सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
Surya darsan (3)

मेयर आचार्यले प्रहरीलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै । तस्बिरः विजय नेपाल

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ । विज्ञ टोलीले करिब ४ महिना लगाएर तयार पारेको ३४१९ पृष्ठ लामो उक्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको हो । बिहीबार साँझ पोखरा महानगरपालिका कार्यालयमा आयोजित समारोहमा महानगर प्रमुख धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

मेयर आचार्यले प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने बताए । यसअघि बुझाइएको ४५० पृष्ठको प्रतिवेदनभन्दा अहिलेको प्रतिवेदनमा थप अनुसन्धानसहित विस्तृत अध्ययन गरिएको अनुसन्धानमा सहभागी सहकारी विज्ञ दीपकप्रकाश आचार्यले बताए।

प्रतिवेदन तयारका लागि पोखरा महानगरपालिका सहकारी समितिले सहकारी विज्ञ, चार्टर्ड एकाउन्ट, राष्ट्रिय अनुसन्धानका अधिकारी, प्रहरी लगायतलाई राखेर गत २० माघदेखि काम थालेको थियो । जसमा सहकारी समितिका तर्फबाट दीपकप्रकाश आचार्य र चार्टर्ड एकाउन्टेन्ट इन्जिनियर अनिल लामिछाने विज्ञको रुपमा थिए ।

प्रतिवेदनमा के छ भन्ने कुराको विस्तृत विवरण प्रहरीको अनुसन्धान प्रतिवेदन अदालतमा छिरिसकेपछि मात्र आउने बताइएको छ ।

तर, एक सदस्यका अनुसार तत्कालीन ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक एवं हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम भरेर सहकारीबाट एक करोड रूपैयाँ ऋण लगेको छानबिन समितिले आंैल्याएको छ । सेयरधनी रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिले जनाएको हो । उक्त मागको फोटोकपी प्रतिवेदनमा समेत समेटिएको बताइएको छ ।

सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

१९ जनामध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १५ जना अझै फरार छन् ।
सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width