पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

राजेन्द्र भण्डारी
माघ २४, २०८०

चिलीको इतिहासः

चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे एर्सिजा ई सुनिगा अर्थात् स्पेनी शासक कार्लास पाँचौका परिचारकले अविष्कार गरेको र बसाएको देश हो । मानव इतिहासमै सबैभन्दा लामो युद्ध अराउकेनियन इन्डियन र स्पेनीसहरूबीचको युद्धको जगमा निर्माण भएको देश हो । कुनै समयमा बाँच्नका लागि अति कठिन भूमिको रूपमा चिनिएको चिलीको इतिहास भने जन्मजात सौर्यपूर्ण महानता र पराक्रमले लेखिएको छ । चिलियनहरू आपूmलाई स्पेनी र इन्डियन अमेरिकनजस्ता वर्णशंकर मानिसका रुपमा स्वीकार गर्दैनन् । स्पेनी सैनिक र तिनबाट बलात्कृत महिलाका वंशजका रुपमा पनि मान्दैनन् । लामो युद्धग्रस्त समयमा अराउकेनियनहरूले बन्धी बनाइएका स्पेनी महिलासँग राजीखुशी बिहे गरी उनीहरूबाट जन्मेका सन्तानको रुपमा गर्व गर्दछन् । सन् १५३६ मा स्पेनियसहरूले कब्जा जमाएपछि चिली सन् १६४० मा पूर्णरुपले स्पेनको उपनिवेश बन्यो । १९ औँ शताब्दीको सुरुतिर दक्षिण अमेरिकामा स्वतन्त्रताको आगो सल्कँदा चिली अलग रहन सकेन । परिणामस्वरूप स्पेनियस उपनिवेशवादीहरूको विरोधमा चिलीका जनताले स्वतन्त्रताका लागि प्रारम्भ गरेको संघर्षले अन्तत सन् १८१८ सम्म स्पेनियसहरूबाट स्वतन्त्र भई आधुनिक चिलीको निर्माण भएको मानिन्छ । इतिहासको कालखण्डमा सन् १८१० पछि सुरु भएको स्वतन्त्रताको लामो रक्तरञ्जित इतिहास, वियोग, दुर्भाग्य, असहमति र संघर्ष आदिले भरिएको अतीत हो, चिली । सान मार्तिन, बोलिभार, होसो मिग्वेल कारेराजस्ता साहसीहरूले चिलीको इतिहासलाई सफलता र दुर्भाग्यका अनन्त पथबाट अगाडि बढाएको भूमि हो, चिली ।

पाब्लो नेरुदाको परिचयः

लामो नाम राख्ने स्पेनिस परम्पराअनुसार रिकार्डो एलिएटर नेप्टी रिस बसाल्टालाई परिवर्तन गरेर चेक भाषाको पाब्लो र स्पेनिस भाषाको नेरुदा सापटी लिई साहित्यको संसारमा र संसारको साहित्यमा पाब्लो नेरुदाको नामबाट स्पन्दित महान् कवि र वामपन्थी राजनीतिका प्रखर वक्ता हुन् । जोस डोल कारमेन रेयर्स रेल्वे कार्यकर्ता रोजा बसाल्टोका छोरा पाब्लो नेरुदा जन्मेका एक महिनामा नै आमा गुमाउनुपर्‍यो । एउटा असभ्य केटा, मातृ वियोगको पीडा, दीनता, तत्कालीन चिलीको राजनीतिक अवस्था, पिताकोे कविताप्रतिको उपेक्षालाई चिर्दै सन १९२० मा स्थानीय पत्रिका ‘सेल्भा अस्त्राल’ मा कविता प्रकाशित गरेर साहित्यमा आकर्षित मात्र भएनन् कि विधिवत् रूपमा साहित्यको विशाल फाँटमा आफूलाई प्रवेश गराए । पाब्लो नेरुदाले बिस वर्षको उमेरमा लेखेका सन् १९२४ मा प्रकाशित कविता सङ्ग्रह ‘ट्वेन्टी लभ संगस एन्ड अ संग अफ डिस्पेयर’ प्रकाशनपछि उनी संसारभरी एकाएक चर्चित भएका थिए । चिलीकी नोबेल पुरस्कार विजेता कवयित्री गाब्रियला म्रिस्त्रालको हौसला र कवि गार्सिया लोर्कासँगको मित्रताको परिणामस्वरुप पाब्लो नेरुदालाई साहित्यिक यात्रामा नवीन ऊर्जा मिलेको थियो ।

बिसौँ शताब्दीका महान् कवि पाब्लो नेरुदाको जन्म १२ जुलाई १९०१ मा चिलीको राजधानी सैंन्टियागोेबाट केही परको सानो सहर परालस्थित सानो परिवारमा भएको थियो । पाब्लो नेरुदा विश्व साहित्यको शिखरमा साहित्य, साहित्यिकता र दक्षिण अमेरिकी मुलुकको मौलिक पहिचान फरफराउन केवल कविताको मात्र योगदान छैन बरु उनको बहुआयमिक व्यक्तित्वको भूमिका अहम् रहेको छ । पाब्लो नेरुदा चिलीको गौरवमय इतिहास, प्रेम, विरह र उदासी साथै जीवनका तीतो वास्तविक कथालाई संसारभरि कवितामार्फत सुनाउन चाहन्थे ।

पाब्लो नेरुदालाई सन् १९७१ मा स्विडिस एकेडेमीले ‘आफैंभित्र रहेको मौलिक शक्तिबाट नै महादेशको भाग्य र सपनाहरू परिवर्तन हुन्छन्’ भन्ने कविताको लागि नोबेल पुरस्कारबाट सम्मानित भएका थिए । २३ सेप्टेम्बर १९७३ मा चिलीको सैंन्टियागोमा नोबेल पुरस्कार प्राप्त गरेको २ वर्ष बित्न पनि नपाउँदै पाब्लो नेरुदाको भौतिक शरीरले यस संसारबाट बिदा लियो ।

पाब्लो नेरुदाको प्रमुख कृतिः

पाब्लो नेरुदाको प्रमुख कृतिहरूमा ‘आइला नेग्रा’, ‘हेयर द रेन इज वोर्न द मुन इ द लेविरिन्थ एल’, ‘द हटर आफ्टर रुट्स क्रिटिकल सोनाट’ ‘ट्वेन्टी लव पोयम्स एन्ड द सन्ग अफ डेस्पेयर’ ‘रेजिडेंस अन अर्थ’, ‘रिंगस’ ‘केंटो जनरल’ ‘दि कैप्टेस वर्सेस र फुली एम्पावर्ड’, ‘एटेम्प्ट अफ दि इन्फिनिट म्यान’ ‘इलिमेन्टरी ओड्स’ साथै उनको आत्मकथा ‘मेमाँयर्स’ कालजयी कृतिहरू हुन् । स्पेन र चिलीका सडकमा गितारका साथ पाब्लो नेरुदाका कविता न गुनगुनाउने सायद युवाहरू थिएनन् होला तर पनि उनका आलोचकहरू पनि त्यत्तिकै थिए । उनका कृतिहरू प्राय गरेर विश्वका सबै भाषामा अनुदित भएका पाइन्छ । पाब्लो नेरुदाको विश्व प्रसिद्ध कृति ‘पिक अफ माचु पिच’ र ‘क्यान्टो जनरल’ ले विश्वका धेरै कविहरूलाई प्रभाव पार्नुको साथै विश्वभरका कविताका हजारांै अनुरागीहरू पाब्लो नेरुदासँग प्रतिध्वनिका साथ प्रतिसाक्षात्कार गरिरहेका छन् ।

पाब्लो नेरुदाका कविताका प्रकृतिः

पाब्लो नेरुदाले प्रेम, समय, विध्वंस तथा एक्लोपन जस्ता विषयमा गहिरो अध्ययनपश्चात् नै कविता लेखन यात्रालाई अगाडि बढाएका हुन् । पाब्लो नेरुदा विश्व साहित्यको आकाशमा १९ औँ शताब्दीमा स्पेनिस कवितालाई हेर्ने अप्राकृतिक भूगोलका आँखामा लगाइएका संकुचित तुवाँलोका काला चस्मा हटाएर प्राकृतिक सुगन्धका स्वर्णिम किरणलाई संसारभरि फैलाउनु र बिसौं शताब्दीमा सुपरिचित लयात्मक शैलीलाई स्थापित गर्न चाहन्थे । पाब्लो नेरुदाको कविताले दक्षिण अमेरिका महादेशका महिला पुरुषद्वारा प्रकट गरेका स्थानीय आकांक्षा र उनीहरूसँग सम्बन्धित नियतिको प्रतिनिधित्व साथै मानवीय संवेदनाप्रति सम्मान प्रकट गरेको छ । पाब्लो नेरुदाको कविताभित्र जीवनका आरोह र अवरोह, सद्भाव, वेदना, राजनीतिक तथा सामाजिक विखण्डन साथै साम्यवाद, दमन तथा शोषणका क्रिया, प्रतिक्रिया ओतप्रोत भएका पाइन्छ । उनका कवितामा एकातर्फ मानव जीवनका आयाम प्रेम, संघर्ष, बलिदान, आशा तथा निराशाका विम्बलाई प्रस्फुटित गराएका छन् । अर्कोतर्फ बिसौँ शताब्दीका महान संघर्ष र बलिदानको गर्भबाट जन्मिएको दक्षिण अमेरिका महादेशको भाग्य सपना, जीवन प्रणाली, संस्कृति र जनसंघर्षका परिवेशलाई वर्णन साथै आम मान्छेका सामाजिक न्यायका आवाजलाई उजागर गरेका छन् । पाब्लो नेरुदाका प्रेम कविता सम्पूर्ण मानव समुदायका मानवीय गरिमा र अदम्य जिजीविषासँग सम्बन्धित रहेका छन् । पाब्लो नेरुदा भन्छन्, ‘एउटा वास्तविक र यथार्थ कृतिले अनन्त भूगोललाई बिर्सन सक्दैन ।’

तिमी सारा फूलहरूलाई कुल्चन सक्छौ तर वसन्तको आगमनलाई रोक्न सक्दैनौ –पाब्लो नेरुदा

बिसौँ शताब्दीका लोकप्रिय कविको रूपमा उनले जुन नाम र इज्जत कमाए सायद अन्य कविहरू त्यो उचाइमा पुग्न त्यति सफल भएको पाइँदैन । उनको जति चर्चा, परिचर्चा, प्रख्याति र विवाद सायद संसारमा अरु साहित्यकारको भएको पाइदैन । पाब्लो नेरुदाले बन्द कोठा, सीमित व्यक्तिका माझ र स्पेन तथा चिलीका गल्लीमा लाखौं मानिसहरूको समक्ष कविता वाचन गर्दथे । कवितालाई दोहोराउँथे । लोकप्रियता र साहित्यिक गुण सबै लेखकमा पाइँदैन तर पाब्लो नेरुदा दुवै विशेषताबाट विभूषित थिए । उनमा लोकप्रियता र साहित्यिकता अद्भूत संगम थियो । उनी प्रेम कविताका गायक र नायकका रूपमा कविताका पारखीले चिन्दछन् । प्रेमको सम्बन्धमा पाब्लो नेरुदा भन्छन्, ‘प्रेम शब्द कति सङक्षिप्त छ र बिर्सन कति लामो समय लाग्ने ?’ । मीठो मदिरा, सुन्दर नारी र उत्पीडित मानिसलाई औधी माया गर्ने पाब्लो नेरुदाका कविताका हरफहरू विगत ५० वर्षदेखि हजारौं प्रेमीप्रेमिकालाई आफ्नो प्रेम उजागर गर्ने स्वर्णिम अवसर बनेका छन् ।

