पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
cm budget

पोखरा । प्रदेश सरकारको बजेट ल्याउने बेला भइसकेको छ । यसका लागि सरकारले आन्तरिक तयारी पनि थालेको छ । अधिकारी सरकारले निरन्तरता पाउने नि नपाउने टुंगो लाग्नै बाँकी रहे पनि बजेट निर्माण प्रक्रिया थालिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको मात्र नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा सरकार जुटेको बताएका छन् ।

उनले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दाबी गर्नुभयो ।
‘चालु आर्थिक वर्ष नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रुपमा कार्यान्वयन हुने अवस्थामा देख्दिन,’ उनले भने ।

यो आर्थिक वर्षमा देखिएको समस्यालाई गम्भिरतापूर्वक मूल्याकंन गरेर आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने उनको भनाइ छ । बजेटको लागि सिद्धान्त र प्राथमिकताहरू तोक्ने नीति कार्यक्रम बनाउने र बजेट निर्माण गर्ने काम अब तुरुन्त थाल्नुपर्ने उनले सुनाए ।
पहिलो पञ्चवर्षीय योजना समाप्त भएर दोस्रो पञ्चवर्षीय योजना बनाउने काममा सरकार रहेकोले झण्डै २५ लाख जनसंख्याले लाभ लिने गरी बजेट बनाउनुपर्ने उनको भनाइ थियो ।

बहुवर्षीय योजनाका नाममा स्रोत र आवश्यकतालाई ध्यान नदिँदा समस्या भएको मुख्यमन्त्री अधिकारीले औंल्याए ।सरकार परिवर्तनको समयमा आर्थिक अनुशासन तोडेरै काम भएको आरोप उनले लगाए । तर अधिकारी पछिल्लोपटक मुख्यमन्त्री बनेपछि पनि १ अर्बभन्दा बढीका योजन बहुवर्षेमा लगेका छन् ।
‘बहुवर्षीय योजनाका नाममा, नेताहरुको पहुँचको भरमा, आवश्यकता छ कि छैन, स्रोत छ कि छैन नहेरी, जाँदा–जाँदै साथीहरूले वित्तीय अनुशासन नियमलाई कार्यान्वयन नगरेरै काम भएका छन्,’ उनले भने ।

शुक्रबार मात्र यस विषयमा मन्त्री र सचिवलाई राखेर कुरा गरेको उनको भनाइ थियो । ‘भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका सचिव र मन्त्रीलाई राखेर कुरा गरे, झण्डै ३२ अर्ब भन्दा बढीको बजेट बनाउन सक्दैनौं होला अनि आधाभन्दा बढी रकम त्यहीं खर्च हुन्छ, नयाँ काम हामीले केही गर्न नसक्ने गरी बोझ थुपार्न खोजिएको छ,’ उनको गुनासो थियो ।
चालु आयोजना पूरा नहुने, नयाँ योजना सुरु गर्न नसक्दा सरकारको औचित्यमाथि नै प्रश्न खडा हुने भएकोले त्यसलाई ध्यान दिएर आफूले काम गर्न खोजेको उनले सुनाए । पर्यटनको राजधानी रहेको गण्डकी प्रदेश पर्यटनका दुई महत्वपूर्ण विषयवस्तु प्रकृति र संस्कृतिमा धनी प्रदेश रहेको उनले बताउनुभयो । यहाँ भएका सम्पदालाई बलशाली बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्दै महत्वलाई अझ व्यापक बनाउदै नयाँ पुस्तालाई देश र जनताप्रति आस्था जगाउन खालका काम आफने नेतृत्वको वर्तमान सरकारले गर्ने बताए ।

ऊर्जामा अन्य प्रदेशभन्दा गण्डकी अगाडि रहेको भन्दै वैकल्पिक ऊर्जा, हाइड्रो लगायतबाट समेत राम्रो लाभ लिन सकिने उनको विश्वास छ । प्रदेशमा भएका कृषि उपजलाई आन्तरिक बजारीकरण गर्ने तथा यहाँका उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा लैजान काम गर्ने उनको भनाइ थियो ।

‘बहुआयामिक महत्वका जडिबुटीहरु हामीसँग रहेका छन्, तीनलाई हामीले एग्रो फरेस्टमा परिवर्तन गर्ने, परम्परागत कृषि प्रणालीलाई व्यावसायिक गर्ने, यान्त्रीकिकरण गर्ने र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्था ल्याउनुपर्छ,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width