मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयमा उनले विश्वासको मतको प्रस्ताव पेस गर्ने जानकारी गराइसकेका छन् । उनको विश्वासको मतको प्रस्ताव कार्यसूचीमा चढिसकेको सचिवालयले जनाएको छ । आइतबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको हो । एमाले र माओवादीले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । शनिबार दुबै पार्टीको बैठक संसदीय दलको कार्यालयमा बसेको हो । ‘सबै सांसदहरुलाई ह्वीप जारी गरिएको छ,’ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने, ‘बाँकी काम विश्वासको मतपछि अघि बढ्छ ।’

माओवादीले पनि सातै सांसदलाई ह्वीप जारी गरेको प्रमुख सचेतक कुसुम बुढाले बताइन् । शुक्रबार पनि माओवादीको बैठक बसेको थियो । तर नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा उक्त बैठकमा सहभागी नभएकोले पुनः शनिबार अर्को बैठक बसेको हो । ‘माननीय ज्यूलाई अघिल्लो बैठकको निर्णयबारे जानकारी गरायौं । त्यसपछि विश्वासको मत दिन ह्विप जारी गरेका छौं,’ उनले भनिन्, ‘आइतबार समयमै उपस्थित हुन सबैलाई आग्रह गरेका छौं ।’ देवकोटा आफू फरक दलको भएकोले माओवादीबाट अलग्याउन माग गर्दै आएका थिए । तर उनको माग उपर सम्बोधन भएको छैन ।

माओवादीले ३ मन्त्रालय माग्यो
विश्वासको मत अघि नै मन्त्रालयको टुंगो लगाउनुपर्ने माग माओवादीको छ । अहिले कायम रहेका ७ मन्त्रालयमध्ये कम्तीमा ३ मन्त्रालय माओवादीले मागेको छ । दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्रालयको जिम्मेवारीमा छन् । बाँकी २ मन्त्रालयको नाम नटुंगिए पनि दलहरुबीच मन्त्रालयको संख्या भागबण्डा मिलाउनुपर्ने प्रमुख सचेतक कुसुम बुढाले बताइन् । ‘मन्त्रालयको नाममा पछि कुरा गरौंला तर मन्त्रालयको संख्यामा सहमति हुनुपर्छ भनेका छौं,’ उनले भनिन्, ‘३ मन्त्रालयमा हाम्रो दाबी हो ।’ २०७९ को चुनावपछि बनेका २ सरकारमा माओवादीका २ मन्त्री मात्रै थिए । अहिले कम्तीमा ३ मन्त्रालय माओवादीले पाउनुपर्ने बुढाको भनाइ छ ।

मन्त्रालयको बाँडफाँट र अन्य राजनीतिक विषयमा छलफल गर्न एमाले र माओवादीका संसदीय दलका नेताबीच वान टु वान बैठक बसेको छ । मुख्यमन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारी र अर्थमन्त्री तथा माओवादी दलका नेता हरिबहादुर चुमानबीच भेटवार्ता भएको हो । तर अधिकारीले विश्वासको मतपछि मात्रै मन्त्रालय टुंग्याउने बताएका छन् ।

के गर्ला राप्रपा ?
केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिलेको सरकारलाई राप्रपाले समर्थन नगर्ने दाबी गरेका छन् । यद्यपि प्रदेशस्तरीय नेताहरुले भने विश्वासको मत दिन सक्ने बताएका छन् । ‘भोट दिने औपचारिक निर्णय भएको छैन । केन्द्रबाट निर्णय आएको छैन,’ दलका नेता पञ्चराम गुरुङले भने, ‘अध्यक्ष ज्यूले उपयुक्त समयमा जानकारी आउँछ भन्नुभएको छ । हामी कुरिरहेका छौं ।’ उनी अहिलेको गठबन्धनमा सकारात्मक छन् । यद्यपी केन्द्रको निर्णय मान्नुपर्ने अवस्थामा राप्रपा छ । गुरुङ अधिकारीको पहिलो कार्यकालमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री थिए ।

कांग्रेसको बैठक आइतबार
कांग्रेसले आइतबार नै दलको बैठक बोलाएको छ । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आइतबार बस्ने बैठकबाट विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने बताए । ‘दलको बैठक आइतबार छ । बैठकले निर्णय गरेर ह्वीप जारी हुन्छ,’ उनले भने, ‘कांग्रेस विपक्षमा उभिन्छ ।’

राप्रपाले मत नदिए अधिकारी सरकारलाई विश्वासको मत पुग्दैन । सर्वोच्चले यसअघि गरेको आदेशमा अन्योल भएका कारण सत्ता गठबन्धनले सभामुखलाई ३० सिट नै बहुमत भएको घोषणा गर्न लाउने सम्भावना छ । यदि त्यस्तो भए मुद्दा पुनः अदालत पुग्छ । गठबन्धन नेताहरु ३० सिट बहुमत भन्छन् भने कांग्रेसले ३१ सिट अनिवार्य चाहिने भनेको छ । संविधानले पनि संसदमा कायम सदस्यको ५० प्रतिशत कटेमात्र बहुमत हुने भनेको छ ।

गण्डकीको संसद ६० सिटे छ । माओवादीका सांसद कृष्ण धिताल सभामुख छन् । एमाले माओवादीले सभामुखलाई छोडेर अरु सांसद गन्नुपर्ने बताएका छन् । गण्डकीको बहुमत ३० कि ३१ भन्नेमा कानुन व्यवसायीहरु पनि विभाजित भएका छन् ।

विश्वासको मतअघि खगराजले बाँडे ५० लाख
विश्वासको मत लिनुअघि खगराज अधिकारीको सरकारले करिव ५० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । शनिबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले ५० लाख हाराहारी वितरण गरेको हो । केही रकम थपघट हुन सक्ने बताइएको छ । यस्तै, बैठकले प्रदेश विकास समस्या समाधान समितिमा सदस्य नियुक्ति गरेको छ । ६ जना सदस्य थप गर्ने निर्णय भएको हो । प्रदेश निजामती कितावखानामा कर्मचारीको विवरण अखिलेखीकरण गर्ने सम्बन्धी प्रस्ताव पनि शनिबार पारित गरिएको छ । साविकमा स्थानीय निकायबाट समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारीको विवरणका लागि यसले बाटो खोलिदिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width