त्रासैत्रासमा तंग्रिदै कागबेनी

धनबहादुर गुरुङ
वैशाख १४, २०८१
Kagbeni Photo 2

पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय, मुुस्ताङका अनुसार बुधबार जोमसोममा ४.४ मिलिलिटर वर्षा भयो । सोमबार र मंगलबार पनि छिटपुट पानी पर्‍यो । यो पानीको रेकर्ड भने कार्यालयसँग छैन । जोमसोमदेखि १० किलोमिटर पर कागबेनीमा पनि उस्तै गरी वर्षा भइरह्यो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा पानी पर्दा त्यहाँका बासिन्दाको ध्यान कागखोलामै हुन्छ । जब आकाश कालोनिलो हुन्छ । कागबेनीबासीको मन अमिलो हुन्छ अनि त्रासको ढ्यांग्रो बज्न सुरु गर्छ । स्थानीय रिटिन गुरुङ गतवर्षको साउन २८ को दिन सम्झँदै भन्छिन्, ‘त्यस्तो दिन त कहिल्यै नआओस्, कहाँ जाने कता बस्ने तनाब मात्रै हुन्छ ।’

कागखोलामा आएको बाढीले उनको गरिखाने होटन नै बगायो । उनको घर भने पनि होटल भनेनि त्यही नै थियो । लगातार २ दिनको वर्षापछि लेदोसहित आएको बाढीले उनी बस्ने घर क्षणभर मै खण्डहर बनाइदियो । समयमै खबर आएकाले मानवीय क्षति भने हुन नपाएको इटिन बताउँछिन् ।

अहिले उनी देवरको घरमा बस्दै आएकी छिन् । ‘मेरो श्रीमान्को ४ जना दाजुभाइ हो । हामी पहिल्यै छुट्टिएर बसैको हौं,’ उनले भनिन्, ‘बाढीले घर बगाएपछि देवरको घरमा आएका बसेको छु । यहाँ बस्दा पनि पानी पर्न थालेपछि डर मात्रै लाग्छ ।’

उनका अनुसार हिउँ नपरेपछि पानी पर्दा डर हुन्छ । ‘मुस्ताङमा पछिल्लो समय पानी त परिरहेकै छ । हिउँ नपरी पानी पर्दा अलि डर हुन्छ,’ उनले भनिन्, ‘यो पनि हिउँ परेन पानी मात्र परेको छ । केही हुने हो कि भन्ने त छ । तर, केही नहोस भनी प्राथना गरिहेका छौं ।’ हिउँ पर्दा चिसोले माटो समाएर राख्ने अनि नपर्दा माटो फुक्का हुने हुँदा पानीले छिटो बगाउने उनको भनाइ थियो । जसले गर्दा बाढीको लेदोसहितको बाढीको डर हुने उनले बताइन् ।

कर्मा गुरुङको घर पनि सोही बाढीले बगायो उनी पनि साथीको घरमा आश्रय लिएर बसिरहेकी छिन् । ‘बाढीले घरगोठ सबै बगाएपछि साथीको घर २ वटा थियो । एउटामा अहिले साथीको बसेको छु । बसिरहेको छु,’ उनले भनिन्, ‘क्षतिको विवरण पालिकालाई टिपाउन त टिपाएको छु खै केही सहयोग पाएको छैन ।’

दिनानुदिन पानी परिरहँदा त्रासमा बस्नुपरेको उनको भनाइ थियो । कागबेनी पुरानो अवस्थामा नफर्कंदै फेरि बाढी आउने हो कि भन्ने त्रास रहेको उनले सुनाइन् । उनका अनुसार जलवायु परिवर्तनको असर मुस्ताङले भोग्नुपरेको छ ।

कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, ३ वटा काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । ४६ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको सरकारी तथ्यांक छ ।

कागबेनीलाई पुरानै स्वरुपमा फर्काउन स्थानीय फेन्चोक छेप्तेन गुरुङको संयोजकत्वमा कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समिति गठन गरि काम गरिएको थियो । घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका गुरुङले कागबेनीलाई पुरानै लयमा फर्काउनका लागि देशविदेशबाट १ करोड रुपैयाँ हाराहारीमा सहयोग जम्मा भएको सुनाए ।

कागबेनी पुरानो अवस्थामा नफर्कंदै फेरि बाढी आउने हो कि भन्ने त्रासमा स्थानीय

‘सबैभन्दा पहिले हामीले पुल, बाटो, बिजुली बत्ती, खानेपानी सबै पुरेको थियो । त्यसको व्यवस्थापन गर्‍यौ बस्ने टहरा व्यवस्थापन गरियो,’ उनले भने, ‘विस्तारै विभिन्न ठाउँबाट चन्दा उठ्न सुरु भयो ।

सरकारी पक्षबाट त भन्ने मात्र हो अहिलेसम्म केही पनि आएको छैन् ।’ जति पनि संरचना र पुनस्र्थापनाको काम भइरहेको छ सबै सरबारी बजेट बिना नै बनिरहेको उनले सुनाए । उनले भने, ‘मनकारी मन र सहयोगी हातकै कारण कागबेनी हेर्न र बस्न लायक बनेको छ ।’

छोप्तेनले संकलित रकमबाट डोजरले सम्याउने, थुप्रिएका गेग्य्रान फाल्ने काम गरिरहेको सुनाए । ‘देशविदेशबाट १ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो । पीडितलाई छुट्टै व्याक्तिगत रुपमा पनि सहयोग आएको थियो,’ उनले भने, ‘हामीले जम्मा गरेको पैसाले परिएको घरको गेग्रयान फाल्ने, सम्याउने काम भयो । पुललाई पहिलाको अवस्थामा ल्याउन एउटा बे्रकरलाई २ महिना लाग्यो । टिप्पर, ट्रक भाडामा लगाउँदा सफा गर्ने काममा नै धेरै खर्च भयो ।’

यसको अलावा कागबेनीका बासिन्दा पहिलाकै स्थितिमा फर्कन व्याक्तिगत रुपमा पनि प्रयास गरिरहेको उनले सुनाए । ‘व्याक्तिगत रुपमा पनि आँगन, टहरासँगै भत्किएको झ्याल ढोकाहरु आफैले बनाएका छन् । विस्तारै काम हुँदैछ,’ उनले भने, ‘व्यक्ति र समाज तातेर मात्र के हुने सरकारले डिपिआर बनाउन मान्छे त पठाएको छ । खै अब कहिले हुने हो । प्रधानमन्त्री ज्यूले पनि मुस्ताङ आएको बेला यस्तो गर्छु, उस्तो गर्छु त भनेको छ । तर, खै अहिलेसम्म केही भएको छैन ।’

घरबार विहीन भएकाहरुलाई जग्गा दिने अनि आर्थिक सहयोग गर्ने भनिए पनि अहिलेसम्म केही नभएको उनको गुनासो थियो । ९ जनाको घरसँगै जग्गा बगाएकाले आर्थिक सहयोगबाट उनीहरुलाई कागबेनी नजिकै एक्लेभट्टीको माथि टहरा बनाइदिन लाग्दा सरकारले रोकेको उनले सुनाए । ‘९ जना परिवारलाई घर बनाइदिने भनेर जग्गा खोज्दा सरकारले बाढीपीडितलाई हेर्न त कताकता उल्टै खोजेको जग्गा सार्वजनिक भनेर रोक्यो,’ उनले भने, ‘एक्लेभट्टी माथि १२/१३ वटा घर बन्दै थियो । राज्य काम अघि बढाउन दिएन ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोला नियन्त्रणका लागि छलफल चलिरहेको बताए । ‘कागखोलाले जती क्षति पु¥यायो पु¥याइहाल्यो । अब बाँकी रहेका संरचना बचाउनेसहित खोलाको क्षेत्रलाई पनि फराकिलो बनाएर नियन्त्रणको काम गर्ने हो कि भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘त्यहाँ लालपुर्जा भएको जग्गाले समस्या भएको छ । एक चरणमा ३÷३ मिटर छोडेर काम गर्ने मौखिक सहमति भएको छ ।’

यसका लागि प्रदेश र संघीय सरकारसँग पनि समन्वय भइरहेको उनले सुनाए । ‘स्ट्रक्चर कसरी बनाउने भनेर प्रदेशसँग पनि समन्वय गर्दा डिपिआर नै बनाएर अघि बढ्ने कुरा भएपछि प्रदेश सरकारले नै डिपिआर गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘डिपिआर टोली आएपछि भौतिक संरचनाको संरक्षण र व्यस्थापनमा कसरी अघि बढ्ने भन्ने भएपछि काममा ढिलासुस्ती भएको हो ।’

कागबेनीलाई पुरानै लयमा फर्काउनका लागि पर्वतस्थित भू तथा जलाधार कार्यालयबाट ३५ लाख रुपैयाँ बजेट सुनिश्चित भएर आएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । आफूहरुको तर्फबाट प्रदेशसँग समन्वय गरेर डिपिआर तयार हुनुअघि केही काम अघि बढाउनुपर्छ भनेर १५/२० को काम तुरन्त गर्नुपर्छ भनेर नापजाँचको काम भइरहेको उनले सुनाए ।

