पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट

विजय नेपाल
वैशाख ३१, २०८१
foreign employment

पोखरा ।  केही वर्षअघिसम्म लाहुरे खोज्न गल्लाहरु गाउँगाउँ आउँथे । अहिले एजेन्ट सक्रिय छन् । उनीहरु लाहुरे खोज्न नभई, वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने नियत राख्छन् । त्यसैको मारमा छन्, घरेलु कामदारको रुपमा ओमान, कुवेत र बहराइन पुग्ने महिलाहरु ।

कास्कीका ५ पालिकामध्ये सबैभन्दा बढी मादीमा यो समस्या छ । डिपार्टमेन्टल स्टोर र पार्लरमा कामसँगै आकर्षक तलब पाइने भनी एजेन्टले लोभ्याएपछि पोहोर मादीका धेरै महिलाले धमाधम पासपोर्ट भरे । तर, दुवईको भिजिट भिसा बनाएर एक्कासि ओमान, कुवेत, बहराइनमा पुगेको उनीहरुलाई पत्तै भएन । त्यहाँ श्रमशोषणमा पर्ने, तलब नदिने, चौबिसै घण्टा काम लगाउने, यौनशोषणमा परेपछि घरपरिवारका सदस्यबाट उक्त केस सुरक्षित आप्रवासन (सामी) परियोजनामा आइपुग्यो । खोजी गर्दै जाँदा चालु आव २०८०/८१ मा कास्कीका १२ मध्ये ७ जना महिला उद्धार गरिएको छ । सामी परियोजनाका सूचना तथा परामर्शकर्ता हेमराज अधिकारीले कास्कीमा सबैभन्दा बढी मादीका त्यो पनि दलित तथा विपन्न वर्गमा महिलाहरु बढी ठगिएको तथ्यांकले देखाउने बताउँछन् ।

चालु आवको यो अवधिसम्म सामीले ठगीमा करिब ६० लाखसहित वैदेशिक रोजगारीक्रममा मृत्यु भएका कामदारले पाउने आर्थिक सहायता, बिरामी अंगभंगले पाउने क्षतिपूर्ति, पारिवारिक आर्थिक सहायता, विदेशी कम्पनीले दिने क्षतिपूर्ति समेत गरी २ करोड ७४ लाख १८ हजार क्षतिपूर्ति दिलाइसकेको छ ।

धेरै व्यक्ति, परिवार र समुदायमा समेत प्रभाव पार्ने वैदेशिक रोजगारी सुरक्षित हुनुपर्नेमा अवैध म्यानपावर सक्रिय

खासमा वैदेशिक रोजगारको मुख्य समस्या भनेको ठगी नै हो । त्यसको मूल कारण हो–अवैधरुपमा सञ्चालित म्यानपावर । हाल देशैभर करिब १ हजार म्यानपावर कम्पनी सञ्चालित छन् । तीमध्ये केहीले शाखा चलाउने भनी स्वीकृति लिएका छन् । ७७ जिल्लामा मात्र ३२ वटा शाखा चलाउने स्वीकृति वैदेशिक रोजगार विभागले दिएको छ । यसरी हेर्दा, देशभर म्यानपावर कम्पनीको शाखा कार्यालय ३२ मात्र हुनुपर्ने हो । तर, त्यति त पोखरा पृथ्वीचोक क्षेत्रमै छ्यापछ्याप्ती भेटिन्छन् ।

धेरै व्यक्ति, परिवार र समुदायमा समेत प्रभाव पार्ने मुलुकको ठूलो जनशक्ति वैदेशिक रोजगारमा निर्भर रहँदा यही क्षेत्र असुरक्षित हुनु विडम्बना हो ।

