कास्की कांग्रेसको शिखर पुरूषको अवसान

डा. कृष्णप्रसाद पौडेल
वैशाख १२, २०८१

नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३० गते फोक्सोमा देखिएको क्यान्सरका कारण ८१ वर्षमा देहवसान भयो । स्मरण रहोस् बिपीका सच्चा अनुयायी खेमराज पौडेलले मृत्यु हुने दिन उहाँले अस्पतालको शड्ढयामा समेत आफ्नै घरमा पालेको गाईको दूध खाएर देहत्याग गर्नुभयो । खेमराज पौडेललाई जिल्लाभरि खेमराज गुरूका नामले चिनिन्छ । समकालीन नेताहरूसमेत उहाँंलाई गुरूका नामले नै बोलाउनुहुन्थ्यो ।

वि.स. २००१ सालको भदौमा तुलसीराम पौडेल र नन्दकली पौडेलको माहिला सुपुत्रका रुपमा जन्मिएका खेमराज जननायक बिपी कोइराला प्रधानमन्त्री रहेकै समयमा अर्थात् २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएर बिपी र सुवर्णसमशेरको उपस्थितिमा लीलाभक्त आचार्यलाई सभापति बनेको समयबाट नै कांग्रेसको राजनीतिमा लागेका थिए । पौडेलले त्यस यता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

बनारसमा अध्ययनकै क्रममा उहाँको भेट बिपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतसँग भएको थियो । बनारस पढ्दाका साथीहरू खेमराजलाई बिपीको सच्चा अनुयायीका रूपमा चिन्दथे । बनारस पढ्दाताका उहाँका अत्यन्तै नजिकका साथी भनेको प्रदीप गिरी थिए । बिपीको सच्चा अनुयायी र समाजवादको पालनकर्ताको रूपमा समेत सहपाठी तथा समकक्षीहरू उहाँलाई चिन्दथे । जीवनको युवा जोश र जागरको मुख्य समय उहाँले राजनीतिलाई नै दिएको कुरा जग जाहेर नै छ ।

बनारसको पढाइपश्चात् खेमराज गुरूले राजनीति र शिक्षण पेसालाई सँगसँगै लैजानुभयो । २०२७ सालमा तत्कालीन लुकुनश्वारा पञ्चायतमा बिपी कोइरालाको निर्देशनबमोजिम २ वर्ष प्रधानपञ्च भएर समेत काम गरे । शिक्षण पेसामा रहँदा शुक्रराज मावि, अमरसिंह मावि, राष्ट्रिय मावि, नवप्रभात मावि (तत्कालीन प्रौढ मावि), छोरेपाटन माविमा अध्यापन गराउनुभयो ।

पार्टी संगठनमा काम गर्दा पौडेल ३ पटक जेल पर्नुभएको थियो । पहिलो २०४२ सालको सत्याग्रहमा दोस्रो पञ्चायती शासनकालमा राजाको जन्मोत्सव त्याग्ने पार्टीको कार्यक्रम थियो, त्यतिबेला पनि पक्राउ पर्नुभयो । (२०६२÷०६३ को आन्दोलनमा ।)

हाल पोखरा महानगरपालिका (तत्कालीन पुम्दीभुम्दी पञ्चायत) वडा नम्बर २२ मा रहेको शुक्रराज माविको संस्थापक सदस्यको रूपमा उहाँको योगदान अमूल्य रहेको छ । गाउँको समग्र विकासका साथै समाजमा हुने सामाजिक विभेद र अन्यायविरूद्धमा सदैव उहाँको आवाज उठिरह्यो ।

राजनीतिको बारेमा गुरुको प्रष्ट धारणा थियो । सधैं आफूयोग्य छु भनेर पद ओगट्न खोज्दा राजनीति पेसा बन्न जान्छ । जब सेवाको क्षेत्रलाई पेसामा बदने कोसिस गरिन्छ, तब त्यो क्षेत्रमा विकृति र विसंगति बढ्दै जान्छ । राजनीति सेवा केन्द्रित हुनुपर्दछ । अवसरको बारेमा उहाँले जहिले पनि प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनको उदाहरण दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘अरुलाई पनि अवसर दिनुपर्छ भन्दै प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टन २ कार्यकाल मात्र राष्ट्रपति बन्नुभयो’ हाम्रोमा यस्तो अवस्था कहिले आउँछ ? हाम्रा नेताले यसको सिको कहिले गर्ने ?’

