वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
begnashtal

पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

वेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले चौंथो वार्षिक साधारणसभा शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले वेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढिरहेको बताउँदै विकास क्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष ध्रुुवनाथ अधिकारीले लेखनाथ क्षेत्रका सात तालमध्येको ठूलो वेगनास जलसम्पदा, प्राकृतिक सुन्दरता, जैविक विविधता एवं साधनस्रोतका दृष्टिबाट महत्वपूर्ण सम्पत्ति बताए । तालसँगै यहाँस्थित धार्मिक महत्वको वराह मन्दिरका साथै लक्ष्मीनारायण मन्दिर समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी पूर्वाधार निर्माण कार्य अघि बढिरहेको बताए ।

सो क्षेत्रको समग्र विकासका लागि २०७५ मंसिरमा सञ्चालित महायज्ञसँगै संकल्प गरिएका अधिकांश काम सम्पन्न भएको उनले बताए । आगामी वर्ष वेगनासताल क्षेत्र वरपरका धार्मिक शक्तिपीठ, मठमन्दिर, देवालय एवं गुम्बाको समग्र विकासका लागि गुरुयोजना सहितका डिपिआर निर्माण एवं आर्थिक सहयोगका लागि स्थानीय एवं प्रदेश सरकार अनुरोध गर्ने कार्ययोजना रहेको उनले बताए । वेगनासमा रिङरोड निर्माण गर्दै पर्यटन प्रवद्र्धन गर्न सम्बन्धित निकायमा पहल गरिने उनको भनाइ छ ।

पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडलले वडाभित्रका धार्मिक सम्पदाको संरक्षणसँगै तिनीहरूको पूर्वाधार विकासलाई वडाले प्राथमिकतामा राखेको बताए ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा इन्द्रप्रसाद तिवारीले सबै किसिमको रोजगारीका लागि पर्यटन महत्वपूर्ण क्षेत्र हो भने ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका अधिकारी, नागरिक परोपकार समन्वय संस्था अध्यक्ष चिरञ्जीवी अधिकारी, वेगनासताल वराह महाआरति संयोजक राममणि अधिकारी, वराह मन्दिर निर्माण समिति संयोजक सुरेन्द्र सापकोटा, निवर्तमान वडाध्यक्ष कमलबहादुर थापा, शिव गोरक्षपीठ सिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी, लेखनाथ होटेल तथा रेस्टुरेन्ट एसोसिएसन अध्यक्ष वीरभद्र कँडेल लगायतले वेगनास वराह लगायत धार्मिक गन्तव्यलाई पर्यटनसँग जोड्नुुपर्ने आवश्यकता औंल्याए । संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शान्ति ढकालले गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष मित्रलाल भण्डारी पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width