पनि झण्डै १५ लाख विश्वकर्मा छन् नेपालभर। कास्की जिल्लामा मात्र ३८ हजार छन्। राष्ट्रिय तथ्याङ्कमा समेत उल्लेख्य रहेका विश्वकर्माहरू फलामको काम गर्नेलाई कामी, सुनको काम गर्नेलाई सुनार, काठको काम गर्नेलाई चुँदार, तामाको काम गर्नेलाई टमटा उपाधि दिइएको हो। विश्वकर्मा जातभित्र झण्डै ८८ थर छन् र सम्पूर्ण विश्वकर्मा आफूलाई आदिम कालदेखि नै आर्य समुदायका हिन्दू धर्मावलम्वी हौं भनेर गर्व गर्दछन्।

हाम्रो देशमा श्रम र सीपको सम्मान नगरी अपमान गरिन्छ किनकि दमै जातिले शरीर ढाक्ने लुगा सिलाउँछन्, सार्कीले पाइताला बचाउनका लागि जुत्ता, चप्पल बनाउँछन्, गर्न्धर्व जातिले सुःख दुःखका समाचारलाई गीतमा रुपान्तरण गरी मनोरञ्जन दिन्छन्, जलारीले पानीभित्रको माछा समाती भोक मेटाउँछन्, यसरी अरुको सेवामा तल्लीन वर्गलाई छुन हुँदैन भनी विभेद गरिएको देखिन्छ। कस्तो विडम्वनाझ्, देशमा राजा फालेर लोकतन्त्र आयो, नयाँ संविधान आयो तर यी वर्गका निम्ति हर्ष न विष्मात् भएको छ। अझ अहिलेको २१ औं विज्ञान युगी समयमा निर्माण गरिएको जनताको संविधानमा आदिम कालदेखि आफूलाई आर्य खस हौं भन्दै आएको वर्गलाई वास्तै नगरी आर्य खस भनेको व्राहम्ण, क्षेत्री, दशनामी, ठकुरी भनी किटान गरियो। के हौँ त हामी जनजाति ? हाम्रो इतिहास मेटाउने कसैको अधिकार छैन। हिजोसम्म मानवीय विभेद थियो, आज ऐतिहासिक विभेद भयो।

अन्तमा, हाम्रो देश नेपाल, सयौँ जात, सयौं भाषा, विविध भेषभूषा र धार्मिक विविधता भएको सनातन राष्ट्र हो। यहाँका नागरिक अति मिलनसार, सोझा, अरुको सम्मान गर्ने, अरुका निम्ति मर्ने खालका छन्। हाम्रो संस्कृति, परम्परा जस्तो दुनियाँमा कहिँ छैन, हाम्रा हिमाल, पहाड, खोलानाला अति सुन्दर छन् तर सही व्यावस्थापन गर्न नसक्दा सोझा नेपालीले दुःख पाएका छन्। विकास प्राविधिक कुरा हो, प्राविधिक ज्ञान, सीपको सदुपयोग आजको आवश्यकता हो। त्यसैले सीप र कलाका स्रष्टा भगवान विश्वकर्माको सम्मान स्वरुप विश्वकर्मा पूजालाई राष्ट्रिय पर्व घोषणा गराउन विश्वकर्मा समाज नेपाल केन्द्रीय समिति कास्कीद्वारा उठाइएको विषयलाई २०७२ आस्विन १ गतेको मन्त्री परिषद् बैठकले सम्मान स्वरुप विश्वकर्मा पूजालाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै अन्य धार्मिक पर्वहरूमा सार्वजनिक बिदा दिएजस्तै विश्वकर्मा पूजा असोज १ गतेलाई पनि राष्ट्रिय पर्व भनी प्राविधिक क्षेत्रमा संलग्न व्यक्तिलाई बिदाको व्यवस्था गरिदिन अनुरोध पनि गर्दछु।

(लेखक विश्वकर्मा समाज नेपालका केन्द्रीय अध्यक्ष हुन्।)

Related News

सम्बन्धित समाचार

hero news full width