उपनिर्वाचनको टिकट वितरणको समयमा पार्टी सभापति देउवाले पौडेललाई भन्नुभयो, ‘एमालेले विद्या भट्टराईलाई उठाएको तपाईं चुनाव हार्नुहुन्छ, नउठनुहोस्, तपाईंलाई म हेरौंला ।’ पौडेलले सभापतिलाई भन्नुभयो, ‘मैले हार्न पनि नपाउने ।’ खेमराजले भनेको यो कुराले पार्टी सभापतिलाई छोयो र उहाँंले खेमराजलाई नै टिकट दिनुभयो ।

‘सम्झिदिनु एक निष्ठावान् मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन – नेता खेमराज

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । २०७६ को उपनिर्वाचनमा उपविजेता बनेका गुरूले अब म उठ्दिनँ, युवामा ऊर्जा भर्छु भन्ने उद्घोष गर्नुभयो । त्यो समयमा उहाँले गरेको एउटा ट्विट सर्वाधिक चर्चामा रह्यो ‘सम्झिदिनु एक निष्ठावान् मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म इमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ ।’ यो आफैंमा राजनीतिक नैतिकता र नयाँ पुस्ताप्रतिको विश्वास थियो ।

चुनाव प्रचारप्रसारको सिलसिलामा घरदैलो गर्ने अधिकांश मतदाता विशेषतः युवा मतदाताको गुरुलाई प्रश्न थियो, यो उमेरमा पनि राजनीति, उम्मेदवार ? उहाँले सबै ठाउँमा भन्नुभयो मलेसियामा अहिले ९३ वर्षीय वृद्ध मोहम्मद महाथिर प्रधानमन्त्री छन् । म त बल्ल ७५ वर्षको भएँ ! उहाँले पुन थप्नुहुन्थ्यो, ‘बिपी कोइरालाले विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मैले यही कुरालाई ध्यानमा राखी अगाडि बढेको छु ।’

पार्टी संगठन सुधारमा उहाँको प्रष्ट धारणा थियो ‘समस्या सबै पार्टीमा हुन्छन्, विचार फरक हुनसक्छ, सबैको विचारलाई सम्मान गरिनुपर्दछ, सुनिनुपर्छ । पार्टीभित्रका नेता, कार्यकर्ताहरूमा केही समस्या भए त्यसलाई राजनीतिक तरिकाले आन्तरिक रुपमा नै सल्टाउनुपर्छ ।’

पार्टी रूपान्तरण र पुस्तान्तरणामा समेत उहाँ प्रष्ट हुनुहुन्थ्यो,‘नेताले आर्जित गरेको अनुभव र ज्ञान पार्टीको रूपान्तरण र पुस्तान्तरणको लागि नयाँ पुस्ता र समाजको लागि दिन सधैं तत्पर रहनुपर्छ । अन्यथा त्यो ज्ञान र अनुभवको कुनै अर्थ रहँदैन । नेतृत्वले नयाँ पुस्ताको लागि अगाडि जाने बाटो सदैव खुला राख्नुपर्छ ।’ यसबारे उहाँको थप प्रष्ट धारणा थियो,— ‘मानसिक र शारीरिक तन्दुरुस्ती छ भन्दैमा जीवनकालभर राजनीति गर्न हुँदैन । यति कुरा राजनीतिज्ञले अबलम्वन गरे राजनीति प्रदूषित हुँदैन । यसमा आशाका किरणहरू पैदा हुन्छन् ।’

शीर्ष नेताहरूसँग हुने भेटघाटका दौरानमा भएका अनेकौं किस्सामध्ये एउटा किस्सा यहाँ उल्लेख गर्न चाहन्छु । खेमराज पौडेल प्रजातान्त्रिक कांग्रेसको कास्की जिल्ला सभापति हुनुहुन्थ्यो । त्यही समयमा गिरिजाप्रसाद कोइराला पोखरा आउनुभएको थियो । गिरिजाप्रसाद राष्ट्र बैंक गेष्ट हाउसमा बस्नुभएको थियो । खेमराज उहाँलाई भेट्न जानुभयो । गिरिजाप्रसाद बसेको कोठामा जय नेपाल भन्दै उहाँ आकस्मिक रुपमा प्रवेश गर्नुभयो । गिरिजाप्रसादले सोध्नुभयो, ‘खेमराज जी आराम हुनुहुन्छ?’ उहाँको उत्तर थियो, ‘म त आराम छु, तर कांग्रेस बिरामी छ ।’ केहीबेरपश्चात् उहाँले भन्नुभयो, ‘पार्टी हाम्रा कारणले फुटेको होइन, तर दुख हामी जस्ता कार्यकर्ताले पाएका छौं, पार्टी चाँडै मिलाउनुप¥यो, यो काम तपाईंले मात्रै गर्न सक्नुहुन्छ यो दायित्व पनि तपाईंसँग नै छ ।’ (खेमराज गुरूसँग गरिएको कुराकानीको केही अंश ।)

