नवलपुरमा २५ सय हेक्टर वन सखाप

रामकुमार श्रेष्ठ
वैशाख १४, २०८१
nawalpur aaglagi (1)

फाइल

नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ ।

डिभिजन वन कार्यालय नवलपुरका अनुसार अहिले नवलपुरमा ८० प्रतिशत बढी वन सामुदायिक वन, मध्यवर्ती वन, कवुलियती वन लगायत समुदायमा आधारित वन छन् । तीमध्ये १ सय वटा बढी सामुदायिक वनमा आगलागी भएको र २ हजार ५ सय ५३ हेक्टर बढी वन क्षेत्र डढेलोले सखाप भएको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले बताए ।

उनका अनुसार मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेका वनहरु डढेलोबाट बढी प्रभावित भएका छन् ।

नवलपुरमा रहेका २ सय ९ वटा सामुदायिक वनमध्ये ७० वटा बढी सामुदायिक वनमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका सचिव सुशील पौडेलले बताए ।

चैतको दोस्रो साताबाट नवलपुरमा डढेलो लाग्न सुरु गरेको हो । अहिले दैनिक सरदर १५÷२० ठाउँमा वनमा डढेलो लाग्ने गरेको छ । अहिले बढ्दो गर्मी, तातो हावासँगै डढेलो झन् बढी सल्केको देखिन्छ ।

जंगलको डढेलो गाउँमा सर्ने जोखिम

कतिपय गाउँहरु जंगलको बीचमा वा जंगल नजिक रहेका कारण जंगलमा लागेको आगो गाउँमा सर्ने उत्तिकै जोखिम छ ।

देशभर जंगलमा लागेको आगो गाउँमा सरेर गाउँनै सखाप भएको जोखिमका घटना सार्वजनिक भएझैं नवलपुरमा पनि यस्ता साना ठूला घटनाहरु भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

जंगलमा लागेका आगो गाउँमा सल्केका घटनाहरु पनि नवलपुरमा बेलाबेलामा हुने गरेको छ । तीमध्ये मध्यविन्दु नगरपालिका १४ चनौटेमा जंगलका आगो गाउँमा आउँदा १२ घरगोठ जलेर नष्ट भएको थियो ।

डढेलोको मुख्य कारण मानवीय सचेतना अभाव

जंगलमा लाग्ने गरेको डढेलो मानवीय सचेतना अभाव नै मुख्य कारक हुने गरेको वनकर्मीहरु बताउँछन् ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका सचिव सुशील पौडेलका अनुसार च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढी मात्रामा जंगलमा डढेलो लगाउने गरेको भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनाको प्रकृति हेर्दा मानवीय लापरवाही नै जंगलमा बढी डढेलो लाग्ने गरेको बताए । उनले भने – ‘डढेलोको मुख्य कारण मानवीय नै हो, तर मान्छे भेटिँदैन । आगो लगाएर गएको १/२ घण्टा पछि डढेलो लागेको थाहा हुन्छ । हामी पुग्दा मान्छे कहाँ पुगिसकेका हुन्छन् । कस्ले लगाइदियो थाहै हुन्न ।’

स्याउला सोत्तरहरु निकाल्ने र मलको रुपमा प्रयोग गर्ने गरेका र अग्निरेखा बनाएका वनहरुमा डढेलो कम लागेपनि स्याउला सोत्तर ननिकालेका र बेलाबेलामा सरसफाई नगरेका वनहरुमा बढी डढेलो लाग्ने गरेको वन अधिकृत लम्सालको अनुभव छ ।

डढेलो नियन्त्रणमा साधन समस्या

नवलपुर जिल्लामा कावासोती नगरपालिमा मात्रै एउटा दमकल छ । अहिले त्यो दमकललाई आगो निभाउन जान भ्याइ नभ्याई भएको देखिन्छ ।

कावासोती आसपासको क्षेत्रमा र बाटोको सहज पहुँच भएको क्षेत्रमा आगलागी हुँदाम वनको डढेलो नियन्त्रण गर्न दमकलको ठूलो भूमिका भए पनि ग्रामिण क्षेत्र पहाडी क्षेत्र र बाटोको सहज पहुँच नभएको क्षेत्रमा स्याउला र माटोकै भरमा आगो निभाउनु पर्ने र आगो अन्त पास हुन नदिने लाइन कोर्ने र छेक्ने गरेको भरमा आगो निभाउनु परेको प्रहरी उपरीक्षक नरहरि रेग्मी बताउँछन् ।

पहाडी क्षेत्र र भिरालोमा आगो नियन्त्रणका लागि साधनको समस्या हुने गरेको वन अधिकृत लम्साल बताउँछन् । वनमा आगो निभाउन सामुदायिक वनको उपभोक्ताहरुको बढी भर पर्ने अवस्था रहेको उनले बताए ।

केही सामुदायिक वनहरुले ट्याक्टर टेंकर राखेर आगो निभाउन अग्नि नियन्त्रकको रुपमा प्रयोग गरे पनि पानी नै मुख्य समस्याको रुपमा देखिने गरेको लम्सालको अनुभव छ ।

डढेलो नियन्त्रणका लागि राज्य पक्ष नै प्रमुख जिम्मेवार नहुनु, सामुदायिक वनमा उपभोक्ताहरुका अपनत्व गराउन नसक्नु, समितिको मात्रै हो कि जस्तो डढेलो नियन्त्रणमा ल्याउन समस्या भएको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका सचिव सुशील पौडेलले बताए ।

तल्लो तहसम्म सचेतना जगाउने, अग्निरेखा बनाउने, गर्मी मौसम सुरु हुनु अघि नै जंगलका सोत्तरहरु मलको रुपमा झिकेर प्रयोग गर्न सके वनमा डढेलो लाग्नबाट रोक्न धेरै हदसम्म सफल हुन सकिने पौडेलको अनुभव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै