फर्मुला–१ अन्तर्गतको प्रतिष्ठित फ्रेञ्च ग्राँ पी पनि स्थगित

एजेन्सी
वैशाख २, २०७७
French Grand Prix

फ्रान्समा हुने फर्मुला वानअन्तर्गतको प्रतिष्ठित इभेन्ट फ्रेन्च ग्राँ पी पनि स्थगित हुने भएको छ ।

फ्रान्स सरकारले मध्य जुलाईसम्मका लागि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन बढाउने घोषणा गरेपछि उक्त इभेन्ट पनि स्थगित भएको हो ।

फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो ।

तर, राष्ट्रपति इमानुयल म्याक्रोले सोमबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै मानवीय जमघट हुने सबैखाले गतिविधिमा लगाइएको रोक मध्य जुलाईसम्मका लागि लम्बाएपछि फ्रेन्च ग्राँ पी सर्ने निश्चित भएको हो ।

गतवर्ष फ्रेन्च ग्राँ पीमा १ लाख ३५ हजार दर्शक उपस्थित भएका थिए ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित मितिबाट सर्न लागेको यो १० औं इभेन्ट्स हो ।

तत्काललाई स्थगित हुने पक्का भएपनि नयाँ मिति भने तय गरिएको छैन ।

फर्मुला वानका प्रवन्ध निर्देशक रस ब्राउनले विश्व च्याम्पियनसीप सिजन यो वर्षभित्र सम्पन्न गरिसक्ने बताएका छन् ।

अक्टोबरमा पहिलो रेस गर्नु परेपनि यही वर्ष सिजन सम्पन्न गरिसक्ने उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width