उहाँको सुवर्ण समशेरसँग सारै राम्रो सम्बन्ध थियो । काठमाडौं जाँदा एक कप चिया भए पनि सुवर्ण समशेरकोमा खानुपथ्र्याे । गुरूले एउटा पुरानो स्वेटर देखाउँदै एउटा किस्सा सुनाउनुभयो । ‘म प्रधानपञ्च भएकै समयमा काठमाडौं जाँदा सुवर्ण समशेरकोमा गएको थिएँ, निस्कने बेलामा सुवर्ण समशेरले एक जोडी सुटको कपडा दिनुभयो, त्यसपछि मैले भनें सुवर्णजी यो कोट त लगाउँला तर यो फाटेपछि मेरो कोट किनेर लगाउने हैसियत छैन त्यसैले यो म लग्दिन । त्यसपछि सुवर्ण समशेरले कोट नलगे पनि यो स्वेटर त लगाउनुहोस् भनेर दिनुभयो, मैले भो भन्न सकिनँ, जुन मैले करिब २० वर्ष जति लगाएँ ।’

कुरा २०४८ सालको हो । अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेको ठूलो लर्काे थियो । म कक्षा ८ मा पढ्थेँ । त्यस्तैमा एकदिन मैले अंकललाई सोधे, अंकल हिजो पञ्चायतमा भएका, अन्य पार्टी छोडेका व्यक्तिलाई किन कांग्रेसले प्रवेश गराएको ? उहाँको उत्तर थियो, ‘हिन्दु धर्म मान्नेले खालीपेट पनि मन्दिर दर्शन गर्न पाउँछ, पेटभरि खाएर पनि पाउँछ, नुहाएर पनि पाउँछ, ननुहाए पनि पाउँछ । समयको कुनै सीमा हँुदैन । जुनसुकै समयमा पनि मन्दिर दर्शन गर्न छुट छ । कांग्रेस पनि त्यस्तै हो, यहाँ सबैलाई प्रवेश गर्ने अवसर छ । नियम, कानुन लगाएर छनोट गरी प्रवेश गराउने कुनै नियम छैन । कांग्रेस सबैको अभिभावक हो ।’ के उहाँको आदर्शबमोजिम कांग्रेस सबैको अभिभावक बन्न सकिरहेको छ त? यो प्रश्न आज कांग्रेसको नेतृत्वले सोच्ने बेला आएको छ ।

स्मरण रहोस् जिन्दगीभर कांग्रेस सभापति शेरबहादुर देउवाकै मोर्चामा उभिएका स्वर्गीय पौडेलले कांग्रेसको तर्फबाट आन्दोलन गरिरहे । शेरबहादुर देउवाले पार्टी फुटाउँदा उनलाई साथ दिँदै कास्की कांग्रेसको नेतृत्व उनैले गरे । भुम्दी बुथ हुँदै राजनीतिमा छिरेका खेमराज जिल्ला सदस्य, सचिव, उपाध्यक्ष, प्रजातान्त्रिकको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बने । उनी नेपाली कांग्रेसभित्र ‘अवसर नपाएका’ नेताका रूपमा चिनिनुहुन्थ्यो ।

जीवनभर निष्ठा, त्याग, समर्पणको राजनीति गरेका पौडेल राजनीतिमा सदाचारिताका अनुयायी र कास्कीका कांग्रेसका प्रत्येक कार्यकर्ताको मियोसमेत हुनुहुन्थ्यो । उहाँको सादगीपन समग्र कांग्रेसको मनमनमा बसेको छ । गुरूको निधनले एक त्यागी तथा निष्ठावान् लोकतन्त्रवादी नेता गुमाउनुपरेको छ । यसले नेपाली कांग्रेस कास्कीलाई मात्र नभएर समग्र कांग्रेस र लोकतन्त्रवादीलाई अपूरणीय क्षति पुगेको छ । खेमराज गुरू कास्कीमा कांग्रेस मात्रै नभएर सबैको धरोहर हुनुहुन्थ्यो । यस अर्थमा कांग्रेस कास्कीले एक शिखर पुरूष गुमाएको छ । आज १३ औं दिनको पुण्यतिथिमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।

(लेखक नेपाली कांग्रेसका युवा नेता तथा ज्ञान व्यवस्थापन विज्ञ हुनुहुन्छ)

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै