आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
437129281_855673589728631_1230230008065390812_n

पोखरा। आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही २८ वैशाखमा पोखरा सभागृहमा आयोजना गर्ने अवार्डको सोमबार पत्रकार सम्मेलन गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष खेलाडी पुरुषमा उत्कृष्ट ३ मा पर्न सफल खेलाडीहरुमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) छन् ।

वर्ष खेलाडी महिलातर्फ अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) उत्कृष्ट ३ मा पर्न सफल भए ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चका महासचिव एवं प्रचार संयोजक राजाराम पौडेलले बताए ।

यस्तै, उदीयमान खेलाडीतर्फ ज्योत्सिका मरासिनी (क्रिकेट), दिलासा राना (ब्याडमिन्टन) र बादल कार्की (एथलेटिक्स) छन् भने उत्कृष्ट प्रशिक्षकतर्फ टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजू मनोनयनमा परे ।

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा विधागत उत्कृष्ट हुन सफल एक–एक जनाले जनही ३५ हजारसहित अवार्ड प्राप्त गर्ने छन् । यसबाहेक मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट एक जनालाई विशेष सम्मान गर्ने छ । छनोट समितिको सिफारिसमा वर्ष उत्कृष्ट खेल संघसंस्था÷क्लबले ३५ हजार र खेल पत्रकारले ३५ हजारसहित अवार्ड प्राप्त गर्नेछन् ।

यसपालि वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा परेका अर्जुन कुमाल चौंथो संस्करणमा वर्ष उदीयमान खेलाडीको अवार्ड जितेका थिए । टेनिसका प्रदीप खड्का छैटौं संस्करणमा वर्ष खेलाडी हुन् । महिलातर्फ वर्ष खेलाडीको मनोनयनमा परेकी भलिबलकी अरुणा शाही तेस्रो पल्ट अवार्ड जित्ने दाउमा छिन् । नेपाली महिला भलिबल टिमकी कप्तान उनी दोस्रो र छैटौं संस्करणकी वर्ष खेलाडी हुन् । छैटौं संस्करणमा वर्ष उत्कृष्ट प्रशिक्षक बनेका टेनिसका नीरज थापा यसपालि पनि मनोनयनमा दोहोरिएका छन् ।

मञ्च अध्यक्ष दीननाथ बरालले मुलुकमा आर्थिक मन्दीबीच पनि अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

करिब २३ वर्षअघि रामकृष्ण ज्ञवालीको अध्यक्षतामा स्थापित मञ्च पोखराका खेलकुद पत्रकारहरुको संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width