गुलजार धरान र बुढा सुब्बा मन्दिर [फोटो एस्से]

Suraj Hazare Dahal
माघ १६, २०७६
Dharan 2 – Copy

सुरज हजारे दाहाल/ धरान : महाभारत पर्वतको काखमा रहेको धरान शहर पोखरा झै सधैं गुलाजर रहन्छ । पोखरा पछि धरानलाई लाहुरेको प्रमुख शहरको रुपमा चिनिन्छ । प्रदेश १ को सुनसरी जिल्लामा रहेको यो शहर मधेश कट्ने बित्तिकै शुरु हुने उपत्यका हो । यहिंबाट नेपालभरि धराने कालो बंगुरको परिकार फैलिएको थियो । यस्तै धराने शहरी रहनसहन पनि पूर्वी पहाडका ग्रामिण बस्तीका युवाहरुले अपनाएका छन् । गायिका सिन्धु मल्लको गीत ‘धरानको बजारमा माया बस्यो एकै नजर’ ले पूर्वको शहर धरान र धरान नजिकै रहेको बुढा सुब्बाको मन्दिरको महत्व दर्शाउँछ ।

बुढा सुब्बा मन्दिर युवाहरुको माँझ प्रेम सम्बन्ध प्रगाढ हुने भन्ने भनाइले देशैभर चर्चित छ ।

विसं २०४५ भदौ ५ गते आएको भूकम्पले धरानलाई क्षतविक्षत बनाएको थियो जसमा ११६ जनाको मृत्यु भएको थियो । सो भूकम्प पछि तंग्रिएको धरानको भानुचोकमा भूकम्पमा मारिएकाको सम्झनामा क्लक टावर निमार्ण गरिएको छ । हरेक घण्टा उक्त विशाल घडीमा समयको संकेत स्वरुप आवाज बज्छ । २३ मिटर अग्लो उक्त क्लक टावरमा चढेर एकैपटक ५० जनाले धरान बजारको अवलोकन गर्न सक्छन् । यहि चोकमा रहेको स्थानीय बस पार्कबाट धनकुटाको भेडेटार, हिले, पाख्रीबास तथा तेह्रथुमका पर्यटकिय गन्तव्य पुग्ने बस तथा जीपहरु छुट्छन् । धरानको बिपी कोइराला शिक्षण अस्पतालको विशाल क्षेत्रफल पनि घुम्ने ठाउँमा पर्छ । अस्पताल भएर पनि अस्पतालको हरियाली र विशाल भेगमा घुम्दैमा घण्टौं बितेको पत्तो हुँदैन ।

धरान बजार

बुढा सुब्बा मन्दिर

धरान बजारको डाँडामा रहेको बुढा सुब्बा मन्दिर युवाहरुको माँझ प्रेम सम्बन्ध प्रगाढ हुने भन्ने भनाइले देशैभर चर्चित छ । त्यसो त देशका विभिन्न ठाँउबाट प्रेमीप्रेमीकाहरु आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाँध्न आँउने गर्दछन् । हाल भने बाँसमा नाम कुद्न प्रतिबन्ध गरिएको छ तर आँखा छलेर नाम लेख्न क्रम निरन्तर जारी छ । पप् गायक सबिन राईको गीत ‘गुँरासको फेद मुनीमा सम्झनाको छायाँमा रहेको वाक्य आजै गइ बुढा सुब्बा लेखँुला बाँसैमा’ यस मन्दिरको महत्व दर्शाउँछ ।

प्रेमीप्रेमीकाहरु बुढा सुब्बा मन्दिरमा आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाँध्न आँउने गर्दछन् ।

इतिहास अनुसार बुढा सुब्बा मन्दिर विजयपुरको किराँती अधिराज्यको एक भाग हो । किराँतीहरुको मन्दिर भएपनि यहाँ हिन्दू धर्मसँग नजिक रहेका हरेक जातका भक्तजनहरु पुजा गर्न आँउछन् । विशेषत सप्ताहन्तमा नवविवाहित तथा प्रेम जोडी मन्दिर जाने गर्छन् । अचम्मको कुरा के छ भने यस मन्दिरमा भाले कुखुराको मात्र बलि चल्छ भने बुढा सुब्बा मन्दिरसँगै रहेको उनकी बहिनी सुब्बिनीको मन्दिरमा भने पोथी कुखुराको मात्र बली चल्ने गरेको छ । भाकाल पुरा होस् भनी पंक्षी लिएर कैयन भक्तजनहरु आउने गरेका छन् ।

