आकर्षण हरायो जलविद्युत् कम्पनीको शेयरमा

Avatar रमेश लम्साल
मंसिर १५, २०७६

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ। विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन्।

नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन्। त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन्।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ। त्यो भनेको १ सयमा खरीद गरेको शेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो।

विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता ३ सय ५५ को हाराहारीमा आइपुगेको छ। आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर १ सय २, अरुण काबेली १ सय २०, बुटवल पावर कम्पनी ३ सय ४४, नेपाल हाइड्रो १ सय ४, ङ्यादी १ सय ८, पाँचथर पावर १ सय ४, राधी १ सय ३८, सानीमा माई १ सय ८० मा दोस्रो बजारमा कारोबार भइरहेको छ।

निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा २ सय २४ प्रतिकित्तामा कारोबार भइरहेको छ। यस्तै रसुवागढी १ सय ६३ र साञ्जेनको १ सय ५३ मा कारोबार भइरहेको छ। बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ। शेयर बजारलाई नजिकबाट नियालिरहनु भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ। जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गरे।

वित्तीयरूपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरूको अवस्था कमजोर देखिन्छ। एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन। यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ।

गत आवको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले रु ६८ करोड २५ लाख २४ हजार १२२ नाफा कमाएका थिए। चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन्। आव २०७५/७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर रु ८१ करोड ५६ लाख एक हजार ७४१ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन।

हालस्म्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ। त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ। उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै रु १३ लाख २७ हजार बराबरको नोक्सनी व्योहोरेको थियो। चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर ३५ लाख ७२ हजार पुगेको छ।

खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा ३ करोड ६५ लाख ४४ हजार ५ सय २६ नोक्सानमा थियो। चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि ३ करोड ३४ लाख ३० हजार ७ सय ३७ मा रहेको छ।

माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा २ करोड २६ लाख ७ हजार ७ सय ४६ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर ४ करोड ५८ लाख ३० हजार ६ सय ६९ मा पुगेको छ। कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रूपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ।

आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ। यस्तै अरुण काबेली पनि रु चार लाख ३९ हजार ३ सय ३३ बराबरको नोक्सानीमा रहेको छ।

मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ। त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सडक महोत्सवको तयारी शुरु

होर्डिङ बोर्ड हटाउन कामपाको चासो

मुख्यमन्त्रीले भने– लगानीको वातावरण छैन

द्विपक्षीय व्यापार विस्तार र सहकार्य

प्रमुख समाचार

साग महिला ह्याण्डबमा नेपाल सेमिफाइनलमा

थप प्रमुख समाचार

भारोत्तोलनमा स्वर्ण पदक

गौरिकाले ल्याइन पौडीमा स्वर्ण

गणित गुरुको पुतली प्रेम