गण्डकी प्रदेशमा रासायनिक मलको अभाव

रासस
चैत्र २८, २०७६
mal-3

म्याग्दी, २८ चैत । म्याग्दी लगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै तथा चैते धानमा प्रयोग गर्न पाएका छैनन् । “मकै खेतीका लागि मल पाएनौं, तरकारी र चैतेधानका लागि पनि अभाव देखिएको छ”, म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले भन्नुभयो, “१५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको छ तर मकै छर्नका लागि मल नपाउँदा ढिला भएको छ ।”

कृषक पौडेलजस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । तर लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । उनीहरुले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै युरिया मल नपाएको बताएका छन् । त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया मल हाल्न नपाएको बताए । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उनको भनाइ छ । “बजारमा मल छैन, तरकारी कसरी उत्पादन गर्ने चिन्ता भएको छ”, उनले भने “मलको अत्यधिक अभाव भयो”, उनले भने “सरकारले वीउ पनि दिंदैन । मल पनि दिंदैन । खेती गर्ने समस्या भयो ।”

कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाई भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरिया लगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताए । “खेतीपातीको सिजन शुरु भएको छ, मल, वीउलगायतका सामग्री आएका छैनन्”, उनले भने “लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरुले पनि मल र वीउ चाहियो भनेर आएका छैनन् ।

जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भैसकेको र आफू युरिया मल नपाएर छट्पटाइरहेको बताए । “तरकारी लगाउने र मकै छर्ने समय भएको छ”, उनले भने ‘कृषि ज्ञान केन्द्रमा न मल छ, न मकैको वीउ नै, किसानहरु अन्योलमा परेर बसेका छौं ।” म्याग्दीमा २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिदँै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width