पोउवा संघका सदस्यको दुर्घटना बिमा

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०८१
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यको दुर्घटना बिमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गराएको अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग गरिएको बिमा सम्झौताअनुसार एक वर्षभित्र सदस्यको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बिमा रकम प्रदान गरिनेछ ।

सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य वसन्त उदास र राजेन्द्रकुमार लालचन तथा पूर्वअध्यक्ष नारायण कोइरालासहित नेपाल बिमा प्राधिकरणका गण्डकी प्रमुख केशवप्रसाद दाहाल, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश नियन्त्रक हरिप्रसाद श्रेष्ठसहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्य सभागी थिए ।

बिमा कम्पनीसँग गरिएको सम्झौताअनुसार दुर्घटनादेखि औषधि उपचारसम्मका सबै सेवा सदस्यले प्राप्त गर्नेछन् । संघले सबै सदस्यको बिमा गरिएकाल संघको सदस्यता लिँदा नागरिकतामा उल्लेख गरिएको नाम थर नै लेख्न सदस्यलाई आग्रह गरेको छ ।

संघका सदस्यले चैत मसान्तसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्छ । महासचिव बलराम आचार्यका अनुसार कथंकदाचित छुटेमा अतिरिक्त दस्तुरसहित असार मसान्तसम्म नवीकरण गर्ने समयावधि प्रदान गरिन्छ ।

नयाँ सदस्यको हकमा संघले बाह्रै महिना सदस्यता प्रदान गर्ने गरेको उनले बताए । स्थानीय कर प्रशासनमा दर्ता गरेको प्रमाणपत्रसहित आवेदन दिनेलाई छानबिनपछि सदस्यता प्रदान गरिने उनको भनाइ छ ।

सदस्यलाई थप सुविधा प्रदान गर्ने हेतुले यसअघि नै पोखराको मणिपाल अस्पतालसँग स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुटसम्बन्धी सम्झौता, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग बस भाडामा १५ प्रतिशतसम्म छुट र अन्नपूर्ण केलबकारसँग टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए । त्यसरी छुट लिनको लागि संघको परिचयपत्र भने देखाउनुपर्नेछ । संघले सदस्यको परिचयपत्रलाई डिजिटल बनाउँदै अझ व्यवस्थित अभिलेखीकरण गर्ने निर्णय गरेको कोषाध्यक्ष दिनेश बास्तोलाले जानकारी दिए ।

उनले चैत मसान्तसम्म नवीकरण गराउन छुट भएका सदस्यलाई पनि समयमै नवीकरण गराइ यी छुटको उपयोग गर्न आह्वानसमेत गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width