वाइवाई यु–१९ क्रिकेट सुरु, विन्ध्यवासिनी र वाराहीको जित

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
wai wai cricket suru

पोखरा । टिम विन्ध्यवासिनी र वाराहीले यु–१९ वाइवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौट प्रतियोगिता २०८१ मा विजय सुरुआत गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई ९ विकेट र दोस्रो खेलमा वाराहीले टिम अकलालाई ७ विकेटले पराजित गरेको हो ।

२५ ओभरमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । १ सय १६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको विन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर १ सय १६ रन बनाएर लक्ष्य पूरा गरेको थियो ।

विन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहँदै अर्धशतक पूरा गर्ने क्रममा ५१ बलमा ९ चौका र ५ छक्कासहित टोलीका लागि ७६ रनको योगदान गरेका थिए । उनी खेलका म्यान आफदी म्याचसमेत घोषित भएका थिए । टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहँदै १ रन जोडेका थिए ।

भद्रकालीका लागि सलभ सुवेदी नट आउट रहँदै ५० बलमा २ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको वाराही ८.४ ओभर खेल्दै ३ विकेट गुमाएर ६१ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । वाराहीको जितमा ओपनर रोहितचन्द्र नट आउट रहँदै २३ बलमा ४ चौकासहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहँदा अनिश पटेलले टोलीका लागि सर्वाधिक ७ रन जोडेका थिए ।

४ टोली सहभागी रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएरद्वय भोजराज बराल र दिलीप अग्रहरीलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीबाट ४८ जना छनोट गरी ४ टिम बनाइएको जानकारी दिए । जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनोट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहने प्रतियोगितामा बिहीबार र शुक्रबार २/२ खेल हुने उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width