चैत दशैंको मेला र लमजुङ कालिकामा सार्वजनिक पूजा स्थगित

नवराज पहाडी
चैत्र १४, २०७६
Lamjung Kalika Mandir

लमजुङ । लमजुङमा यो वर्ष चैत दशैंका अवसरमा लाग्ने गरेको मेला नहुने भएको छ भने लमजुङ कालिकामा दिने गरिएको सार्वजनिक बलीपूजा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड १९) बाट जोगिनका लागि नेपाल सरकारकाले गरेको लकडाउनका कारणले गर्दा ती दुवै कार्य नहुने भएका हुन् ।

लमजुङको बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित लमजुङ कालिका परिसरमा चैत दशैंका अवसरमा ठूलो मेला लाग्ने प्रचलिन थियो । उक्त लमजुङ कालिका मन्दिर ५ सय वर्ष पुरानो मानिन्छ ।

लमजुङेहरूले शाह वंशका राजा यशोब्रम्ह शाहलाई राजाको रुपमा स्थापना गरेपछि उनले आफ्नो कुल देवताका रुपमा लमजुङ कालिका मन्दिरको स्थापना गरेका हुन् । त्यसै सयमदेखि उक्त मन्दिरमा दैनिक नित्य पूजाआजा गर्नुका साथै ठूलो अर्थात वडादशैं र चैत दसैंमा विशेष बली पूजा गर्ने तथा चैत दशैंको बेलामा ठूलो मेला लाग्ने गर्दथ्यो । तर त्यो मेलाका साथ नागरिकले गर्ने पूजापाठ र बलि रोकिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताए ।

उनका अनुसार मन्दिरमा नियमित पूजापाठ भने रोकिएको छैन । उनले भने, ‘मन्दिरमा जो कसैलाई पनि आउन भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ । नियमित पूजापाठ अन्तर्गतका हामीले गर्ने पूजाका कार्य सुचारु छन् तर चैत दशैंको बेलामा सर्वसाधारणले गर्ने पूजा, भाकल आदि चढाउने कार्य रोकिएको छ ।’ सरकारीस्तरको पूजा भने प्रतिपदाको दिनदेखि शुरु भएको र त्यो नवमीका दिनसम्म जारी रहने अर्का पुजारी एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य सोमराज बरालले बताए । उनका अनुसार चैत नवमीका दिनसम्म १९ वटा बोका, २ वटा राँगा, एउटा भेडा, एउटा सुंगुर बली दिएर देवीको पुजा गर्ने प्रचलन छ ।

चैते दशैंको अवसरमा, शनिबार, अप्रिल १३, २०१९ लमजुङ जिल्लाको बेसिशहर नगरपालिका कालिका मन्दिर परिसरमा भेला भएका भक्तजनहरू । फोटो: रामजी राना / टीएचटी

त्यसरी कालिकाको नियमित पूजाआजाका लागि गाउँशहर र बेसीशहरमा ठूलो क्षेत्रफलमा गुठी जग्गा रहेको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि त्यो गुठी जग्गा सबै मास्ने काम गरियो । यतिबेला कालिकाको पुजनका लागि भूमिसुधार मन्त्रालय अन्तरगतको गुठी संस्थानले मालपोत कार्यालयमार्फत बलीसहित पूजाको प्रवन्ध गर्दै आएको छ । गुठी जग्गा मास्नु अघि जिल्ला प्रशासन कार्यालय मार्फत हुने गरेको पूजा गुठीको जग्गा मास्ने काम गरिए पछि मालपोत कार्यालयमार्फत हुँदै आएको छ ।

उक्त मन्दिर परिसरमा चैत दशैंको बेलामा लाग्ने मेलाका अवसरमा ठेलो हान्ने, गानबजान गर्ने, नाच्ने प्रचलन छ । मेलाको आकर्षण बढाउनका लागि स्थानीय क्षेत्रका क्लबले दोहोरी गीत प्रतियोगिता समेत पछिल्ला वर्षमा सञ्चालन गर्दै आएका थिए । यो वर्ष लमजुङको विशेष चिनारीका रुपमा रहेको ठाडोभाकाका प्रस्तुतिका लागि त्यसको टिम समेत झिकाउन बुकिङ गर्ने काम गरिएको थियो ।

उदीपुर र काउलेपानीमा पनि पूजा रोकियो
लमजुङ कालिकाकी बहिनीका रुपमा परिचित लमजुङ जिल्लाको बेसीशहर नगरपालिका– १ को उदीपुरमा रहेको उदिपुर कालिकामा पनि चैत दशैंका बेलामा सर्वसाधारण गर्ने गर्ने गरेको पुजा रोकिएको छ । ती कालिकाको नियमित पूजाका लागि समेत गुठीको प्रवन्ध तत्कालीन राजाबाट भएको थियो । यो वर्ष भने लकडाउन कारणले गर्दा ती स्थानको पूजापाठ तथा मेला समेत रोकिएको पुजारी सोमराजले बताए ।

यसैगरी, लमजुङ कालिका मन्दिर तथा लमजुङ दरबार नजिकै रहेको काउलेपानी देवी मन्दिरमा पनि श्रद्धालु भक्तजनलाई जान रोक लगाएको छ । सो मन्दिरमा हुने गरेको नियमित पूजापाठ पनि रोकिएको काउलेपानी होमस्टे तथा पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । उनका अनुसार विश्वव्यापी कोरोना संक्रमण फैलिएपछि सतर्कता अपनाउन पूजा स्थगित गरिएको
हो ।

लमजुङ कालिका मन्दिर वि.सं. १५५० मा कास्कीबाट ल्याइएका राजा यशोब्रम्ह शाहले गाउँसहर दरबारसँगै कूलपूजाका लागि कालिका मन्दिर स्थापना गरेको इतिहासमा वर्णित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width