जनप्रतिनिधिद्वारा आफ्नै लगानीमा सडक

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
Myagdi

म्याग्दी।म्याग्दीका एकजना जनप्रतिनिधिले व्यक्तिगत लगानीमा दुर्गम गाउँमा सडक विस्तार गरिदिएका छन् । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत लगानीमा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा, सीमफाँट, भौसरा र चुतर्नीमा सडक विस्तार गरिदिएका हुन् । स्थानीयवासीको आवश्यकता र आग्रहमा सडक निर्माण गरिदिएपछि गाउँपालिकाका अध्यक्ष भण्डारीलाई गाउँलेले बाजागाजा सहित एक कार्यक्रमबीच सम्मान गरेका छन् ।

साथै सोही अवसरमा गाउँपालिका अध्यक्ष भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले सडकको उद्घाटन गरे । गाउँको चेन्डाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताए । ‘भविष्यमा मर्मतको प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ, घर–घरमा सडक पुग्ने छ’ फगामीले भने ‘सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ ।’ बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुँदै बेनी र पोखरेबगरतर्फ जाने सहज भएको छ भने एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्न मिल्ने स्थानीयको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले ५ लाख ९ हजार रुपैयाँको लगानीमा ३ किलोमिटर बढी सडक विस्तार गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए । उनका अनुसार साविकको बेगखोला गाविसको वडा ३, सीमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन् । सडक विस्तारको क्रममा महादेव मावि नजिकबाट निकासामा समस्या भएपछि गाउँखोलाको नजिक महादेव मावि जाने मोटरबाटो पसारे हुँदै भौसरा र चुतर्नी ओखलेमा टुंगिएको छ ।

सिमदेखि भौसरासम्मको सडक विस्तार गर्ने प्रतिबद्धता पूरा गरेसँगै मर्मतसम्भारमा समेत स्थानीयलाई सघाउने अध्यक्ष भण्डारीले बताए ।‘ मैले प्रतिबद्धता जनाएअनुसार काम गरेको छु, ‘जनताको आवश्यकता अनुसारका पूर्वाधारमा सघाउँछु’ भण्डारीले भने । उनले जनतालाई गाउँपालिकाबाट आवश्यकतासँगै ब्यक्तिगत रुपमा समेत बोलेका प्रतिबद्धता पूरा गर्ने अध्यक्ष भण्डारीको भनाइ थियो । विकास निर्माणका योजना तीव्र पार्दै उनले गाउँपालिकाभित्र संचालित योजनाहरु लक्ष्य अनुसार समयमै सम्पन्न गर्न अनुरोध गरे । जनप्रतिनिधिको रुपमा राज्यबाट सेवासुविधा र भत्ता समेत नलिने घोषणा गरेका अध्यक्ष भण्डारीले यसअघि आफ्नो प्रतिबद्धता अनुसार गाउँपालिका अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका–६, पाखापानीमा ४ लाख लगानीमा पाखापानीको फूलडाँडा–औल गाउँ जोड्ने सडक विस्तार गरिदिएका थिए । सडक विस्तारसँगै ६० घरधुरी लाभान्वित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width