पोखरामा आइतबार आयोजित एक कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको वर्तमान सन्दर्भ तथा सामी कार्यक्रमको उपलब्धि विषयक कार्यपत्र प्रस्तुत गर्दै उक्त तथ्यांक पस्के । उनका अनुसार गण्डकीमा पोखरा, दमौली र डुम्रेमा अवैधरुपमा खुलेका त्यस्ता म्यानपावर कम्पनी बढी छन् । ‘मानौं ‘ए’ म्यानपावर कम्पनीको शाखा कार्यालय भनेर यहाँ अवैधरुपमा शाखा चलाएको छ, ऊसँग आधिकारिकता छैन,’ उनले भने, ‘यदि पीडित गुनासो लिएर केन्द्रीय कार्यालय पुगे त्यो शाखा आधिकारिक हैन भनी फर्काउँछ । दुई चार महिनापछि त शाखा कार्यालय पनि हटिसकेको हुन्छ, कि अर्को नयाँ आउँछ । अनि मानिस साँच्चिकै ठगिएको महसुस गर्छ ।’

म्यानपावर कम्पनी चलाउन कम्तीमा २ करोड धरौटी राख्नुपर्छ । यदि कम्पनीले वैदेशिक रोजगारक्रममा ठगी गरेको खुले, धरौटीबाट असुल उपर गर्न सकिन्छ । तर, विभागमै दर्ता नभएकाहरुले मानिसलाई सहजै ठगी गर्ने उद्देश्य हुँदा सचेत हुनु जरुरी रहेको रेग्मी बताउँछन् । उनले सुझाए, ‘खाडी र मलेसिया जाने हो भने ‘फ्रि भिसा, फ्रि टिकट’ अनुसार बार्गेनिङ गर्नुपर्छ तर पैसै बुझाउने हो भने अहिले पैसा छैन, कतैबाट पठाइदिने हो भने भनी खाता नम्बर मागेर खातामै पठाउनपर्छ । नगदै दिनुहुँदैन । भौचरमा कुन मुलुक हो नाम उल्लेख गर्नुपर्छ ।’ सामाजिक सञ्जालको च्याटलाई समेत गत माघदेखि प्रमाणलाई वैदेशिक रोजगार ऐन, २०६४ ले प्रमाण मान्न थालेको छ ।

चालु आवमा हालसम्म कास्कीमा सामीले १ सय ९१ केसमध्ये ७२ वटा समाधान गरिसकेको छ । ठगीका १ सय ४० मध्ये २७ समाधान भएका हुन् । गएको ४ वर्षयता सामीले ६ सय ६५ समस्या तथा मुद्दामा ३ सय ३७ समाधान गरेको र १२ करोड १६ लाख ५४ हजार क्षतिपूर्ति दिलाइसकेको जनायो । नेस्ट पोखराले पोखरा महानगरसँग मिलेर वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भनी काम गरिरहेको कार्यक्रम निर्देशक कुमबहादुर गुरुङले बताए ।

कास्कीका २२ जनाको मृत्यु
वैदेशिक रोजगारी क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाए । त्यस्तै, अंगभंग तथा बिरामी परेका १५ जना छन् । उनीहरु सबै पुरुष हुन् ।

वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरुको प्रतिवेदन अनुसार वैदेशिक रोजगारी क्रममा सबैभन्दा बढीले ज्यान गुमाउने जिल्लामा गण्डकीमा नवलपुर पहिलो हो । दोस्रो बागलुङ हो भने कास्की तेस्रोमा छ ।

चालु आवको ९ महिना (चैतसम्म) गण्डकीबाट १ लाख ६ हजार ४४ जना वैदेशिक रोजगारीका लागि गएका छन् । तीमध्ये महिला १० हजार ७ सय २ छन् । यस अवधिमा कास्कीका १२ हजार ३ सय ३४ जना वैदेशिक रोजगारीमा गए । जसमा १ हजार ६ सय ९२ महिला हुन् । गण्डकीबाट वैदेशिक रोजगारीमा कास्कीका महिला सबैभन्दा बढी गएका छन् ।

हाल १ सय ११ राष्ट्रमा श्रम आप्रवासनका लागि संस्थागतरुपमा खुला गरिएको छ । नेपाली पुरुषको लागि सबैभन्दा मुख्य गन्तव्य मलेसिया हो भने महिलाको युएई । नेपालबाट गत चैतसम्म ५ लाख ३९ हजार मानिस वैदेशिक रोजगारीमा गए । १ हजार २ सय ८ जनाको मृत्यु भयो भने ३ सय ३५ जना अंगभंग भए । विप्रेषण १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको छ । यो रकमले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width