पाब्लो नेरुदाका केही कविताः

साहित्यको अन्तिम फैसला समयले गर्छ भनेझैं पाब्लो नेरुदाको मृत्यको ५ दशकपश्चात् विश्व साहित्यमा उनको ख्याति र प्रतिष्ठा कम भएको छैन । आज पनि लाखौं पाठक संसारभरि रहेका छन् । उनको साहित्यले समयलाई पार गरेर अगाडि बढ्ने क्षमता राख्दछ । निसन्देह पाब्लो नेरुदाको रचना हाम्रो संस्कृतिभन्दा भिन्न छ तर भावना र मानवीयताको दृष्टिबाट अभिन्न छ । भाषा भिन्न छ तर स्वर र व्यञ्जनबाट अभिन्न छ । यही विदेशी कला, संस्कृति र साहित्यको पदचिन्हले कुनै पनि देशको कला, संस्कृति र साहित्यमा एउटा नयाँ सौन्दर्यपूर्ण अनुभवको सृष्टि गराउँछ । आजको रात म लेख्न सक्छु, सबैभन्दा विरक्त पंक्तिहरू :

म उनलाई स्नेह गर्थे,
उनी पनि मलाई कहिलेकाहीं स्नेह गर्थिन् ।
ती विरक्त रातमा उनलाई काखमा राख्दै,
अनन्त आकाशमुनि बारम्बार स्पर्श गर्थे ।

पाब्लो नेरुदाको साहित्य, सिर्जना तथा सिर्जनाको सुन्दरतालाई एउटा आलेखमा उतार्न सम्भव छैन । उनका कतिपय कवितामा बर्बादीका काला छाया, मिलनका स्वेत जोडी, एकांकीपन, विस्थापितका पीडा बिम्बित छन् । दक्षिण अमेरिकी मुलुकका अध्याँराका बिचबाट अदम्य आशा, अघोर विश्वास र मानवताप्रतिको उज्यालो आस्थालाई बचाउँदै सुन्दर भविष्यसँग अखण्ड श्रद्धा जनाएका छन् । भविष्यसँग आशावादी हुँदै उनी भन्छन्, ‘भोलि फेरि आउने छ उज्याला पदचापहरू लिएर, सूर्योदयको नदीलाई कोही रोक्न सक्दैनन् ।’ आफ्नो प्रसिद्ध कविता ‘केही प्रश्नहरू’ मार्फत् प्रकृतिमा हुने दुई असमान घटना विनाश र निर्माणलाई साथ साथै प्रस्तुत गराउँदै मानिसका अतृप्त बाँच्ने चाहनामा विश्वास राख्दै अन्ततः जरा उज्यालोतर्पm चढ्नैपर्छ र वसन्तलाई अनेकौं रंग र फूलहरूले स्वागत गर्नैपर्छ भन्दै जीवनभर पाब्लो नेरुदाले स्वतन्त्रता र मानवताको गीत निर्धक्ताका साथ गाए । बिसौँ शताब्दीको प्रारम्भिक स्पेनको अतियथार्थवादी आन्दोलन र उतरार्धको दक्षिण अमेरिकाको आश्चर्यजनक यथार्थवादबीचको अर्थान्वित सम्बन्धलाई ‘एउटा महिलाको शरीर’ नामक कवितामा वर्णन गर्दै पाब्लो नेरुदा लेख्छन्ः

सेतो पहाडजस्तो तिम्रो शरीर अनि तिम्रो सेतो जंघा
हेर्दा लाग्छ, तिमी आत्मसमर्पण गरिएको संसार जस्ती ।
पाब्लो नेरुदा र जनकविः

वास्तवमा जनकवि उनलाई भनिन्छ जसले प्रेमलाई क्रान्ति र क्रान्तिलाई प्रेमको रुपमा मान्छन् । पाब्लो नेरुदाले प्रेम र क्रान्तिलाई फरक धार नमानीकन एउटै नदीका दुई किनारमा उठ्ने छालको रूपमा लिए । पाब्लो नेरुदाको कविताले ल्याटिन अमेरिकी समाजलाई मात्र छोएन । उनका कविताले कवितालाई माया गर्ने लाखौं मन र हृदयलाई छोएको देखिन्छ । पाब्लो नेरुदा त्यस्ता कविमध्येका कवि थिए जसले कविताको पोसाक लगाएर संसारको सुन्दरता बढाउने कार्य गरे । पाब्लो नेरुदा लेख्छन्ः

