ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

रासस
चैत्र २५, २०७६
Bisket-jatra- (1)

भक्तपुर, २५ चैत । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ ।

यो जात्रा आउन अब दुईदिन बाँकी छ तर भव्य रुपमा हुनुपर्ने यसको तयारी भने रोकिइसकेको छ । विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको र हजारौँको सङ्ख्यामा उपस्थित हुनुपर्ने जात्रामै पनि सङ्क्रमणको खतरा रहने भएकोले यसवर्ष यो जात्रा औपचारिक पूजामा मात्र सीमित हुने भएको हो ।

नेपाली साहित्य, संस्कृतिका अन्वेषक एवं संस्कृतिविद् सूर्य्विनायक निवासी ८६ वर्षीय तेजेश्वरबाबु ग्वंग विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलो पटक हो, भन्छन । उनी भन्छन् “विगतमा भूकम्प, विपद् या जस्तोसुकै सङ्कटको समयमा पनि यो जात्रा रोकिएन तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमण रोक्न पनि हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउने जस्ता कार्य हुने भएकाले रोकिएको बताए ।” यस्तो बेलामा जात्रा रोक्नु राम्रो भए पनि यसको ऐतिहासिकता जोगाउन ध्यान दिनुपर्नेमा भने त्यसो हुन नसकेको उनको भनाइ छ ।

रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतीकका रुपमा दुई चारजनाले लिङ्गो उठाएर परम्परा कायम राख्नुपर्ने उनी बताउछन् । भैरवको रथ तान्दैगर्दा पल्टिएपछि मर्मत गरेर तान्ने, लिङ्गो उठाउँदा भाँचिए अर्को लिङ्गो उठाउने परम्परा रहेको बताउँदै उनी इतिहासलाई मर्न दिन नहुने बताउछन् ।
भक्तपुरका सामाजिक अभियन्ता एवं बिस्केट जात्रा व्यवस्थापनमा वर्षौंदेखि सक्रिय टौमढीका ७५ वर्षीय अनन्तप्रसाद धौभडेल राष्ट्रिय विपत्तिमा समेत नरोकिएको बिस्केट जात्रा इतिहासमै पहिलो पटक रोकेर पूजामा सीमित हुनुपरेको बताउछन् ।

“लिङ्गो नउभ्याई खानै नहुने गुठीहरु पनि यहाँ छन्, २००९ सालमा लिङ्गो भाँचिएर तीन टुक्रा भएर तीनजनाको ज्यान जाँदा पनि अर्को लिङ्गो उठाएर पर्व मनाइयो, जात्रा मनाउन समस्या हुँदा नेपाली सेनाको टोलीले रथ तान्ने, लिङ्गो उठाउने गर्थे” धौभडेलले भने “जात्रालाई प्रतीकका रुपमा भए पनि मनाउनु पर्ने हो, सानो रथ बनाएर तलेजुको खड्ग ल्याई भैरवलाई रथमा राखेर पूजा गर्ने, प्रतीकका रुपमा सानो लिङ्गो उभ्याएर परम्परालाई जीवित राख्न सकेको भए हुन्थ्यो तर त्यो पनि नहुने भयो ।”

यस्तो छ जात्राको इतिहास

तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे बिस्केट जात्रा लिच्छविकालीन भन्दा अगाडिदेखि शुरु भएको मानिन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा भक्तपुर बस्ने राजाकी राजकुमारी सुन्दरी थिइन् । राजाले राजकुमारीसँग बिहे गर्नेलाई आफ्नो राजगद्दी नै सुम्पने बताएपछि राजकुमारीसँग बिहे गर्न आउने राजकुमारहरु बिहे गरेकै राति मृत्यु हुनेक्रम जारी रह्यो । राजाले राजकुमारको लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याए ।

यसैक्रममा एक बलवान् युवाले राजकुमारीसँग बिहे गरे । राति निदाएपछि राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले खड्गले काटेर दुईटुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्यागगरे । भोलिपल्ट राजकुमार जीवित रहेको नागनागिनी मरेको देखेर खुशी भएर राजाले ५५ हात लामो लिङ्गो नागनागिनको प्रतीकस्वरुप एकजोडी ध्वजा राखेर लिङ्गो ठड्याउने चलन चलाएको विश्वास गरिँदै आएको छ ।

भक्तपुरमा प्रचलित अर्को कथनअनुसार लिच्छवि राजा शिवदेव दोस्रोको पालामा पूर्वका किराँतीहरुले नेपाल मण्डल आक्रमण गर्दा प्रतीकारस्वरुप आचाजु तान्त्रिकले अजिङ्गरको रुप धारण गरेको सन्दर्भसँग बिस्केट जात्रालाई वर्णन गरेको पाइन्छ । स्थानीय भाषामा ‘बी’ को अर्थ सर्प तथा ‘स्यानाः हंगु जात्रा’ मारेको खुसियालीमा मनाएको जात्रा भन्ने अर्थ लाग्छ । त्यसैले कतै बिसिका जात्रा भन्ने गरेको पनि पाइन्छ । ‘बिस्याना जात्रा’ र ‘बिसिका जात्रा’ नै कालान्तरमा बिस्काः हुँदै बिस्केट जात्रा भएको मानिन्छ । लिङ्गोमा तान्त्रिक विश्वध्वजा र लिङ्गोमा रहेको आठवटा डोरीलाई अष्टमातृका गणका रुपमा लिइन्छ ।