विसं २०४५ भदौ ५ गते आएको भूकम्पले धरानलाई क्षतविक्षत बनाएको थियो । सो भूकम्प भानुचोकमा भूकम्पमा मारिएकाको सम्झनामा क्लक टावर निमार्ण गरिएको छ ।

प्रेम र धर्मको अलवा बुढा सुब्बाको आफ्नै इतिहास छ । इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार विजयपुर किराँती राज्यको राजधानी थियो र त्यहाँका राजा विजय नारायण राई थिए । तर केहि इतिहासविद् भने राजा विजय सेनको राज्यकालपछि मात्र विजयपुर नामनकण हुन गएको बताउँछन् । बूढासुब्बा को थिए भन्ने कुरा हालसम्म स्पष्ट छैन । कसैकसैले यसलाई बुद्धिकर्ण राईको र कसैले बूढासुब्बाको समाधि स्थल मानेका छन । यहाँको पूजारी मगर जातका व्यक्ति भएकाले यसलाई मगर भारदारको समाधि पनि मान्ने गरिन्छ ।

बुढा सुब्बा स्वयम् भगवान नभएर उनी केबल एक आम शिकारी थिए । बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले शिकार खेल्ने गर्दथे । एक दिन भुलवस उनीहरुले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । अनि त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएन । त्यसका कारण बुढा सुब्बाले शिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहि ध्यान गरे जँहा अहिले बुढा सुब्बाको मन्दिर रहेको छ भने छेउमै छ उनकी बहिनी सुब्बिनीको मन्दिर पनि ।

अहिले पनि विजयपुरमा भक्तजन र वनभोज गर्न आउनेहरु त आँउछन् तर काग भने कतै देखिदैन अनि बाँसको टुप्पामा केबल ठुटो रहेको देखिन्छ । मन्दिर भित्र रहेको माटोको थुप्रो ठ्याक्कै त्यहि ठाँउ हो जँहा सुब्बा ध्यान मग्न भएका थिए । तर यसमा भने दुई मत रहेको छ । केहि इतिहासविद्का अनुसार त्यो थुप्रो अन्तिम किराँती राजा वुद्धिकर्ण राईको समाधी स्थल हो । विसं १७६२ मा राजा कामदत्त सेनको हत्या भएपछि वुद्धिकर्ण राजा भएका थिए भने १७७५ मा राजा पृथ्वी नारायण शाहले उक्त ठाँउ कब्जा गरे । त्यसपछि विजयपुर छोडेर भागेका वुद्धिकर्णलाई गोर्खाली फौजले १७८५ मा फेला पारे र उनलाई कामदत्त सेनको हत्याको आरोपमा फाँसीको सजाय दिइयो । वर्षमा ११ महिना बली चढाउन मिल्ने र विशेषगरी साउनभरी सोह्र श्राद्ध, औैंशी, एकादशी, रामनवमी र स्वस्थानीको सांग्येमा बली चढाइँदैन ।

खर्च र बसाई

धरानको लागि हरेका दिन बेलुकी साँझ ४ बजे डिलक्स बस छुट्छ । बिहान ७ बजेतिर भानुचोकमा ओर्लिए पछि धरान बजार घुमेर अर्को दिन टेम्पो चढेर बुढासुब्बा मन्दिर पुग्न सकिन्छ । टेम्पो चढेर १५ मिनेटको उकालीमा विजयपुरमा रहेको बुढा सुब्बा मन्दिर पुगिन्छ । स्तरीय होटलहरु बजार भन्दा भित्र प्रशस्तै छन् । धरान र आसपास घुम्न ३ दिनको यातायात, होटल र खानाको खर्च १८ हजार रुपैयाँ लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width