मलाई माया छ
जुन मायामा दुई ओठको मीलन हुन्छ
जमिन र रोटीमा बाँडिएको हुन्छ ।
जुन अनन्त र छोटो हुन्छ
प्रेम जो फेरि प्रेम गर्न आफैंलाई स्वतन्त्र चाहन्छ
ईश्वरीय प्रेम जसले एक अर्कालाई नजिक ल्याउँछ
दिव्य प्रेम जो टाढा जान्छ ।
पाब्लो नेरुदा र प्रकृतिः

पाब्लो नेरुदा प्रकृतिका अनुरागी भएकाले आफ्ना रचनामा प्रकृति र प्रकृतिप्रतिको असीम प्रेमलार्ई घना तथा फराकिला जंगल, हरिया पात, मौन र नीलो समुन्द्र, ताल, एन्डिज पर्वत, माछा, चरा, सिपी आदि भौतिक विम्ब तथा सूर्यको किरणमार्पmत् प्रस्तुत गरेका छन् । पाब्लो नेरुदालाई चिलीको माटो र त्यस माटोमा अवसर खोजिरहेका संघर्षशील अनुहारप्रति अगाध माया थियो । उनी आफ्नो देशको भूगोलसँग कणकणमा परिचित थिए । आफ्ना भूमिगत जीवनकालका असंख्य त्रासदीपूर्ण आरोहअवरोहका चित्र र रहस्यमय यात्राको दौरानमा देशको प्राकृतिक सुषमाबाट विस्मृत भएका थिएनन् । पाब्लो नेरुदा संसारका पहिलो कवि हुन् जसले माचू पिच्चूमा अवस्थित प्राचीन खण्डहरको लामो र कठिन यात्रा गरी ल्याटिन अमेरिकी सभ्यता र गरिमालाई उजागर गरेका छन् । माचू पिच्चुको शिखर कविता संग्रह जुन (इङका सम्भयतासँग सम्बन्धित ऐतिहासिक स्थल) एउटा महत्वपूर्ण दस्तावेजका रूपमा लिइन्छ ।

चिलीको क्रान्तिमा प्रवेशः
‘अब म कसरी फूल र सुगन्धको कुरा गरौं,
जब कि मैले देखिरहेको छु,
स्पेनको सडकमा,
हजारौं निर्दोष बालबालिकाका रगत बगिरहेको छ ।’

जनरल फ्रान्कविरुद्धमा लेखिएको कविता सन् १९२० मा चिलीमा भएको राजनीतिक संकट, कुशासन र चरम आर्थिक मन्दीको मारमा पिल्सिएका जनताका पक्षमा सडक तताएका विद्यार्थीहरूको आन्दोलनलाई तत्कालीन राष्ट्रपति जुआन लुइस सैन प्युएन्टसले पाशविक र निर्मम तबरबाट दमन गरेका थिए । त्यही क्रूरताको प्रतिक्रियास्वरूप जनताका पक्षमा उभिएका विद्यार्थीहरूका सम्मानका लागि ‘उत्सव’ कविता लेखे । यही राजनीतिक उथलपुथलबाट उदय भएको चिलीको वामपन्थी आन्दोलनको यात्रा सन् १९७० सम्म आइपुग्दा पाब्लो नेरुदा एक राजनीतिक खम्बा र क्रान्तिकारी योद्धाका रूपमा परिचित हुन पुगेका थिए । पाब्लो नेरुदा जीवनभर वामपन्थी पार्टीको सदस्य रहेर तत्कालीन राष्ट्रपति गै्रबियल गौजालेस विद्ला सत्तामा रहिन्जेलसम्म उनको विरोध गरे । फलतः उनलाई देश निकाला गरियो । पुनः चिलीमा आगमनपश्चात् सोसलिस्ट नेता साल्भाडोर अलेन्द्रोको खुला समर्थन र असल मित्र बने । पाब्लो नेरुदाले चिलीमा भएको सन् १९७० को परिवर्तनपछि साल्भाडोर अलेन्द्रोका लागि राष्ट्रपति पद त्याग गरिदिएका थिए । पाब्लो नेरुदाका जीवनका धेरै वर्ष भूमिगत हुँदै र निर्वासनमा नै बित्यो ।