तर इतिहासविद् डा पुरुषोत्तलोचन श्रेष्ठ भने यी कथनलाई स्वीकार गर्नुहुन्न । उहाँ यो जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको बताउनुहुन्छ । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो, विश्व भैरवनाथको प्रतीक लिङ्गोमा तान्त्रिक विधिअनुसार फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । जात्रामा आकाश भैरव अर्थात् विश्वनाथ भैरवको पूजा गरिन्छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा हो, वीरध्वजा हो भन्ने कुरा स्पष्ट छ, यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो । त्यसैले पनि यो ध्वाजालाई विश्वध्वजा र वीरध्वाजा मान्न सकिन्छ ।”

चैत महिनामा सूर्य देउता मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने समय अर्थात् विश्वयात्राको सन्दर्भमा झण्डा फहराउने परम्परा छ । विश्वयात्राको क्रममा सम्पूर्ण देशवासीको शुभकामना, शत्रुहन्ता, दुःख क्षयदेखि सफल जीवनयापनको कामना गरी झण्डा फहराउने हो । झन्डा अर्थात् विश्वध्वजलाई लिङ्गोमा झुण्ड्याएर फहराउने परम्परा बिस्केट जात्राको मूल मर्म हो । जुन चैत मसान्तमा उठाइन्छ र वैशाख सङ्क्रान्तिमा ढालिन्छ । यो प्रमाणको कारणले बिस्का र बिस्केट जात्राको पुरानो शब्द विश्वयात्रा हुन्छ ।

नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि नै मनाउन थालिएको यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल दुई दिनबाट बढाएर आठरात र नौ दिनसम्म मनाउने प्रचलन चलाएको उल्लेख छ ।

नेपाल संवत् ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ दिइएको छ । टौमढी टोलको नेपाल संवत् ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ भनिएको छ । नेपाल संवत् ६४१ को भूमिसम्बन्धी तमसुक ताम्रपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ । त्यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको, जितामित्र मल्लको नेपाल संवत् ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत् ८१८ को शिलालेखहरुमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ । लिच्छविपछि मल्लकालीन समय आयो ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठकाअनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर ३०० वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । विसं १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भने यो एक जिल्लाको स्थानीय जात्राका रूपमा सीमित रहेपनि अहिले विशेषगरी नेवारबस्ती भएका विभिन्न जिल्लामा मनाउने गरिन्छ ।

आठ रात नौ दिनको जात्रा

हरेक वर्ष नयाँ वर्ष आगमनको पाँचदिन अगाडि अर्थात् चैतशुक्ल पूर्णिमाको दिन तान्त्रिक विधिअनुसार बिस्केटजात्रा सुरु हुने गर्दछ । त्यसदिन विहान भैरबनाथको पूजा शुरु हुने, दिउँसो भैैरवनाथको रथमा तलेजुका पुजारी र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजागरी स्थानीय बासिन्दाले घरघरबाट ल्याएको पूजा एवं बलि सकेपछि बल्ल रथ तान्न शुरु गरिन्छ ।

विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रामा विश्वनाथ भैरबको रथलाई टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ भने राती भद्रकालीको रथ ल्याएर भैरवको रथमा जुधाउने परम्परा रहेको छ ।

त्यसपछि भक्तपुरका विभिन्न देवीदेवताको मन्दिरमा मेला लाग्ने, पूजा एवं बलि दिने प्रचलन रहेको छ भने नेवार समुदायमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई बोलाएर भव्य भोज खुवाउने चलन छ । चैत मसान्तमा गहिटीमा राखिएको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेल पु¥याएपछि इन्द्रध्वजासहितको लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभर जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने गरिन्छ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वासले जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ । हरेक दिन टोलटोलमा विभिन्न जात्रा मनाउने गरिन्छ ।

जात्राको अन्तिम दिन वैशाख ५ गते प्रसिद्ध पाँचतले मन्दिरस्थित टौमढीेबाट भैरवको रथलाई तल र माथिको बासिन्दाले तानेर आआफ्नो टोलमा लैजाने चलन छ । रथलाई मध्यरातिसम्म भए पनि पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताल भैरवको मुख्य देउतालाई पूजागरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…
  • थारु समुदायको संसारी पूजा स्थगित

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०७६
    नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने…

hero news full width