संरक्षण र पूर्वाधार निर्माणको कामले गति लिइरहँदा संघीय सरकारले सहयोग नगरेको उनको गुनासो थियो । ‘संघ सरकारले केही गर्छ की भनेर प्रधानमन्त्रीलाई भेट्न पनि गएका थियौं । तर, कार्य व्यवस्थताले समय पनि दिनुभएन्,’ उनले भने, ‘अरु मन्त्रालयमा स्थानीय तहमा धेरै बजेट हुदैन संघ र प्रदेश सकारले हेरिदिनुप¥यो भन्ने कुरा राखेका थियौं अहिलेसम्म ठ्याक्कै यति नै बजेट भनेर तोकेर आएको छैन् । आउँछ भन्ने त सुनेका छौं ।’

कागबेनी क्षेत्रमा ३० घरपरिवार कागखोलाको जोखिम क्षेत्रमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए । यसबाहेक ६० घरपरिवारको खेतीयोग्य जमिन जोखिममा रहेको उनले बताए । मुस्ताङ जिल्लाले जलवायु परिवर्तको मार खेपिरहेको उनको भनाइ थियो । ‘जलवायु परिवर्तनको असर नेपाल अनि हाम्रो जिल्लाले मात्र गरेको भएको होइन् । यो विश्वकै समस्या हो । यसलाई वास्तविक पीडा भोगेकाहरुसँग आएर उनीहरुको समस्या बुझेर कार्यक्रम बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेसम्मको ट्रेन्ड के छ भने कार्यक्रम सहर क्षेत्रमा गर्ने अनि त्यहिँबाट मुस्ताङ हेर्ने परिपाटी अझै सुध्रिएको छैन । भूगोल पुगेर, बुझेर कार्यक्रम बनाएको राम्रो हो ।’

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप– २८) मा मुस्ताङबाट प्रतिनिधित्व गरेकी लक्ष्मी गुरुङले जलवायु परिवर्तका कारण कागबेनीमा बाढी गएको विषय उठान गरेको बताइन् । ‘बाढी आउँदाको राति म यहिँ थिएँ । एउटा सानो गाउँमा जलवायु परिवर्तनले कति क्षति ग¥यो भन्ने त मलाई थाहा छ नि,’ उनले भनिन्, ‘हामीले वायु प्रदुषण गर्ने कार्बन रिलिज नै गरेको छैन । विकसित देशहरु कति धेरै कार्बन निकालिरहेको छ । त्यसको असर हामीले भोग्नुपरेको छ ।’

कोप २८ मा कार्बन उत्र्सजन बराबरको क्षतिपूर्ति पाउनुपर्छ भन्ने मुद्दा उठाएको उनले जानकारी दिइन् । ‘म मुस्ताङको सानो गाउँबाट यहाँको आवाज लिएर त्यहाँ गएको थिए । मेरो गाउँको कुरा त्यहाँ राख्न पाउदा म खुसी छु,’ उनले भनिन्, ‘विकसित देशलाई तपाईंहरुका कारणले हामीले समस्या भोगिरहेका छौं भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ । साथै, हानी र क्षतीको क्षतिपुर्ति हाम्रो अधिकार हो त्यो हामीलाई दिनुर्‍यो भन्ने मुद्दा मैले त्यहाँ उठाएको थिए ।’

उनका अनुसार जलवायु परिवर्तनका कारण मुस्ताङमा तापक्रम पनि बढिरहेको छ । जसले गर्दा खेतीपाती नहुने, तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, विभिन्न रोग किरा देखा पर्ने, पानीका मुहान सुक्ने, चरन क्षेत्रमा घाँस कम उम्रिँदा चौंरी, भेडा र च्यांग्रालाई आहारा अभाव हुने, लामखुट्टेको टोकाइबाट हुने रोगका बिरामी भेटिन थालेका उनले बताए ।

गत मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न कोप– २८ मा पनि जीवाष्म इन्धनको युग अन्त्यको सुरुवात गर्ने सहमति भएको थियो । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको थियो । सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका थिए । तर, ताक्रममको अनुपात हेर्दा आगामी एक सय वर्षमा यो क्षेत्रको तापक्रम दोब्बर हुने अनुमान गरिएको छ ।

२३ वर्षको तथ्यांकलाई आधार मानेर डा. महेन्द्र बानिया, डा. ताल्चा भडेल, डा. अर्जुन बानियाँ, इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी र इञ्जिनियर नवराज शर्माले गरेको अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको पछिल्लो २३ वर्षको वार्षिक तापक्रम ०.१३ प्रतिशतका दरले वृद्धि भएको देखाएको छ ।

यही जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्यांक छ । कागबेनीमा बाढी आउँदाको दिन जोमसोममा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो औसतभन्दा बढी हो । सोही दिन जोमसोममा कालीगण्डकी नदीको बाढीको सतह २.७७ मिटर उचाइमा पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै