गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो

धनबहादुर गुरुङ
जेठ १, २०८१
Chicken run

फाइल फाेटाे

पोखरा ।  पाहुनाको स्वागतहोस् वा पार्टी, जन्मदिन वा बिहेबारीमा नेपालीको भान्सामा ब्रोइलर कुखुराको मासु पाकिहाल्छ । हुनेखानेदेखि हुँदाखानेसम्मले फ्रेस हाउस पुगेर बढी माग गर्ने यही मासु हो । जनजनको रोजाइमा परेपछि साना किराना पसलदेखि स्तरीय फ्रेस हाउसमा यसको माग बढिरहेको छ ।

तर, केही दिनयता पोखरामा ब्रोइलर कुखुराको मासु सहजै पाइँदैन । फ्रेस हाउसले पनि ग्राहक मागअनुसार मासु पु¥याउन सकिरहेका छैनन् । पोखरा बगरस्थित लामिछाने कोल्ड स्टोर सञ्चालक हरिकृष्ण लामिछाने २ हप्तायता मासु नै पाउनै समस्या भएको बताए । गत साता सोमबारदेखि बुधबारसम्म मासु नै नपाएपछि ग्राहकलाई रित्तो हात फर्काउनुपरेको उनले सुनाए ।

दैनिक २५/३० किलो ब्रोइलरको मासु बिक्री गर्ने गरेका उनी अचेल १५/२० किलोमात्र बेच्छन् । ‘पहिला एकै ठाउँबाट ल्याउन सजिलो थियो । अहिले २÷३ ठाउँबाट बटुलेर ल्याउनुपर्छ,’ उनले भने, ‘मूल्य पनि बढेको बढ्यै छ ।’

शीतलादेवी फ्रेस हाउस सञ्चालक गंगाबहादुर भण्डारीले पनि ब्रोइलर मासुले ग्राहकको माग धान्न गाह्रो परेको बताए । ‘ब्रोइलर कुखुराको मासु नपाउने समस्या भएको १०÷१५ दिनभन्दा बढी भयो । ३/४ बजेपछि ग्राहकलाई मासु दिन सम्भव नै छैन,’ उनले भने, ‘आइतबार बिहान एक ठाउँबाट हाम्रो कुखुरा आएको थियो । एउटा कुखुरा काट्दा १ किलोमात्र भयो ।’ उनको फ्रेस हाउसबाट दैनिक ३ देखि ४ सय किलो ब्रोइलरको मासु बिक्री हुने गरेको उनले बताए । चैतदेखि असारसम्म गर्मीका कारण मासु कम बिक्री हुने सिजन हो । यतिबेला कुखुरा सानो हुने र माग बढेसँगै समस्या परेको उनले सुनाए । ‘मैले यो क्षेत्रमा काम गर्न थालेको ३० वर्ष भयो । यो समयमा हेर्दा सधैंका वर्षमा चैतदेखि असारसम्म गर्मीका कारण माग कम हुँदा कुखुरा फालाफाल हुने सिजन हो,’ उनले भने, ‘तर, अहिले उल्टो भइरहेको छ । पहिलो कुरो त हामीसँग व्यावसायिक किसान नै कम छन्, अनि पोल्ट्री चलाउन महँगी पनि भयो ।’

कुुखराको मासु पाउन समस्या भएसँगै मूल्य पनि वृद्धि भइरहेको भण्डारीले बताए । ‘बजारमा अहिले प्रतिकिलो ५ सयदेखि ५ सय ४० रुपैयाँसम्म बिक्री भएको सुनेको छु,’ उनले भने, ‘हामी ५ सय रुपैयाँमा दिइरहेका छौं ।’

चैतदेखि असारसम्म गर्मी कारण माग कम कम हुने समय हो तर अहिले उत्पादन नहुँदा उल्टो भइरहेको छ

पश्चिमाञ्चल एकीकृत कृषि केन्द्र सञ्चालक पवन नेपालले लामो समय पानी नपर्दा कुखुरा उत्पादन कमी आएको बताए । ‘लामो समय पानी नपर्दा गर्मीका कारण कुखुरामा पानी जम्ने समस्या भयो । यसले गर्दा कुखुरा मर्ने भयो,’ उनले भने, ‘अनि कुखुराको साइज पनि कम नै छ । पहिला एउटा जिउँदो कुखुरा औषतमा २७ सय ग्राम हुन्थ्यो भने अहिले १८ सय ग्रामभन्दा छैन ।’ सानो साइजको कुखुरालाई प्रशोधन गरेर उपभोक्तासम्म लैजादा मासु कम भएको उनले बताए । स्याङ्जा फेदीखोला ४ मा रहेको आफ्नो फार्मका ३० हजार कुखुरामा पनि उस्तै समस्या रहेको उनले सुनाए ।

मासु व्यवसायी कास्की पूर्व अध्यक्षसमेत रहेका नेपालले मूल्यवृद्धिले कृषकलाई परेको मारको असर मासुमा परेको बताए । ‘पहिला ४०/५० रुपैयाँमा चल्ला पाइन्थ्यो भने अहिले १ सय पुगेको छ । दाना उत्पादकले दानाको मूल्य घटाए पनि गुणस्तर घटाएको हो कि भन्ने भएको छ,’ उनले भने, ‘सरकारी क्षेत्रबाट दिइने सेवासुविधा केहीबाहेक धेरै किसानको पहुँचमा पुगेन । यसले पनि अहिले भइरहेको मासुको समस्या भूमिका खेलेको हो कि भन्ने छ ।’ विविध कारणले पोखरामा अहिले दैनिक रुपमा २ हजारदेखि २२ सय कुखुरा बजार पुग्ने गरेको उनले सुनाए । उनका अनुसार पहिले विभिन्न फार्मबाट दैनिक ३५ सय देखि ४ हजार कुखरा बजार जाने गरेको तथ्यांक थियो ।

मासु व्यवसायी संघ कास्कीका लोकराज शर्माले कास्कीमा उत्पादन भएको कुुखुरा फार्मबाटै बाहिरी जिल्ला लैजाँदा समस्या परेको सुनाए । ‘कास्कीमा यहाँलाई पुग्ने उत्पादन त छ तर तराई क्षेत्रमा गर्मीका कारण उत्पादन कम भएका कारण उताबाट आएर लैजाँदा समस्या भएको भन्ने छ,’ उनले भने, ‘अहिले कृषकको खोरबाटै जिउँदो कुखुरा नै ३१० सम्ममा उठाइदिन्छन् । यसैकारण पनि बाध्य भएर मूल्य बढाउनुपरेको भन्ने पोल्ट्री व्यवसायीबाट आएको थियो । फार्मबाटै बढी मूल्यमा लगिदिएपछि किसानले कम मूल्यमा दिने कुरै भएन ।’ उनका अनुसार ५/६ महिनाअघि जिउँदो कुखुरा २६० रुपैयाँ प्रतिकेजी थियो ।

एक महिना अन्तरालमा प्रतिकिलो ६० रुपैयाँ बढेको उनले बताए । पछिल्लो समय वैशाखमै ३ पटक मूल्यवृद्धि भएको उनले बताए । वैशाख २ गते वृद्धि भएर ४ सय ६५, वैशाख १६ गते ४ सय ९० र वैशाख २३ गते ५ सय १० रुपैयाँ पुगेको हो । चैतसम्म प्रतिकिलो ४ सय ५० रुपैयाँमा मासु पाइन्थ्यो । कास्कीमा दैनिक प्रतिकिलो ४० हजार किलो ब्रोइलर कुखुराको मासु खपत हुने गरेको शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width