कम्युनिस्ट विचारधाराप्रति अनुराग भएका पाब्लो नेरुदाका हरेक कार्यमा प्रेमको नयाँ परिभाषा कोर्दा ल्याटिन अमेरिकाका शोषित र दमित जनताका आक्रामक आवाजलाई सम्बोधन गरेका थिए । स्पेनिस नाटककार लोर्काले पाब्लो नेरुदाको कविता मसीद्वारा लेखिएका हुँदैनन्, बरु ल्याटिन अमेरिकी जनताका रगतबाट लेखिएका र बोलिएका हुन्छन् भनेर भनेका थिए । पाब्लो नेरुदाको कवितामा प्रेम र क्रान्तिको विराट समन्वय भएको देखिन्छ । पाब्लो नेरुदा दोस्रो विश्वयुद्ध समाप्तिपछिको शीतकालीन समयमा शब्दको अस्त्र लिएर मानवताको विरोधमा उदाएको तानाशाही शासन, साम्राज्यवाद र वैदेशिक हस्तक्षेपविरुद्ध उभिएका महान् योद्धा थिए । साथै क्रान्तिकारिताका अन्वेषक थिए ।

त्रासदीपूर्ण जीवनका अन्तिम दिन :

‘जनताको एकताबद्धतालाई संसारको कुनै पनि शक्तिले हराउन सक्दैन… भन्ने गीतले नेरुदाको जीवनका अकल्पनीयता र नाटकीयताका अन्तिम वर्षहरूको स्मरण गराउँछ । कतिपय सन्दर्भमा आफ्ना विचारधाराको कारणले उत्पन्न समस्यासँग जुध्नुपर्‍यो । चिलियनको इतिहासमा पहिलो पटक साल्भाडोर एलेन्डको नेतृत्वमा कम्युनिस्ट सरकारको गठन र फ्रान्सका लागि राजदूत नियुक्त तथा सन् १९७१ मा विश्व साहित्यमा नोबेल पुरस्कारबाट सम्मानित हुन पुगेका थिए । चिलीमा साल्भाडोर एलेन्डको कम्युनिस्ट सरकारलाई ‘कू’ पश्चात् सैनिक जनरल अगस्टो पिनचेको तानाशाही सुरुआत र जनरल अगस्टो पिनचेको अमानवीय दमनको पीडामा राष्ट्रपति साल्भाडोर एलेन्ड मृत्यु र मृत्यसँगै हजारौं साल्भाडोर एलेन्ड समर्थकलाई मृत्यको घाटमा पु¥याइएको थियो । यी जनसंहारलाई क्यान्सर पीडित पाब्लो नेरुदाले बन्द कोठामा बसेर अन्त्यका लागि प्रार्थना गर्नु र आफ्नो मृत्युको प्रतीक्षामा बस्नुबाहेक उनीसँग विकल्प थिएन । अन्ततः राष्ट्रपति साल्भाडोर एलेन्डको मृत्यु भएको १२ दिन पछि पाब्लो नेरुदाले सदाको लागि यस संसारबाट बिदा लिए । कडा सैनिक कफ्र्यु र दमनबीचबाट नेरुदाका केही साथीहरूले आफ्ना प्रिय कवि तथा नेताको लासलाई सडकमा लिएर निस्कदा हजारौं प्रशंसक र समर्थकहरू निर्भयताका साथ सडकका हरेक कोण र प्रतिमोडमा उभिएर निसासिएको घाँटीबाट अन्तिम पटक कम्युनिस्ट शक्तिको गीत गाउँदै पाब्लो नेरुदा विदको पार्थिव शरीरलाई बिदाइ गरेका थिए । जुन गीत क्रान्तिको कालखण्डमा धेरै पटक आफ्ना साथीसँग पाब्लो नेरुदाले गाएका थिए :

आजको रात म लेख्न सक्छु सबैभन्दा विरक्त पंक्तिहरू

म लेख्न सक्छु कि, तारामय छ यो रात र ती नीला ताराहरू काँपिरहेछन् कतै टाढा ।

Related News

सम्बन्धित समाचार

hero news full width